कृषि उपज केन्द्र अलपत्र
तम्घास ः जिल्लाको सदरमुकाम तमघासमा एउटा पनि हाटबजार छैन । तर हाटबजारका लागि बनेको संरचना व्यवस्थित गर्न नसक्दा अलपत्र अवस्थामा रहेको छ । झण्डै आधा करोडको लगानीमा निर्माण कृषि उपज केन्द्र बनेको ३ वर्ष वितिसक्दा समेत सञ्चालन हुन सकेको छैन । रेसुङ्गा नगरपालिका–३ वसपार्क नजिकै निर्माण गरिएको उक्त कृषि उपज केन्द्र सञ्चालन नहुंदा राज्यको लगानी वालुवामा पानी भएको छ । यो उपज केन्द्र अहिले चौपायाँ चर्ने थलो बनेको छ । जिल्ला सम्वन्य समिति,जिल्ला कृषि विकास कार्यालय,जिल्ला पुशु सेवा कार्यालय र रेसुङ्गा नगरपालिकाको झण्डै ४० लाखको सहयोगमा निर्माण गरिएको उक्त केन्द्रलाई सञ्चालन गर्न नसक्दा स्थानिय कृषक र उपभोक्ता मर्कामा परेका छन् ।
कृषक बाट उत्पादित कृषि सामग्रीलाई बिचौलीयाहरूले कम मूल्यमा खरिद गर्ने र बढी मूल्यमा बेच्ने भएकोले कृषक र उपभोक्ता दुवै मर्कामा नपरुन् भन्ने उदेश्यले केन्द्रको स्थापना गरिएको जिल्ला सम्वन्य समितिले जनाएको छ । जिल्ला सम्वन्य समिति गुल्मीको जग्गामा निर्माण गरिएको उक्त कृषि उपज केन्द्रमा कृषकहरूले नै सामग्री संकलन गर्न चासो नदेखाएको गुल्मी उद्योग वाणिज्य संगका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए ।‘कृषकले नै चासो देखाएनन्’ उनले भने, ‘यसले कृषकलाई नै फाईदा हुने हो ।’
फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष यमलाल वेल्वासेले कृषि उपज केन्द्र अव्यवस्थित र असुरक्षित भएकोले आफुहरूले व्यवसाय सञ्चालन गर्न नसकेको बताए ।उनले केन्द्रको वरीपरी तारवार,पर्खाल र गेट नहुंदा असुरक्षित भएको र बजारको ढल संगै जोडिएकोले ठुलो पानी पर्दा ढलको पानी बगेर सामग्री नष्ट गर्नुपरेको गुनासो गरे ।‘पानीले भिजेर चार बोरा आलु कुहिए’, उनले भने, ‘अव्वस्थित ठाउंमा कसरी व्यापार गर्ने ? ’वेल्वासेका अनुसार आफुहरूले सुरुमा केहि दिन उपज केन्द्रमा व्यापार गर्न पुगेको भएपनि बजारको छेउ भाग भएकोले असुरक्षाको महसुस गर्दे केन्द्रमा व्यावसाय गर्न छोडेको बताउँछन् ।
हप्ताभरी नै व्यावसाय गर्न पाउने यो उपज केन्द्रमा सुरक्षित र व्यवस्थित बनाईयो भने खुसी भएर व्यावसाय सञ्चालन गर्ने कृषकहरूले बताएका छन् । उनिहरूले कृषि संगै घरमा उत्पादन गरेका कुखुरा,खसी,बोका,लगायत पशुजन्य माछा,मासु पनि सिधै उपभोक्तालाई वेच्न सकिने भएकोले व्यवस्थित गरी तत्काल सञ्चालन गर्न समेत माग गरे । जिल्लाको सदरमुकाम समेत रहेको यस ठाउँमा उक्त कृषि उपज केन्द्रलाई हाटबजारको रुपमा सञ्चालन गर्नुपर्ने स्थानीय बताउँछन् ।