नायिका आमा : समय सन्तान कि फिल्मलाई ?

नायिका आमा : समय सन्तान कि फिल्मलाई ?

महिलाका लागि मातृत्व सुखभन्दा ठूलो सुख अरू केही हुन सक्दैन। त्यसैले उचाइमा पुगेको आफ्नो करिअरलाई थाती राखेर पनि आमा बन्न तयार हुन्छन्। यो सुन्दर क्षणलाई अनुभूत गर्नुको मज्जा नै अर्कै हुन्छ। मातृत्वको प्रत्येक पलले महिलालाई पूर्णताको अनुभूति गराउँछ।

यो अनुभूतिमा आममहिलाझैं कलाकार पनि उत्तिकै रमाएका हुन्छन्। तर, ग्ल्यामरको दुनियाँमा काम गर्नुपर्ने भएकाले आमा भएपछि फर्केर त्यही क्षेत्रमा जम्नुपर्ने चुनौती उनीहरूलाई हुन्छ। त्यसैले सुत्केरीपछि बढ्ने शरीरको तौल र सौन्दर्यले साथ दिने हो कि होइन भन्ने चिन्ता उनीहरूलाई हरदम हुन्छ।

विवाहको ११ वर्षपछि योजना बनाएर छोरी जन्माउँदा पनि यो चिन्ताबाट अछूतो रहन सकिनन् कलाकार सरिता लामिछाने। आफू गर्भवती रहुन्जेल पनि उनी दिनरात नभनी काममा खटिइन्। तर, बच्चा भइसकेपछि निश्चित समयसम्म काम गर्ने, छानेर मात्रै गर्ने भनेर उनले पहिले नै योजना बनाइसकेकी थिइन्।

छोरी जन्मिएपछि खाना बार्नेमा उनले केही सोचिनन्। मैले के खाए बच्चाका लागि धेरै दूध आउँछ भन्नेमा उनको ध्यान गयो। दिनमा एक लिटर आइसक्रिम खान्थिन् उनी। आइसक्रिम फ्रिजबाहिर निकालेर राख्ने र झोल बनाएर पिउने बानी थियो उनको। बच्चा ६ महिनाको भइन्जेल उनको तौल पनि बढेर ७८ किलो भइसकेको थियो। ४५ किलोकी मान्छे ७८ किलो भएपछि उनलाई भर्‍याङ चढ्नदेखि उठ्नबस्न नै गाह्रो हुन थाल्यो। यसको ६ महिनापछि स्वास्थ्य जाँच गराउँदा पाठेघरमा कोलेस्टेरोल उच्च भएको थाहा पाइन्। डाक्टरले उनलाई तौल घटाउन सुझाव दिए।

नायिका आमा बनेपछि शारीरिक बनावटमा स्वतः परिवर्तन आउँछ। पहिलेकै जस्तो ‘चार्मिङ’ हुने हो कि होइन भन्ने तनावले उनीहरूमा मात्रै नभई छोराछोरीको रेखदेखमा पनि असर पर्ने मनोविद् करुणा कुँवरको भनाइ छ।

डाक्टरको सल्लाहपछि सरिता सन्तुलित भोजनमा ध्यान दिन थालिन्। खानामा कार्बोहाइड्रेडको मात्रा घटाउनुका साथै दैनिक चार लिटर मन तातो पानी पिउन थालिन्। योगाका साथै दैनिक १२ किलोमिटर हिँड्नु उनको दिनचर्या बन्यो। यति गर्दा उनको तौल घटेर ५२ केजीमा झर्‍यो।

बच्चा दुई वर्षजति भएपछि भने सरितालाई कामको चिन्ता हुन थाल्यो। काम नभएको सोचेर बस्दा आफ्नै धेरै साथीहरू डिप्रेसनमा गएका उनले देखेकी थिइन्। तनावले गर्दा चिट्चिट् हुने, बच्चालाई पिट्नेजस्ता व्यवहार आमाले गर्ने हुनाले यस्तो अवस्थामा स्वयं आफूलाई नियन्त्रण गर्नुपर्ने सरिताको सुझाव छ, ‘आमा हुनु भनेको मेरो जीवनको उत्कृष्ट काम हो भन्ने सोच्नुपर्छ र त्यसैमा रमाउन सिक्नुपर्छ।’ आमा बन्ने भाग्य सबैमा नहुने हुनाले यो सम्बन्ध हरपल महसुस गर्नुपर्ने उनको भनाइ छ। लाखौं कमाउने उनका साथीहरूले पनि बच्चा पाएपछि काम नपाएका कारण तनाव भएको बताएपछि आफ्ना ती सहकर्मीलाई उनले सम्झाएकी छन्।

टीभी सिरियल ‘मेरी बास्सै’मा करिब चार वर्षपछि पुनः काम सुरु गरेकी कलाकार नीरू खड्का पनि पहिलो सन्तान छोरी एक वर्ष भइन्जेल मातृसुखमै रमाइन्। तर, छोरी बढ्दै जाँदा उनलाई काममा फर्कने विषयले तनाव बढ्दै गयो। एरोबिक्स गर्न जाँदा तल्लो पेट दुख्न थालेकाले उनले मर्निङ वाक गर्न थालिन्। छोरी तीन वर्षकी भएपछि छोरी बोकेर त्यति बेला बालाजु तीनपिप्लेमा हुने ‘मेरी बास्सै’को सुटिङमा गइन् उनी।

उनले दोस्रो सन्तान छोरा पेटमा आएपछि मात्रै छोरीलाई दूध खुवाउन छाडिन्। बच्चालाई स्तनपान गराए महिलाको सौन्दर्यमा निखार आउने उनले सुनेकी मात्रै थिइन्, तर त्यति बेला आफैंले अनुभव गरिन्। ‘जति म विवाहअगाडि सुन्दर थिएँ, त्योभन्दा बढी छोरी जन्मिएपछि भएँजस्तो लाग्छ’, उनले भनिन्। अनुहार चम्किलो भए पनि शरीर मोटाएपछि ऐना हेर्दा पनि ओहो आफू कति मोटाएछु, अब त नृत्य गर्न पनि सक्दिनँ कि, पहिलेको लुगा पनि ठीक हुँदैन कि भन्ने जस्ता कुरा उनको मनमा खेल्न थाले। त्यसपछि सुरु भयो, उनको खाना घटाउ अभियानका साथै नियमित व्यायाम।

छोरी जन्मिएपछि नीरूको अनुहारमा धेरै तिलकोठी आए। तर, पछि त्यो आफैं हटेर गयो। अहिले उनको छोरा १६ महिनाको भयो। मेकअप नगरी हिँड्दा साथीहरूले कहिलेकाहीँ तेरो अनुहारको छाला त कति बिग्रिएछ भन्छन्। तर पनि सिरियलको सुटिङ सेटमा भने कसैले यस्तो प्रतिक्रिया नदिएको उनले बताइन्। हङकङका निर्देशकले बनाएको चलचित्र ‘लखपति माग्ने’का लागि अडिसनमार्फत नेपाली कलाकारका रूपमा छानिएकी छन् नीरू। उनलाई आमा बनेपछि आफ्नो फिगर मेन्टेन गर्न एकदमै गाह्रो भएको अनुभव छ।

कुनै पनि व्यक्ति निश्चित उमेरको भएपछि उसमा हुने हर्मोनको परिवर्तनले शरीरमा पनि परिवर्तन हुन्छ। त्यसैले एउटी नायिका आमा बनेपछि निश्चय नै उनको शरीर पहिलेको जस्तो स्लिम र छरितो देखिँदैन। तर त्यसलाई पहिलेको जस्तै बनाउन आफूहरूले अझै बढी मेहनत र प्रयास गर्नुपर्ने नायिका करिश्मा मानन्धरको भनाइ छ। ‘आमा बनेपछि हामीले आफ्नो शारीरिक तन्दरुस्तीका लागि खाना, पानी, व्यायाम लगायतका विषयमा धेरै ध्यान दिन्छौं तर यो समयमा साइकोलोजीका कुरा पनि महङवपूर्ण हुन्छ भन्ने बुझ्नुपर्छ’, सदाबहार नायिका करिश्माले भनिन्।

उमेरले चालीस कटेपछि र त्यसमा पनि आमा भइसकेपछि अब त उमेर ढल्कियो भन्ने आममहिलाले सोच्न थाल्छन्। हाम्रो मस्तिष्कमा पनि त्यही सन्देश प्रवाह हुने भएकाले शरीरले त्यसैअनुरूप काम गर्ने नायिका मानन्धरले अनुभव गरेकी छन्, ‘तर, त्यसै हुनुपर्छ भनेर कहीँ लेखिएको छैन। हामीले आफूलाई सम्पूर्ण रूपमा स्वस्थ र फिट राख्न सक्छौं भन्ने मनस्थिति बनाउनुपर्छ।’ कतिपय महिलाले आमा भनेपछि मोटी नै हुनुपर्छ भन्ने सोच पाल्ने गरेको तर कतिपयमा संयुक्त परिवारमा बस्दा बुहारी भनेको घरकै काम गर्नका लागि हो भन्ने भएकाले ती महिलाले आफ्नो शरीरलाई समय दिन नसक्ने उनको बुझाइ छ।

सिनेमा उद्योगमा उमेर ३० कटेपछि र आमा बनेपछि तिमी गर्न सक्दैनौ भन्दै नयाँ अनुहार खोज्ने ट्रेन्ड रहेकोमा करिश्मा सहमति जनाउँछिन्। तर, नायिका स्वयंले पनि आफूले पहिलेजस्तै सक्षम हुन सक्छु भनेर लाग्नुपर्ने उनको सुझाव छ। ‘बलिउड र हलिउडमा अहिले पनि कति नायिका आमा बनेपछि मात्रै होइन, ४० कटेपछि पनि नायिकामै जमेका छन्। त्यसैले हामी नायिकाले पनि शारीरिक रूपमा मात्रै नभई मानसिक रूपमा पनि आफूलाई फिट राख्नेबारे सोचेमात्रै यो क्षेत्रमा फेरि जम्न सकिन्छ’, उनी भन्छिन्।

नायिका मेलिना मानन्धर आमा बनिसकेपछि उनले खेलेको फिल्म ‘रोमियो’ रिलिज पनि भइसक्यो। नानी स्याहारेर घरमै बस्दा पनि धेरै राम्रा कथा भएका फिल्मको अफर उनलाई आएको थियो। कत्तिले त छोरी लिएरै आए हुन्छ पनि भनेका थिए। तर, छोरीलाई समय दिन नभ्याउने हुनाले उनले काम गरिनन्। बच्चा भएपछि पनि आफू धेरैजसो काममै व्यस्त भएकाले तौल नबढेको उनको अनुभव छ। हाल उनका पति बाहिर भएकाले छोरी आठ वर्षकी भए पनि उनलाई छाडेर काममा जाऊँ भन्ने लाग्दैन।

नायिका आमा बनेपछि शारीरिक बनावटमा स्वतः परिवर्तन आउँछ। पहिलेकै जस्तो ‘चार्मिङ’ हुने हो कि होइन भन्ने तनावले उनीहरूमा मात्रै नभई छोराछोरीको रेखदेखमा पनि असर पर्ने मनोविद् करुणा कुँवरको भनाइ छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पनि ३० वर्ष कटेपछि नायिकामा तनाव उत्पन्न हुन थाल्ने धेरै अनुसन्धानले देखाएका छन्। यसबाट नेपाली नायिका र कलाकार पनि अछूतो नरहेको उनीहरूसँग बेलाबेलामा गरेको कुराकानीले पनि पुष्टि गरिसकेको कुँवर बताउँछिन्। सामाजिक रूपमा पनि विवाह भइसकेपछि नै उनीहरूले पाउने भूमिकामा फरक हुँदै जाने भएकाले नायकभन्दा नायिका यो समयमा बढी मनोवैज्ञानिक रूपमा प्रभावित हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.