श्रीलंकाबाट पाइलट ल्याउने नेवानिको तयारी

श्रीलंकाबाट पाइलट ल्याउने नेवानिको तयारी

काठमाडौं : नेपाल वायु सेवा निगम (नेवानि) ले वाई १२ सिरिजका जहाज उडाउन श्रीलंकाबाट पाइलट ल्याउने तयारी गरेको छ। यसअघि मासिक आठ हजार डलरमा चिनियाँ पाइलट ल्याउने प्रक्रिया थालेको नेवानिले चिनियाँ पाइलटको योग्यता नपुगेपछि फेरि श्रीलंकाबाट ल्याउने तयारी थालेको हो।

‘तीन जना चिनियाँ पाइलट ल्याउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहमति माग गरिएको थियो’, नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘नेपालको उड्डयन ऐनअनुसार योग्यता नपुगेपछि श्रीलंकाबाट पाइलट ल्याउने तयारी भएको हो।’

पाइलट अभावकै कारण चीनबाट ल्याइएका चारवटा वाई १२ सिरिजका जहाज ग्राउन्डेड छन्। नेवानिसँग चारवटा चिनियाँ जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। अहिले चारवटा चिनियाँ वाई १२ जहाज दुई पाइलटले पालै पालो उडान गरिरहेको कंसाकार बताउँछन्। चारवटा जहाज उडानका लागि न्यूनतम पनि सात जना पाइलट आवश्यक पर्छ।

तर, कंसाकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जसरी पनि चिनियाँ जहाज उडाउन बारम्बार निर्देशन दिइरहेका छन्। मन्त्रीको निर्देशन आए पनि पाइलट पाउन मुस्किल भएको कंसाकार बताउँछन्।

‘चिनियाँ जहाज उडाउन नसक्दा आन्तरिक उडानमा नेवानिको विश्वसनियता गुमेको छ’, कंसाकारले भने, ‘सेवा सुविधाका विषयमा कुरा मिलेको अवस्थामा छोटो प्रक्रियामा श्रीलंकाबाट पाइलट ल्याउनुपर्नेछ।’

मन्त्री अधिकारीले चैत १३ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमार्फत सार्वजनिक गरेका सय दिने योजनामा समेत चिनियाँ जहाज नियमिति उडाउने उल्लेख छ। तर, सरकारले सय दिनका लागि सार्वजनिक गरेको योजनाअनुसार चिनियाँ जहाज नियमित उड्न नसक्ने अवस्था आएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय बताउँछन्।

‘नेपालको उड्डयन ऐनअनुसार चिनियाँको योग्यता नपुगेपछि श्रीलंकाबाट पाइलट ल्याउने तयारी भएको हो। सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेवानि।

चिनियाँ जहाज नियमित रूपमा उडान गर्ने गरी नेवानिलाई लिखित, मौखिक, मन्त्रीस्तरीय तथा सचिवस्तरीय निर्देशन भइरहेको छ। तर, नेवानिले चिनियाँ जहाज उडानका लागि पाइलट ल्याउने विषयमा कुनै प्रगति गर्न नसकेको उनले स्वीकार गरे। नेवानिसँग भएका जहाज पनि नियमित उडान गर्न नसेकेको अवस्थामा मन्त्री अधिकारी भने आन्तरिक उडानका लागि भन्दै ६ वटा ट्विनअटर जहाज खरिद गर्न लागेका छन्।

नेपालको दुर्गम क्षेत्रमा समेत उडान गर्न सकिने जहाज नेवानिको व्यवस्थापनले पाइलट अभाव हुँदा काठमाडौंलाई ‘बेस’ बनाएर पोखरा र भैरहवा उडान गर्दै आएको छ। २०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चारवटा वाई १२ हो। त्यसमा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो।

सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो। पहिलो पटक ल्याइएको दुवै जहाज अनुदानका थिए। यस्तै एमए ६० र वाई–१२ २०७३ मा ल्याएको थियो। नागरिक उड्डयन ऐनअनुसार आवश्यक मात्रामा पाइलट र इन्जिनियर नभए जहाज ल्याउन अनुमति दिन मिल्दैन। तर, सरकारी रकम गइसकेकाले पनि जहाज ल्याउन अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणल बताउँदै आएको छ। सरकारी निर्णयका कारण जबरजस्ती ल्याइएको जहाज तीन महिनादेखि विमानस्थलका ग्राउन्डेड भएको हो।

नेवानिले अहिले वाई १२ जहाज उडानका लागि प्राधिकरणसँग दुई जना क्याप्टेन र सात जना कोपाइलटको अनुमति लिएको छ। क्याटेनमा उद्धव घिमिरे र नृपेन्द्र भट्टराई मात्रै छन्। कोपाइलट र अन्य जहाज उडाउने पाइलट ले पनि वाई १२ जहाज उडाउन पाउँदैन। अन्तर्राष्ट्रिय प्रचलनमा दुई जहाजका लागि पाँच पाइलट र पाँच कोपाइलट चाहिन्छ। एक पाइलटले सातामा दुई रात आराम गरेको हुनुर्ने र दैनिक ९ घन्टाभन्दा बढी उडान गर्न नपाउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.