स्वास्थ्यचौकी भवन अलपत्र

स्वास्थ्यचौकी भवन अलपत्र

धनगढी ः कैलालीको उदासीपुर प्राथमिक स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको ९ वर्ष भयो । तर, निर्माण व्यवसायीको लापरबाहीले अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले ताकेता गर्दा–गर्दा थाकिसकेको जनाएको छ ।

कैलालीको मध्यक्षेत्रमा पर्ने उक्त प्राथमिक स्वास्थ्यचौकी भवन आर्थिक वर्ष ०६७÷६८ देखि निर्माण सुरु भएको हो । साढे पाँच करोड लगानीमा निर्माण सुरु भएको उक्त भवन अहिले झन झन् जीर्ण भएको छ । विष्णु कुँवर सञ्चालक रहेको बूढीगंगा निर्माण सेवा, चन्द्रशेखर मल्ल सञ्चालक रहेको एड्भेन्चर निर्माण सेवा र टेकबहादुर सेठी सञ्चालक रहेको आशीष निर्माण सेवाले साझेदारीमा निर्माणको जिम्मा लिएको उक्त भवन अहिले अलपत्र छ ।

‘हामी त चेतावनी दिँदा दिँदा थाकिसकेका छौं, म आएको पनि १८ महिना भयो, अहिलेसम्म कुनै सिन्को भाँच्ने काम भएको छैन’, सहरी विकास तथा भवन डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख रवीन्द्र बोहराले भने, ‘ऐनले दिएअनुसार पटक–पटक कारबाही गरिएको छ ।’

उदासीपुरको स्वास्थ्यचौकी भवन मात्रै होइन, कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेती अस्पतालको भवन पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको सहरी विकास तथा भवन डिभिजन कार्यालय कैलालीले जनाएको छ । दिलबहादुर ओली सञ्चालक रहेको टेढी निर्माण सेवाले ५ करोडमा लिएको उक्त भवनको आर्थिक वर्ष ०६७÷६८ देखि दुई वर्षमा सक्ने सम्झौता गरेर निर्माण सुरु गरेको हो । ‘अझै १०÷१५ प्रतिशत काम गर्न बाँकी रहेको छ’, डिभिजन प्रमुख बोहराले भने । ‘अब ऐन कानुनमा बैंक ग्यारेन्टी थुत्ने र कालोसूचीमा राख्ने बाहेकको कानुन छैन, कालोसूचीमा राखेमा अदालत जाने र त्यहाँबाट स्टे ल्याउने प्रवृत्ति बढेको छ ।’

स्वास्थ्यचौकी भवन मात्र होइन, पुल र सडकमा पनि निर्माण व्यवसायीको चरम लापरवाही देखिएको छ । धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकालाई जोड्ने मोहना नदीमाथिको पुल पनि चार वर्षदेखि अलपत्र छ ।

७ करोड लगानीमा एलाइड÷एड्भेन्चर जेभीले चार वर्षअघि सुरु गरेका उक्त पुलको पिलर पनि बनिसकेका छैनन् । चन्द्रशेखर मल्ल सञ्चालक रहेको एड्भेन्चर निर्माण सेवाले निर्माणको जिम्मा लिएको र थपेको म्याद पनि यही असारमा सकिन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्र पन्तले बताए ।

तत्कालीन सिँचाइ मन्त्री एनपी साउदले शिलान्यास गरेको उक्त पुलको उद्घाटन समारोहमा भाषण ठोकेका निर्माण व्यवसायी चन्द्रशेखर मल्लले आफूले तीन वर्षको निर्माण समय पाए पनि दुई वर्षमै पुल निर्माण सक्ने बताएका थिए । ‘तर तीन वर्ष बितेर थपेको एक वर्ष पनि यही असारमा सकिन लागेको छ, यो असारमा पनि काम सकिँदैन’, इन्जिनियर पन्तले भने ।

कञ्चनपुरका साविकका आधा दर्जन गाविसलाई धनगढीसँग जोड्न उक्त पुल निर्माण नभएका कारण बर्सेनि मोहना नदीमा आउने बाढीले विद्यार्थीको ज्यान जाने गरेको छ । कञ्चनपुरको भूभाग भए पनि धनगढी नजिक पर्ने भएकाले त्यहाँका किसान दूध, तरकारी बिक्री गर्न धनगढी आउने गर्छन् भने विद्यार्थी स्कुल कलेजका लागि पनि धनगढी आउने गरेका छन् ।

१५ महिनाअघि १८ महिनाभित्र निर्माण सक्ने सम्झौता भएको धनगढीको सन्तोषी टोलमा पर्ने तीन करोड लागतको पुलको निर्माण अहिलेसम्म सुरु भएको छैन । गोकर्ण शाह सञ्चालक रहेको टीडीआर निर्माण सेवाले ठेक्का पाएको उक्त पुलको काम सुरु नै हुन नसकेको हो । तत्कालीन जिल्ला विकास समितिको लगानी रहेको उक्त पुल केही जामुनका रूख काट्न नदिएको भन्दै रोकिएको हो ।

प्रदेश राजधानीमै रहेको सन्तोषी टोलको गुरुद्वारा नालामा बन्ने तीन करोडको पुलको काम पनि सकिएको छैन । सुनील थापा सञ्चालक रहेको थेगिन रोयल जेभीले निर्माण ठेक्का पाएको उक्त पुलको २ वर्षको म्यादमा थपेको ६ महिना पनि ०७४ साल चैतमा सकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्र पन्तले बताए ।

कैलालीका मात्र होइन, कञ्चनपुरमा पनि दैजी बेलडाँडी हुलाकी सडकमा पर्ने बल्मा पुलको काम पनि सुस्त भएको छ । ०७४ पुसमै निर्माण सक्ने गरी सम्झौता भएको पुल निमार्ण थालिएकै छैन ।

प्रदेश ७ मा ठेक्का भएका तर निर्माण समयमा सम्पन्न नभएका यस्ता धेरै योजना छन । गृहमन्त्री रामबहादुर थापाले समयमा निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भन्दै प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई आफ्नो क्षेत्रमा निर्माणमा ढिलाइ भएको योजनाको विवरण पठाउन निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाए पनि शुक्रबारसम्म कैलाली र कञ्चनपुरमा भने यसको लगत संकलन सुरु गरिएको छैन ।

केही बदमास निर्माण व्यवसायीका कारण सबै निर्माण व्यवसायीको इज्जतमा दाग लागिरहेकाले गृहमन्त्रीको कदम उचित रहेको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीले बताए । ‘गृहले लगत माग्ने मात्रै होइन, काम नगर्नेलाई कारबाही गर्नुपर्छ, इमानदार निर्माण व्यवसायी त्यसमा साथ दिन तयार छन्’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.