बृहत् स्वरूपमा अन्नपूर्ण ब्याडमिन्टन हुने
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पाँचौं संस्करण साउन ७ देखि १२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, बहराइन, माल्दिभ्स, थाइल्यान्ड, पाकिस्तान, भुटान, मलेसिया, इन्डोनेसिया र जापानका खेलाडी सहभागी हुने जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन एवं प्रशासन विभाग प्रमुख सुदामकुमार सिजापतिले दिए।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुने प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेललाई माथि उठाउन मद्दत पुर्याउने विश्वास पनि सिजापतिले व्यक्त गरे। ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा ब्याडमिन्टन खेलको विकासका साथै खेल पर्यटनमा पनि टेवा पुग्नेछ। साथै नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ’, उनले भने।
काठमाडौंमा बृहत् प्रतियोगिता हुनुअघि जेठ १३ गतेबाट ६ वटा प्रदेशमा छनोट खेल हुनेछ। प्रदेशमा पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा हुनेछ। प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
प्रदेश १ को छनोट जेठ १३ देखि १५ गतेसम्म धरानमा हुनेछ। २ नम्बर प्रदेशको छनोट खेल जेठ १८ देखि २० गतेसम्म वीरगन्जमा हुनेछ। यसैगरी जेठ २३ देखि २५ गतेसम्म ४ नम्बर प्रदेशको पोखरामा, जेठ २८ देखि ३० गतेसम्म ५ नम्बर प्रदेशको भैरहवामा, असार ३ देखि ५ गतेसम्म ६ नम्बर प्रदेशको सुर्खेतमा र असार ८ देखि १० गतेसम्म ७ नम्बर प्रदेशको धनगढीमा छनोट चरणका खेल सञ्चालन हुनेछन्। प्रदेशका विजेताले पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।
साउनमा हुने अन्तिम चरणको प्रतियोगिता भने खुला हुने सिजापतिले जानकारी दिए। उनले १ नम्बर प्रदेशमा नरेश दाहाल (९८०१०४७६८७) लाई सम्पर्क व्यक्ति तोकिएको बताए। यसैगरी प्रदेश २ मा अनिल रेग्मी (९८०१०४७७०६), प्रदेश ४ मा शिवहरि देवकोटा (९८५६०५६१२९), प्रदेश ५ मा माधवप्रसाद खनाल (९८५१००४३९२), प्रदेश ६ मा ललितबहादुर बुढा (९८५८०५३१९६) तथा प्रदेश ७ मा शिवराज भट्ट (९८५८४२०६३६) र प्रेम केसी (९८५८०२२६५६) लाई सम्पर्क गर्न सकिने जानकारी सिजापतिले दिए।
छनोट चरणका प्रतियोगिताका लागि जिल्लास्थित ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्ने उनले बताए। ‘प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य ब्याडमिन्टन खेलको विकासका साथै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नु पनि हो’, सिजापतिले भने। ६ प्रदेशबाट छनोट भएका विजेता र उपविजेताले अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्।
प्रदेशस्तरीय र अन्तिम चरणको प्रतियोगितामा एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने सिजापतिले जानकारी दिए। उनले विदेशी खेलाडीलाई खानेबस्ने सुविधा अन्नपूर्ण मिडिया नेटवर्कले उपलब्ध गराउने र प्रदेशस्तरका खेलाडीलाई खाना र खाजाका साथै यातायात खर्च उपलब्ध गराउने जानकारी दिए। कुल ६ स्पर्धा रहेको प्रतियोगितामा कर्पोरेट पुरुष सिंगल, पुरुष डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिएको छ।
कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ। प्रत्येक विधाका विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ। यसैगरी जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुनको पदक पाउनेछन्। पुरस्कार राशिमा मात्रै २० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने सिजापतिले बताए। कुल ३४ तोला सुन पुरस्कारमा लाग्ने उनले बताए। गत वर्ष पुरुष सिंगलमा नेपालका रत्नजित तामाङ र महिला सिंगलमा श्रीलंकाकी दिल्मी दियासले उपाधि जितेका थिए।