बाबुआमा झुक्याएर बालबालिका तस्करी

बाबुआमा झुक्याएर बालबालिका तस्करी

जुम्ला : अभिभावकलाई झुक्याएर बालबालिका अनाथ, असहाय भएको विवरण तयार पारी २४ जना जुम्ली बालबालिका तस्करी भएका हुन् । आमाबाबा नभएको झुटा कागज बनाई जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर १ र २ बाट रुकुमको एक बालगृहमा पुगेका ती बालबालिका जोखिमपूर्ण अवस्थामा फेला परेका हुन् । झुटा कागज बनाई अनाथालयमा पढाउने भन्दै वडा नम्बर १ का २० र २ का ४ जना बालबालिकालाई रुकुमको नरसिंह बालगृहमा पु¥याइएको छ ।

बालगृहमा रहेका ती बालबालिकाको अवस्था दयनीय रहेको महिला तथा बालबालिका कार्यालय रुकुमका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए । उनका अनुसार ८ देखि १२ वर्ष उमेर समूहका ९ बालिका र १५ जना बालक उक्त बालगृहमा अलपत्र छन् । उनीहरूलाई त्यहाँ खाना र बस्न उचित व्यवस्था छैन ।

‘बालगृहले मापदण्ड पूरा गरेको छैन, अनाथालय दर्ता मात्र भएको हो । सञ्चालनमा छैन । झुटा आश्वासन दिँदै दुई, तीन चरणमा जुम्ली बालबालिका अव्यवस्थित बालगृहमा पुगेछन्’, उनले भने, ‘बालगृहमा उनीहरूले न गुणस्तरीय शिक्षा, पाएका छन्, न उचित खान, बस्न नै !’ अहिले उनीहरूसँग पढ्ने, लेख्ने किताब कापी पनि छैन । ती बालबालिकाका अभिभावक जीवितै छन् ।

तर, उनीहरू अनाथ भएको कागज बनाइएको छ । परिवारकै सहमति र दबाबमा वडापालिकाले झुटो सिफारिस गरेको हो । घरमा धेरै सन्तान भएका अभिभावकले पालनपोषणमा समस्या भएको भन्दै झुटा कागज बनाउन सहमति गरेका हुन् । यता, जिल्ला बालकल्याण समिति जुम्लाका अनुसार जिल्लाको सिफारिसबिना अवैधानिक रूपमा ती अबोध बालबालिकालाई त्यहाँ पु¥याइएको छ ।

त्यहाँ कसरी पुगे बालबालिका

जुम्ला मणिसाँघुका पासाङ लामा दुई महिनाअघि उपचारका लागि नेपालगन्ज पुगेका थिए । त्यही अवसरमा बालगृह सञ्चालक विवेक बुढासँग उनको भेट भयो । विवेकसँगको उनको कुराकानीपछि विवेकले आफ्नो अनाथालय रहेको र त्यहाँ बालबालिकालाई उचित शिक्षा दिने गरेको बताउँदै जुम्लामा त्यस्ता बालबालिका भए पठाउन आग्रह गरे । उपचारबाट फर्किएपछि पासाङले पातारासी–१ का चन्द्रमले बुढालाई त्यो विषयमा खबर गरे र बालगृह सञ्चालक विवेकको फोन नम्बर पनि दिए । त्यसपछि चन्द्रमले विवेकगँसको कुराकानीपछि गाउँका सबै स्थानीयसँग छलफल गरे ।

 

गाउँलेले पनि सहमति जनाएपछि वडापालिकाबाट सिफारिस बनाउँदै चन्द्रमलगायत ४ जनाको टोलीले २४ जना बालबालिकालाई बालगृहमा छाडे । सबै बालबालिकाको अभिभावकबाट ३ हजार ५ सय रुपैयाँ भाडास्वरूप संकलन गरी अवोध बालबालिकालाई त्यहाँ पु¥याइएको थियो । त्यहाँ पुगेका बालबालिकालाई उच्च शिक्षासम्म पढाउने मौखिक जिम्मेवारी बालगृह सञ्चालक विवेक बुढाले लिएका थिए ।

अभिभावकको दबाबमा सिफारिस

अभिभावकको दबाबमा अनाथ, असहाय भनेर पातारासी गाउँपालिका १ र २ वडा कार्यालयले सिफारिस दिएको छ । अभिभावकको दबाबका कारण सिफारिस गर्न बाध्य भएको भन्दै उनीहरूलाई अनाथको नाममा सिफारिस नदिएको वडा नम्बर २ का अध्यक्ष कन्न बोहराको दाबी छ । सबै गाउँलेले एकमुष्ट आवाज निकालेपछि बालबालिकाको शिक्षामा राम्रो होला भनेर सिफारिस दिएको १ नं वडाध्यक्ष दत्तबहादुर बुढाले बताए । दुवै वडाध्यक्षले आफूहरूलाई समेत झुक्याएर गाउँलेले वडाबाट सिफारिस लिएको दाबी गरेका छन् ।

को–को हुन्, ती बालबालिका

त्यहाँ पुगेका बालबालिकामध्ये पातारासी गाउँपालिका–१ का अमर बुढाकी १२ वर्षीया छोरी शर्मिला, सुकबहादुर ऐडीकी १० वर्षीया छोरी अम्बिका, जयप्रसाद ऐडीको ९ वर्षीय छोरो मनोज, रामबहादुर ऐडीको ९ वर्षीय छोरो जयकृष्ण, अर्का रामबहादुर ऐडीको १२ वर्षीय छोरो दीपक, गोवद्र्धन ऐडीको १२ वर्षीय छोरो सूर्य, प्रेमबहादुर ऐडिकी १० वर्षीया छोरी निरु, तिलकबहादुर ऐडीको ११ वर्षीय छोरो जीवन, गोवद्र्धन ऐडिका ८ वर्षीया छोरी जनिसा र १० वर्षीया छोरी सरिता, सिंहबहादुर बुढाको १२ वर्षीय छोरो जयबहादुर, कालिप्रसाद बुढाकी ८ वर्षीया छोरी समिना र ९ वर्षीय छोरा कार्चिन, चाउरा बुढाको १२ वर्षीय छोरो कार्मा, मीन ऐडिकी ११ वर्षीया छोरी एलिना, सिंहबहादुर बुढाको १० वर्षीय छोरो जनक, वीरबहादुर बुढाको १६ वर्षीय छोरो रंगलाल, प्रेमबहादुर ऐडिकी १० वर्षीया छोरी सरिता, गणेश ऐडिकप् ७ वर्षीया छोरी उस्मा र छक्क बुढाको ११ वर्षीय छोरो सुनील छन् ।

त्यस्तै, वडा नम्बर २ का लालबहादुर सार्कीको ७ वर्षीय छोरो विलास, भरे सार्कीको १२ वर्षीय छोरो तीर्थराज, सिंहबहादुर सार्कीको १२ वर्षीय छोेरा वीरेन्द्र र भीमबहादुर कामीको ७ वर्षीय छोरो मंगल छन् ।

फिर्ता ल्याउने पहल

त्यहाँ पुगेका ती बालबालिकालाई रुकुमको मुसीकोट नगरपालिका र जिल्ला बालकल्याण समितिको पहलमा गृहजिल्ला जुम्ला फिर्ता गर्ने तयारी भइरहेको छ । जिल्ला बालकल्याण समिति रुकुमले बालबालिका फिर्ता गर्न अभिभावकको मञ्जुरी र गाउँपालिकाको अनुरोधपत्र माग परेको छ । तर, बालगृह सञ्चालक विवेक बुढाले बालबालिकालाई फिर्ता नगरी उचित शिक्षा दिने दाबी गरेका छन् । उनीहरुलाई फिर्ता गर्न करीब साढे १ लाख बढि रकम खर्च हुने भएकाले त्यो रकमरूो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको रुकुमबाट बालअधिकार अधिकृत मानवीर ओलीले बताए । उनीहरूलाई घर फर्काउने विषयमा जुम्ला पातारासी गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष लछिमन बोहराको भनाइ छ । यसरी बालबालिकालाई अवैध रूपमा विभिन्न बहाना बनाई ओसारपसार गर्ने, गर्न लगाउने र सहमति दिने अभिभावकलगायत यस्तो कार्यमा संलग्न सबैलाई कानुनअनुसार कारबाही हुनुपर्ने जुम्लाका बालअधिकारकर्मी बताउँछन् ।       

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.