‘सडक पुग्यो अबको आवश्यकता खानेपानीे’

‘सडक पुग्यो अबको आवश्यकता खानेपानीे’

दिपायल ः ‘सडक त पुग्यो नेताज्यू, खानेपानीका धेरै दुःख छन्, अब खानेपानी पनि बनाइदिनुप¥यो’ दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडी निवासी बिस्ना कुन्जेडाले नगरप्रमुख मञ्जु मलासीलाई भनिन्, ‘तपाईं पनि महिला हुनुहुन्छ, महिलाका दुःख बुझ्नुभएकै छ, हामीलाई एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ।’

९५ परिवार रहेको कुन्जेडी गाउँमा खानेपानी समस्या भएका कारण स्थानीय विद्यालयमा समेत सरसफाइ हुन नसकेको तेडी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर कुन्जेडाले बताए। स्थानीयको आग्रहपछि नगरप्रमुख मलासीले भनिन्, ‘आज म सडक उद्घाटन गर्न आएँ, अर्को पल्ट खानेपानी उद्घाटन गर्न आउँछु।’ उनले झुटा आश्वासन दिनेभन्दा पनि काममा विश्वास गर्ने बताइन्। भनिन्, ‘खानेपानीका लागि सम्भाव्यता अध्ययनका लागि आजैदेखि सरोकारवालाहरूसँग छलफल चलाउँछु।’

सडकले हर्षित बनायो वृद्ध राईभानलाई

दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका ७४ वर्षीय राईभान कुन्जेडा हातमा लौरो टेक्दै आए। आँगनमै गाडी पुगेपछि आफ्नो गाउँमा गाडी आउने सपनासमेत नदेखेका राईभानका आँखा रसाए। ‘कैलालीको धनगढीबाट नुन बोकेर खाएको थिएँ’, राईभान भन्छन्, ‘गाउँमा गाडी आउला भन्ने त सोचेको पनि थिइनँ तर आयो।’ दमका रोगी राईभान भन्छन्, ‘गाउँमै गाडी आएको देखेर मर्नू भन्ने लेखेको रहेछ भगवान्ले, त्यसैले म रोगी बूढो आजसम्म बाँचेको होला।’

वल्लो पाकरीको डाँडामा गाडी गुडेको धेरै भयो, पल्लो लडागडाको डाँडामा पनि गाडी गुडेको धेरै भयो तर वल्लो–पल्लो डाँडामा गाडी गुडेको हेर्दै पसिना पुछ्दै उकालो चढेर जिल्ला सदरमुकाम पुग्ने कुन्जेडीवासीका गाउँमा गाडी पुग्दा हर्षले आँखा रसाए। ‘तिम्रो माइत त कहिल्यै गाडी पुग्दैन भनेर हाम्रा छोरीबेटीलाई समेत जिस्क्याउने गर्थे तर अब त गाडी पुग्यो’, स्थानीय कालीदेवी कुन्जेडा भन्छिन्, ‘त्यस्तो भन्नेहरूलाई जवाफ दिन पनि सजिलो भयो हामीलाई।’

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पाकरी–कुन्जेडी सडकको नगरप्रमुख मञ्जु मलासीले उद्घाटन गरेसँगै कुन्जेडी गाउँमा सडक पुगेको हो। करिब १८ लाख रुपैयाँ लागतमा निर्माण भएको सडकको लम्बाई चार किलोमिटर रहेको दिसिनपा–७ का वडाध्यक्ष कर्ण विष्ट बताउँछन्।

सडक पुगेपछि नगरपालिकाको कार्यालयसम्म आउजाउ गर्न सहज हुने बताउँछन् स्थानीय प्रेमसिंह कुन्जेडा। उनी भन्छन्, ‘गाउँमा कोही बिरामी हुँदा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो तर अब एम्बुलेन्स मगाएर लैजान सकिन्छ।’ बिरामी बोकेर लैजाने क्रममा बाटोमै मृत्यु भएका आफन्त सम्झँदै प्रेम भन्छन्, ‘अब कम्तीमा समयमै अस्पताल पु¥याउन त सकिन्छ।’

असारमा भोट माग्न कुन्जेडी जाने क्रममा बाटो बिर्सेका उपप्रमुखका उम्मेदवार शिवराज खड्काले चुनाव जितेपछि पहिलो काम यस गाउँमा सडक पु¥याउने सोच बनाएका थिए। ‘गाउँ–गाउँ हिँड्दै गर्दा राति भइसकेको थियो, अप्ठ्यारो बाटो थियो, बिर्सेर हामी जंगलतिर लागेका रहेछौं’, उपप्रमुख खड्का भन्छन्, ‘मैले त्यसैदिन गाउँमा अब अर्को पल्ट आउँदा गाडी चढेर मात्रै आउँछु भनेको थिएँ, आज गाडी चढेरै आएँ।’

उनी केही ढिलो भएकोप्रति क्षमा माग्दै स्थानीयलाई भन्दै थिए, ‘अलि ढिलो भए पनि मैले मेरो वाचा पूरा गरेँ।’ उनी त्यो बाटो सम्झँदै भन्छन्, ‘यस्तो बाटोमा यस गाउँमा मान्छे कसरी हिँड्छन् होला भन्ने लागेको थियो, त्यसैले यो गाउँ बिर्सेको थिइनँ।’ उपप्रमुखका उम्मेदवारले यस्तो वाचा गर्दा स्थानीयले चुनावी वाचा भन्दै अविश्वास गरेका थिए तर गाउँमै गाडी पुगेपछि उनीहरू हर्षित भए। ‘उहाँले बोलेको पूरा गर्नुभएको छ’, स्थानीय दिलबहादुर कुन्जेडा भन्छन्, ‘नेतामा हुनुपर्ने गुण उहाँमा रहेछ।’

गाउँमा सडक पुगेपछि नगरप्रमुख मलासी, उपप्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा र इन्जिनियर डम्बर जोशीलाई दोसल्ला ओढाएर सम्मान गर्दै स्थानीय तेडी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर कुन्जेडाले भने, ‘जनताको आवश्यकताअनुसार काम गर्दै जानुहोला यही अनुरोध छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.