पौडेललाई छैन आफ्नैको भर

पौडेललाई छैन आफ्नैको भर

काठमाडौं : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछिल्लो समय आफ्नै खेमाका साथीहरूकै बलियो भर नरहेको चर्चा सुरु भएको छ । तीनै तहको चुनावमा कांग्रेसको पराजयपछि पार्टीका आन्तरिक मतभेद छताछुल्ल भइरहँदा वरिष्ठ नेता पौडेल एक्लिन थालेको राजनीतिक विश्लेषकहरूले टिप्पणीसमेत गर्न थालेका छन् ।

चुनावी पराजयको समीक्षा गर्न चैत ९ देखि वैशाख दोस्रो सातासम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक भएका पौडेल रणनीतिक रूपमै असफल भएको विश्लेषण हुन थालेको हो । सभापति देउवाइतरका र असन्तुष्ट समूहका नेता-कार्यकर्ता समेटेर अघि बढ्न नसक्दा पौडेलको नेतृत्व कौशलमाथि प्रश्न उठेको कांग्रेसकै नेता÷कार्यकर्ता चर्चा गर्छन् ।

सभापति देउवाको नेतृत्व अक्षमताले चुनावमा पार्टी हारेको आरोप लगाउँदै पौडेलले हारको दोष सभापतिमाथि थुपार्ने, दुई वर्षदेखि गठन हुन नसकेका पार्टीका विभिन्न विभाग, पदाधिकारी मनोनयन र संसदीय दलको नेता निर्वाचनमा पौडेलले फितलो रणनीतिका कारण आफ्नो अस्तित्व कायम राख्न नसकी तल पर्नुपरेको देखियो ।

चुनावी पराजयपछि सभापति देउवाको आलोचना गर्न र विरोधमा उत्रन देउवाइतर पक्षले पौडेललाई हौस्याए पनि निर्णायक समयमा उनलाई समर्थन र उनको पक्षमा उभिने गरेका छैनन् । यसको प्रत्यक्ष उदाहरण फागुनमा भएको संसदीय दलको नेता निर्वाचन हो । पौडेल पक्षले महामन्त्री शशांक कोइरालालाई समर्थकमा राखी दलको नेतामा प्रकाशमान सिंहलाई आफ्नो उम्मेदवार बनाउने तय गर्‍यो । तर, पौडेलले आफ्ना पक्षको मानेका महामन्त्री कोइरालाले उनको प्रस्ताव अर्थात् सिंहको समर्थक बस्न अस्वीकार गरे । संसदीय दलको नेता चुनावमा सिंहले आकलन गरिएभन्दा ५ मत थोरै पाए ।

कांग्रेसबारे जानकार राजनीतिक विश्लेषक प्राडा. राजेश गौतम भन्छन्, ‘१३औं महाधिवेशनपछि कोइरालाहरू नै वरिष्ठ नेता पौडेललाई आफ्नो नेता मान्दैनन् ।’ त्यसैकारण महामन्त्री कोइराला पार्टीमा पौडेलको लाइनमा नबसेको उनको विश्लेषण छ । उनी विश्लेषण गर्छन्, ‘कोइरालाहरू आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कसरी कोइराला परिवारमा ल्याउने रणनीतिमा लागेका देखिन्छन् ।’

चुनावको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाको कडा आलोचना भयो । बैठकको अन्त्यतिर पौडेलले हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने अडान राखे । सभापति देउवाले पौडेल पक्षका महामन्त्री कोइरालाको नेतृत्वमा समिति गठन गरी बैठकको निर्णय लेख्ने जिम्मा दिए । कोइराला नेतृत्वको समितिले पौडेलको चाहनाविपरीत केन्द्रीय समितिले सामूहिक रूपमा चुनावी हारको जिम्मा लिएको निर्णय गर्‍यो ।

‘कोइरालाले पौडेलको अडानको पक्षमा त के उस्तै परिआए सार्वजनिक रूपमै पौडेलेको आलोचना गर्न थालेको देखिन्छ’, प्राडा गौतम भन्छन । पछिल्लो डेढ वर्षयता कांग्रेसभित्र कोइरालाहरू पटकपटक लन्च मिटिङ गरेर सन्देश दिइरहेको उनी बताउँछन् । ‘उनीहरूको बुझाइमा पौडेलले कांग्रेसलाई अघि बढाउन सक्दैनन्’, उनी भन्छन् ।

केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै सभापति देउवाले पदाधिकारी मनोनयनका लागि बैठक बोलाए । पौडेलले बैठक बहिष्कार गर्ने घोषणा गरे । महामन्त्री कोइरालाकै मध्यस्थतामा देउवा-पौडेल पक्षको संवाद भयो । तर पौडेलले भने जसरी सभापति देउवाले उनको खेमालाई सहमहामन्त्री दिएन । अन्त्यमा सभापति देउवाले बहुमतीय प्रक्रियाद्वारा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरे । पौडेल पक्षले बैठक बहिष्कार गरे पनि महामन्त्री कोइरालासहित आधा दर्जन निर्वाचित केन्द्रीय सदस्य मनोनयनको निर्णयमा हस्ताक्षर गरे ।

वरिष्ठ नेता पौडेलले महामन्त्री कोइराला पछिल्लो समय केही विषयमा अडान लिन नसके पनि त्यसले फरक नपर्ने दाबी गरे । पछिल्लो समय पार्टीको छवि धमिलिएको भन्दै देश दौडाहामा रहेका पौडेलले भने, ‘डाक्टर साहेब अलि सोझो हुनुहुन्छ, त्यही भएर हो हामीले अपेक्षा गरेजस्तो भूमिका उहाँले निर्वाह गर्न सक्नु भएन ।’

महामन्त्री कोइरालाबारे टिप्पणी गर्न नमानेका पौडेलले आफूहरू एक भएर पार्टीको छवि सुधार्न लागिपरेको दाबी गरे । पौडेल पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, अर्जुननरसिंह केसी र डा.रामशरण महतसँग लगातार छलफल र सल्लाहमा अघि बढेको उनी निकट नेता बताउँछन् ।

विगतमा पौडेलसँगै रहेका नेता सिटौलाले पौडेललाई नेता नमान्ने भन्दै पार्टीमा आफ्नो बेग्लै गुट बनाए । सिटौला र केसी दुवै जना १३औं महाधिवेशनमा पौडेलको विपक्षमा उभिएका थिए । नेता केसी सभापति देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । तीनै तहको चुनावमा पराजयपछि सभापति देउवाविरुद्ध सिटौला, केसीलगायत नेताले पौडेललाई सघाएजस्तो देखिए पनि कोही पनि खुलेर उनको पक्षमा उभिएका छैनन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका युवा लेखक तथा विश्लेषक शंकर तिवारी भन्छन्, ‘कांग्रेसभित्र आगामी महाधिवेशन टार्गेट गरेर खेल सुरु भइसकेको छ । यसमा पौडेल पछि पर्ने छाँटकाँट देखिइसक्यो ।’ उनले अब कांग्रेसमा महामन्त्री कोइराला, नेताहरू विमलेन्द्र निधि र सिटौलाले निर्वाह गर्ने भूमिकाले धेरै कुरा निर्धारण हुने दाबी गरे । ‘अहिले ठ्याक्कै यही हो भन्न सकिन्न । तर पौडेलको भूमिका अब प्रतिदिन पार्टीमा कमजोर भएर जान्छ’, उनको तर्क छ ।

पौडेलले पछिल्लो समय उठाएका पार्टीभित्रका कुरा जायज रहेको पौडेल निकट केन्द्रीय सदस्य कल्याण गुरुङको भनाइ छ । तर आफैंले उठाएका विषयमा अडिग नरहने गरेको र यसबारे पौडेल खेमामै चर्चा हुने गरेको उनले बताए । ससाना स्वार्थमा सम्झौता गरिहाल्ने बानीका कारण पनि समस्या भएको गुरुङको भनाइ छ । त्यसैले पौडेलले उठाएका एजेन्डाले मूर्त रूप नपाउने गरेको उनले बताए ।

निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि पौडेल पार्टीलाई बलियो बनाउनेभन्दा महाधिवेशनतर्फ केन्द्रित भएको सभापति देउवा निकट नेता बालकृष्ण खाँडको भनाइ छ । ‘निर्वाचनकै लागि भएका सबै निर्णयमा उहाँ (पौडेल)को सहभागिता छ’, उनले भने, ‘सभापति देउवाको आलोचना गरेर आफ्नो शक्ति बढाउन सकिन्छ कि भन्ने दाउमा उहाँ देखिनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.