‘उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं'
सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ ।दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले भने, ‘हामी उत्तर कोरियाप्रति आशावादी छौँ, हामीलाई लाग्छ आगामी उच्च सम्मेलनका लागि हामी ९९.९ प्रतिशत आशावादी छौँ ।’ उनी मंगलबार अमेरिका प्रस्थान गर्दै छन् । उनले वार्ताको वातावरण नबिग्रिएका र उत्तर कोरियासँग आगामी दिनमा वार्ता हुने दाबी गरे ।
उनले उत्तर कोरियाको अमेरिकासँग पनि वार्ता हुने बताएका छन् । उनले भने, ‘हामीले सबै तयारी गरिरहेका छौँ, हाम्रो र उत्तर कोरियाबीचको शिखर सममेलन पनि हुन्छ र अमेरिकासँग पनि हुन्छ ।’ दुई कोरियाबीच गत अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए ।
यद्यपि हाल सोलमा भइरहेको संयुक्त सैन्य सैनिक अभ्यासप्रति असन्तुष्टि प्रकट गरेको छ । यसको विरोधमा उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरू पनि ठप्प भएका छन् । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गत बुधबार बस्ने भनिएको बैठक हप्ता दिनसम्म पनि बस्न सकेको छैन ।
सोलमा जारी सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरूपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न आग्रह गरिरहेको छ । सैन्य अभ्यास अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ । उत्तर कोरियाको यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नो तर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने शिखर बैठकपूर्व ह्वाइट हाउसले सोमबार संस्मरण सिक्का सार्वजनिक गरेको छ । उक्त सिक्कामा उत्तर कोरियाली नेता किमलाई ‘सर्वोच्च नेता’ भनेर उल्लेख गरिएको छ । शिखर बैठकलाई शान्ति वार्ताको रूपमा वर्णन गरिएको छ ।