भित्री मधेसको सडकलाई बजेट अभाव

भित्री मधेसको सडकलाई बजेट अभाव

गाईघाट :  राष्ट्रिय गौरवको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने वैकल्पिक राजमार्गलाई बजेट अभाव भएको छ। आयोजनाको पूर्वी खण्डका लागि चालू आर्थिक वर्ष विनियोजन भएको बजेटमध्ये ९९ प्रतिशत खर्च  भइसकेको र काम अघि बढाउन समस्या भएको आयोजनाले जनाएको छ।

आयोजनाका लागि सरकारले विनियोजन गरेको ३ अर्ब १७ करोड ३ लाखमध्ये ३ अर्ब १४ करोड खर्च भइसकेको जनाइएको छ। सरकारले सुरुमा १ अर्ब ६९ करोड र चैतमा १ अर्ब ५९ करोड रकम थप गरेको थियो। वैशाखमा गरेको कामको भुक्तानी दिने रकमसमेत नभएको आयोजना प्रमुख उमेशबिन्दु  श्रेष्ठले बताए। ‘हामीसँग अहिले बजेट करिब ३ करोड मात्र छ’, उनले भने, ‘चैतसम्मको निर्माणको भुक्तानी भएको छ तर वैशाखको भुक्तानी हुन बाँकी छ।’

उनका अनुसार घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा विवाद समाधानसँगै सडक निर्माणले गति लिएको छ। ‘हामीलाई वैशाखको भुक्तानी दिन ५० करोड रकम आवश्यक छ’, उनले भने, ‘जेठ र असारका लागि मौसमले साथ दिए थप १ अर्ब रकमबराबरको काम गर्न सकिन्छ।’

उनका अनुसार भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। तर, भुक्तानी २७ प्रतिशतभन्दा बढी हुन सकेको छैन।

आयोजनाको पूर्वी खण्डमा १ सय ३४ किलोमिटर सडक पर्छ। आर्थिक लक्ष्यअनुसार प्रगति भएकाले आयोजनाको कामले तीव्रता पाएको जनाइएको छ। आयोजनाका लेखा अधिकृत मोहनकृष्ण       श्रेष्ठका अनुसार अहिलेकै गतिमा काम गर्ने गर्ने हो भने अब डेढ अर्ब रकम अपुग हुन्छ। बाँकी ३ करोड रकम सडकका कामदार र सुपरभाइजरलाई तलबभत्ता अनि बाँकी भुक्तानी दिँदा नै सकिने उनले बताए।

सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण धमाधम भइरहेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका वीरेन्द्र चोकबाट सिन्धुलीको भिमानसम्म विभिन्न भागमा कल्भर्ट, कज्वे र पुलपुलेसा निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ।


धरानबाट भित्री मधेस हुँदै हेटौंडा जोड्ने सडकका लागि विनियोजित ३ अर्ब १७ करोडमध्ये ३ अर्ब १४ करोड खर्च भइसकेको जनाइएको छ।

सडकका विभिन्न स्थानमा सबग्रेड, सबबेसलगायत काम भइरहेको जेडआईईसी शर्मा एन्ड लामा जोइन्ट भेन्चर (जेभी)का डेपुटी म्यानेजर सीताराम दाहालले बताए। ‘उदयपुरतर्फ खासै अवरोध नभए पनि सिन्धुलीतर्फ भने विद्युत्का पोल हटाउन ढिलाइ भएको छ’, इन्जिनियर दाहालले भने, ‘पोल हटाउने ठेक्का लागे पनि काममा ढिलाइ भएको हो।’ आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण कम्पनीले ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता गरेको थियो।

अवरोध नआए वैकल्पिक राजमार्ग निर्माण निर्धारित समयमै सम्पन्न हुने देखिएको छ। उदयपुरको पश्चिमी क्षेत्र कटारी र सदरमुकाम गाईघाट यहीं राजमार्गले जोडिनेछ। यसअघि कटारीवासी सिरहा र सप्तरी हुँदै सदरमुकाम गाईघाट आउनुपर्ने बाध्यता थियो। राजमार्ग बनेपछि २ नम्बर प्रदेश हँुदै हिँड्नुपर्ने बाध्यता हट्ने स्थानीय राजकुमार थापाले बताए। ‘सिरहा, सप्तरी बन्द हुँदा पनि सदरमुकाम गाईघाट, सुनसरीको धरान र मकवानपुरको हेटौंडासम्म सहज यात्रा गर्न पाइन्छ।’

इन्जिनियर कुटिँदा काम रोकियो

नक्सांकन परिवर्तन गरेको भन्दै इन्जिनियरमाथि वडाध्यक्षले कुटपिट गरेपछि भित्री मधेसको वैकल्पिक राजमार्ग निर्माण अवरुद्ध बनेको छ। धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदैै हेटौंडा जोड्ने राजमार्गअन्तर्गत उदयपुरको चौदण्डी नगरपालिका–६ सातधारेमा वडाध्यक्ष कमलध्वज राईले इन्जिनियर सन्दीप विष्ट र किशोर केसीमाथि कुटपिट गरेको जनाइएको छ। कर्मचारीमाथि हातपात गरेको भन्दै विरोधमा निर्माण कम्पनीले असुरक्षा कारण देखाउँदै काम रोकेको हो। नक्सांकन परिवर्तन विवादले चार महिनादेखि यो खण्डमा काम ठप्प रहँदै आएकोमा मंगलबारदेखि नियमित भएको थियो।

वडाध्यक्ष राईको घर सडक क्षेत्रमा पर्ने भएपछि नक्सा परिवर्तन गर्न नमान्दा दुई कर्मचारीलाई उनले कुटपिट गरेको जनाइएको छ। १ सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एन्ड शर्मा जेभीले पूर्वी खण्डमा ४० प्रतिशत काम सम्पन्न गरेको छ। लामा एन्ड शर्मा जेभीका डेपुटी म्यानेजर सीताराम दाहालले असुरक्षा महसुस गरेर काम रोकेको बताए। ‘सहयोग गर्नुपर्ने जनप्रतिनिधिले नै कर्मचारी कुटेपछि कसरी काम गर्नु ? ’, उनले भने। उदयुपरका एसपी नवराज भट्टले यसबारे केही जानकारी नआएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.