विश्वकपः तीन दशकदेखि तिर्खाएको अर्जेन्टिना
लन्डन: पछिल्लो पुस्ताका सर्वाेत्कृष्ट खेलाडी मानिएका लियोनल मेसी नेतृत्वको टोली अर्जेन्टिना पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर अभागी ठहरिँदै आएको छ । दक्षिण अमेरिकी क्षेत्रको प्रतियोगितामा मात्रै होइन, विश्वकपमा समेत फाइनलमा पुग्दै अर्जेन्टिना उपाधिबाट चुकेको छ ।
अर्जेन्टिनाले विश्वकप उपाधि नजितेको ३२ वर्ष भएको छ । डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो ।
त्यस यताको सात विश्वकपमा अर्जेन्टिनाले दुईपटक मात्रै फाइनल खेलेको छ, जसमा उसलाई भाग्यले साथ दिएको छैन । त्यसैले अर्जेन्टिनाका लागि आगामी विश्वकप आफ्नो तीन दशकभन्दा लामो उपाधिविहीन यात्रालाई टुंग्याउने अवसर बन्न सक्छ । यद्यपि अर्जेन्टिनाको यो अवसर मेसीको प्रदर्शनमा मात्र होइन, उसको भाग्यमा पनि भर पर्ने देखिन्छ ।
पछिल्लो प्रतियोगितामा मेसी र उनको टोलीले उत्कृष्ट प्रदर्शन गर्दा पनि अर्जेन्टिना अन्तिम अवस्थामा उपाधिबाट चुक्ने गरेको छ । क्लब फुटबलमा बार्सिलोनाबाट थुप्रै कीर्तिमान आफ्नो नाममा बनाएका मेसीले आफ्नो देशको राष्ट्रिय टोलीबाट भने अहिलेसम्म कुनै पनि ठूलो उपाधि जित्न नसक्नुलाई उनको खेलभन्दा बढी भाग्यसँग जोड्ने गरिन्छ ।
यसपटक मेसीले टोलीका लागि विश्वकप उपाधि दिलाउन भने निकै मेहनत गर्ने पक्का छ । मेसीका लागि राष्ट्रिय टोलीबाट यो अन्तिम विश्वकप हुन सक्छ । राष्ट्रिय टोलीबाट लगातारको असफलतापछि मेसीले दुई वर्षअघि सन्न्यासको घोषणा गरेका थिए ।
सन् २०१६ को कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले राष्ट्रिय टोली छाड्ने घोषणा गरेका थिए । यद्यपि उनी फेरि राष्ट्रिय टोलीमा फर्किएका छन्, सायद अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा कम्तीमा एकपटक विश्वकप जिताउने सपना बोकेर ।
त्यसपछि उनले खेल्न लागेको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यही अवसरमा उनी अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा विश्वकप उपाधि दिलाउन चाहन्छन् । हालसम्म सन् १९७८ र सन् १९८६ का दुई विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पाँच÷पाँचपटक फाइनल र सेमिफाइनल खेलेको छ ।
अर्जेन्टिनाले पछिल्लोपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनल खेलेको थियो । यद्यपि एक सय २० मिनेटसम्म चलेको खेलमा जर्मनीसँग १–० गोलले पराजित हुँदै अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो ।
जर्ज साम्पाओलीको प्रशिक्षणमा रहेको अर्जेन्टिनी टोली रुस विश्वकपको समूह ‘डी’ मा छ । उक्त समूहमा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया पनि छन् । समूहगत चरणको खेलमा यी तीनै टोलीले अर्जेन्टिनालाई बलियो चुनौती दिन सक्नेछन् ।
क्रोएसिया विश्वकपमा सदबहार बलियो टोली हो । नाइजेरिया पनि यसपटक छैटौं विश्वकपमा सहभागिता जनाउँदै छ । विश्वकपमा अर्जेन्टिना परिचित टोली भएकाले पनि नाइजेरियाले सशक्त प्रदर्शन गर्ने पक्का छ ।
नाइजेरियाले अर्जेन्टिनाविरुद्ध विश्वकप फुटबलमा पाँचौंपटक प्रतिस्पर्धा गर्दैछ । विश्वकपको नयाँ टोली आइसल्यान्डलाई पनि कमजोर मान्नु गल्ती हुनेछ । आइसल्यान्डले सन् २०१६ को युरोकपमा आफू सशक्त टोली भएको संकेत दिइसकेको छ ।
अर्जेन्टिनाले रुस विश्वकपमा सफलताका लागि आफ्नो रक्षापंक्तिमा पनि निकै मेहनत गर्नुपर्नेछ । निकोलस ओटामेन्डी रुस विश्वकपमा अर्जेन्टिनी टोलीको मुख्य रक्षक रहने लगभक पक्का छ । यद्यपि उनको साथमा रहने अन्य खेलाडीको प्रदर्शन पनि अझ महŒवपूर्ण हुनेछ । साथै प्रशिक्षक साम्पाओलीको रणनीतिले पनि रुस विश्वकपमा अर्जेन्टिनाको सफलता र असफलता निर्धारण गर्नेछ । एजेन्सी
अर्जेन्टिना
विश्वकप सहभागिता: १७औं पटक
उपाधि: २ पटक
फिफा वरीयता: ५