जनस्वास्थ्यसँग खेलवाड
गुलरिया ः उपभोक्ताको हितका लागि यत्रतत्र खोलिएका मेडिकल व्यवसायीले जनस्वास्थ्यसँग खेलवाड गरेको पाइएको छ । औषधि ऐन २०३५ अनुसार सञ्चालनमा रहेका मेडिकलले अतिसंवेदनशील औषधि तथा भ्याक्सिन व्यवस्थित भण्डारण तथा सुरक्षित बिक्री–वितरण नगर्दा बिरामी मर्कामा परेका छन् । औषधि ऐन ०३५ अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गरी सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि सहरी तथा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका कतिपय औषधि पसल विभागमा दर्ता नगरी सञ्चालन भएको औषधि व्यवस्था विभाग नेपालगन्जकी कार्यालय प्रमुख निलु श्रेष्ठले बताइन् । ‘हामीले बर्दियाको मधुवन नगरपालिकाअन्तर्गतका केही औषधि पसल अनुगमन क्रममा विभागमा दर्ता नभएको पाएका छौं ।’
जिल्ला प्रशासन कार्यालय बर्दियाको सहकार्यमा विभागले बर्दियाको मधुवन नगरपालिकाअन्तर्गत १२ वटा औषधि पसल अनुगमन गर्दा केही पसल विभागमा दर्ता नभएको र कतिपय पसलमा म्याद गुज्रिएका औषधि भेटिएको निलुले जानकारी दिइन् । ‘मेडिकलमा भ्यक्सिन उचित तापक्रममा नराखिएको पाइएपछि त्यस्ता भ्याक्सिन र औषधि जफत गरेका छौं । त्यस्तो कार्य जनस्वास्थ्यमाथिको खेलवाड हो’, उनले भनिन् ।
मनोरोगका औषधि ऐनअनुसार व्यवस्थित भण्डारण र सुरक्षित बिक्री–वितरण गरिनुपर्ने प्रावधान भए पनि केही औषधि पसलमा त्यसो नगरेको पाइएको छ । त्यस्ता, औषधिको अभिलेखीकरण फरम्याटअनुसार राखिए पनि बिक्री गरेको संख्या मेल नखाएकाले औषधि पसल सञ्चालकलाई तीनभित्र स्पष्टीकरण बुझाउन पत्र काटिएको छ । ‘दर्ता नभएका औषधि पसललाई १५ दिनभित्र विभागमा दर्ता नगरे नियमअन्तर्गत कारबाही गर्न सचेत पारेका छौं’, उनले भनिन् ।
भर्खर मात्र गृह मन्त्रालयले लागुऔषध नियन्त्रण गर्न मातहतका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेबमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियाले कार्ययोजना बनाई लागुऔषध नियन्त्रण गर्न अघि बढेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनले भने, ‘जिल्लाभरिका मेडिकलमा अनुगमनलाई तीव्रता दिई लागुऔषध सेवन र बिक्री वितरणमा कडाइ गर्ने अभियानमा छौं ।’
जिल्लाका विभिन्न स्थानबाट मनोरोगका औषधि दुरुपयोग भएको सूचना आएकाले औषधि व्यवस्था विभागको सहयोगमा अनुगमन तीव्र पारिएको छ । बर्दियाका सबै स्थानीय तहमा सञ्चालित मेडिकल अनुगमन गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिइन् । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यस क्षेत्रका व्यवसायी पनि उत्तिकै संवेदनशील हुनु जरुरी रहेको उनको भनाइ छ ।