गैरसरकारी संस्थाको गैरजिम्मेवारीपनले भवन अलपत्र

गैरसरकारी संस्थाको गैरजिम्मेवारीपनले भवन अलपत्र

गोरखा : भूकम्पपछि पुनर्निर्माणको काम गर्न आएको गुड नेबर्स इन्टरनेसनल नामक गैरसरकारी संस्थाले गोरखाका दुई विद्यालयको भवन निर्माणको काम अलपत्र बनाएको छ। धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्रि माध्यमिक विद्यालय र आरुघाट गाउँपालिका ६ आरुआर्बाङस्थित अलैंचे माविको भवन निर्माणको काम अलपत्र पारेको हो।

सो संस्थाले कालरात्रि माविमा १२ कोठे र अलैंचे माविमा १६ कोठे भवन बनाइदिने सम्झौता गरेका थिए। गत पुस १५ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेर सो संस्थाले भवन नबनाएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले जानकारी दिए।

‘भूकम्प गएदेखि अहिलेसम्म हाम्रा दुई सय ११ जना विद्यार्थी टहरामा अस्तव्यस्त अवस्थामा पढ्नुपरेको छ’, प्रअ खनालले भने, ‘जिल्लाभरि विद्यालय बनिरहेका छन्। हाम्रो विद्यालय बनाइदिने संस्थाले डिसेम्बरभित्र बनाइदिन्छु भन्थ्यो, तर, अहिलेसम्म डीपीसी मात्र गरेर छोडिदियो।’ निर्धारित समय कटेको ६ महिना बितिसक्दासम्म १० प्रतिशत काम मात्र भएको उनले बताए।

सो संस्थाले भवन निर्माणको जिम्मा काठमाडौंको एनबी निर्माण सेवालाई दिएको थियो। ३ करोड २० लाख रुपैयाँमा सुविधासम्पन्न १२ कोठे भवन बनाउने ठेक्का दिएर भवन नबनाएको वडाध्यक्ष सूर्यमान गुरुङ बताउँछन्। सम्झौता गरेर ठेकेदार भागेको गुरुङको भनाइ छ। स्थानीय र जनप्रतिनिधिलाई ‘बाइपास’ गरेर काम थालेर बीचैमा अलपत्र पारेर छोडेको गुरुङको भनाइ छ। ‘हामीलाई कोही पनि चाहिँदैन भनेझैं गरेर जनप्रतिनिधिसँग पनि समन्वय नगरी काम थालेका थिए। काम थालेको एक वर्ष भयो, डीपीसी मात्र गरेर ठेकेदार नै भाग्यो’, गुरुङले भने।

२०७२ साल वैशाखको भूकम्पले १२ कोठे भवन भत्काएपछि सो विद्यालयका सबैजसो कक्षा अस्थायी टहरोमै सञ्चालन भइरहेका छन्। माइली नेपाल नामक फ्रान्सको संस्थाले बनाइदिएको दुईकोठे पक्की भवनमध्ये एउटामा विद्यालयको कार्यालय र अर्कोमा प्रारम्भिक बालकक्षा (ईसीडी) तहका विद्यार्थीलाई पढाउने गरिएको छ। ‘कक्षा १ देखि १० सम्मका विद्यार्थी तीन वर्षदेखि अस्थायी टहरोमै बसेर पढ्न बाध्य छन्’, प्रअ खनाल भन्छन्, ‘दुर्गमको ठाउँ हो, हिउँदमा अत्यधिक चिसो हुन्छ।

 गर्मीयाममा हावाहुरी चल्ने भएकाले विद्यार्थीलाई सुरक्षित राखेर पढाउनै सकिएको छैन।’ जस्ताको छानाबाट पानी चुहिने, भुइँ हिलो भएर विद्यार्थी कक्षाकोठामा बस्न सक्ने वातावरण नै नहुने उनको गुनासो छ। ‘अहिले बर्खाको बेला छ। कक्षाभित्र पानी पसेर किताब, कापी भुइँमा झर्‍यो भने हिलाम्यै हुन्छ’, उनले भने, ‘संस्थाले धोका दियो।’

भूकम्पअघि पनि लापुगाउँमा सामाजिक काम गर्दै आएको गुड नेबर्सले विद्यालय भवन निर्माणको जिम्मा पनि अरुलाई नदिइ आफैले लिने प्रस्ताव जिल्ला शिक्षा कार्यालयसँग गरेको थियो। स्थानीय साझेदार संस्था पद्धति विकास सेवा केन्द्र मार्फत उसले भवन निर्माणको काम थालेको हो।

संस्थाले भने ठेकेदार कम्पनीलाई सबै दोष देखाएर पन्छिने गरेको प्रधानाध्यापक खनालले बताए। ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि गुड नेबर्स र पद्धति विकास सेवा केन्द्रलाई निर्माण अघि बढाउन आग्रह गरेको खनालको भनाइ छ। तर, दुवै संस्थाले आलटाल गर्दै आएका उनको गुनासो छ।

भागेको ठेकेदार कम्पनीले निर्माण सामग्री ढुवानीको १५ लाख, कामदारको ज्याला पाँच लाख र स्थानीय होटलमा खाए, बसेको तीन लाखसहित २३ लाख रुपैयाँ नतिरी सम्कर्पविहीन भएको स्थानीयको गुनासो छ। ठेकेदारले तिर्नुपर्ने रकम दुई गैरसरकारी संस्थाले तिर्नुपर्ने स्थानीयको माग छ।

संस्थाले भने भाग्ने ठेकेदारसँग सम्झौता भंग गरेको जनाएको छ। भवनको बाँकी संरचना निर्माणका लागि हालै विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिएको गुड नेबर्स इन्टरनेसनलका गोरखा कार्यालय प्रमुख द्रोण जिसीले जानकारी दिए।

अलैंचे माविमा भने जग पनि खनिएको छैन। विद्यालय भवन निर्माणका लागि नौ जना जग्गादाताले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराए पनि संस्थाले भवन नबनाएको प्रधानाध्यापक लेखनाथ भट्टले जानकारी दिए। ‘जग्गासम्बन्धी विवाद देखिएको थियो। त्यही निहुँमा संस्थाले काम छोडिदियो’, प्रअ भट्टले भने, ‘अहिलेसम्म अरू कोही पनि भवन बनाइदिन आएका छैनन्। दुई सय विद्यार्थी टहरामा बसेर पढिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.