के हो रानीपोखरी मन्दिरको वास्तविकता ?

के हो रानीपोखरी मन्दिरको वास्तविकता ?

ऐतिहासिक तथा पुरातात्विक सम्पदाका रूपमा रहेको काठमाडौंको रानीपोखरीको बीचमा रहेको मन्दिरको नाम के होला ?

तीन सय वर्ष पहिले बनेको रानीपोखरीको बीचमा रहेको मन्दिर बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ। तर हालै फेला परेका नयाँ तथ्यले उक्त मन्दिरको नाम बालगोपालेश्वर नभएको उजागर गरेको छ। १८७१ साल भदौको लालमोहरअनुसार खडा भएको लगतअनुसार रानीपोखरीको बीचमा गौरीशंकरको मन्दिर छ। उक्त मन्दिरलाई गुठीको लगतमा पनि गौरीशंकरको देवालय भएको उल्लेख छ।

टँुडिखेलको रानीपोखरीबीच गौरीशंकर किलेश्वरका गुठीको लगतमा रानीपोखरीको दक्षिण ढुंगाको हात्ती पछाडि रहेको मन्दिरलाई कोटी लिंगेश्वर देवालय र उत्तरतिरको मन्दिरलाई किलेश्वर देवालय भनी उल्लेख गरिएको छ।

गुठीको अभिलेखालयमा मन्दिरको चार कुनामा पनि चारवटा देवालय रहेको उल्लेख छ। उत्तर–पश्चिम र उत्तरपूर्वमा रहेको मन्दिरमा भैरवको मन्दिर छ भने दक्षिण–पश्चिममा महालक्ष्मी र दक्षिणपूर्वमा गणेश मन्दिर छ। रानीपोखरीको बीचमा गौरीशंकर देवालय जाने पुल रहेको पनि अभिलेखमा उल्लेख छ। अभिलेखमा उल्लेख भएजस्तो गौरीशंकर अर्थात् शिव–पार्वतीको मूर्ति आज देखिँदैन। यद्यपि गुठीको अधिकांश अभिलेखमा रानीपोखरीको बीचको मन्दिर ‘गौरिशंकर’ नै भएको उल्लेख छ।

गुठी संस्थानको केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीका प्रमुख राजेन्द्र दाहालले पनि गुठीको लगतमा रानीपोखरीको बीचमा रहेको मन्दिरको नाम गौरीशंकर रहेको पाइएको बताउँछन्। ‘यमलेश्वर वा बालगोपालेश्वर भन्ने कुनै मन्दिर लगतमा देखिँदैन’ दाहाल भन्छन्, ‘रानीपोखरीबीचको मन्दिर गौरीशंकर भनेर लगतमा देखिन्छ, गौरीशंकरकै नामलाई पछि बालगोपालेश्वर वा हेमलेश्वर राखेको पनि हुन सक्छ।’

दाहालले उल्लेख गरेको उक्त लगत गुठी बन्दोबस्त अड्डाले विक्रम संवत् १९७३ मा राखेको अभिलेख छ। सन् १८७१ भदौको लालमोहरअनुसार लगत खडा गरिएको अभिलेखमा उल्लेख भएको अभिलेखालय प्रमुख दाहाल बताउँछन्। अभिलेखमा रानीपोखरीका आठवटा सम्पत्ति रहेको समेत उल्लेख छ।

रानीपोखरीको मन्दिरका पुजारी शैलेशकुमार झाका अनुसार हाल देवालयको गर्भमा महादेवको मन्दिर रहेको छ। उनले त्यहाँ रहेको शिवलिंगलाई नै गौरीशंकर भनेको हुन सक्ने अनुमान गर्छन्। झा परिवार रानीपोखरीको बीचको मन्दिरको पुस्तैनी पुजारी परिवार हो।

१७२५ साल माघ शुल्क त्रयोदशी (नेपाल संवत् ७९०) मा राजा प्रताप मल्लले स्थापना गरेको शिलापत्रमा परमेश्वर र परमेश्वरी उल्लेख भएको छ। परमेश्वर र परमेश्वरी नै शिव र पार्वती अर्थात् गौरीशंकर हुन सक्ने संस्कृतिविद्हरूको ठम्याइ छ। नेपाल संवत् ७९० अर्थात् विक्रम संवत् १७२५ मा माघ शुल्क पूर्णिमा मंगलबारका दिन प्रताप मल्लले माघव्रत गरी छोरा चक्रवतेन्द्रको नामले माधवको मूर्ति स्थापना गरेको उल्लेख छ। थोरै अभिलेखमा मात्रै रानीपोखरीको बीचमा बालेश्वर वा बालगोपालेश्वर भएको उल्लेख छ।

भाइटीकाको दिन मात्रै खुल्ने उक्त मन्दिरमा अहिले चर्चित रहेको बालगोपालेश्वरका साथै रानीपोखरीको बीचमा धेरै मूर्तिहरू छन्। शिवलिंग, पार्वती र लक्ष्मीको आधा–आधा रूपमा भएको देवीको मूर्तिसमेत त्यहाँ छ। त्यसलाई पार्वती र लक्ष्मीको आधा–आधा रूपमा भएको मूर्तिलाई ‘हरिशंकरी’ भन्ने गरिन्छ।

मुख्य पुजारी झा रानीपोखरीको बीचमा रहेको पार्वती र लक्ष्मीको आधा–आधा स्वरूप भएको मूर्ति र संसारमा दुर्लभ भएको बताउँछन्। बालगोपाल र शिवलिंगलाई बालगोपाल र ईश्वर बालगोपालेश्वर भनिएको पुजारी झा बताउँछन्।

२०७२ साल वैशाख १२ गते भएको भूकम्पपछि रानीपाखेरीको बीचको मन्दिरमा समेत क्षति पुग्यो। मन्दिर क्षतिग्रस्त भएपछि त्यहाँ रहेका अधिकांश मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ। शिवलिंग र हरिशंकरको मूर्ति भने अहिले पनि त्यहीं छ।

रानीपोखरीमा पुस्तौंदेखि भाइटीका लगाइदिने तारा कपाली पनि उक्त मन्दिर गौरीशंकर नै रहेको बताउँछिन्। ‘त्यहाँ शिवजीको मूर्ति छ, त्यसको छेउमा बालगोलेश्वरको मन्दिर छ’ कपाली भन्छिन्। उनको भनाइमा शिव र हरिशंकरी मूर्ति नै गौरीशंकरको मूर्ति हो।

कपालीका अनुसार पाँचवटा शिर भएका गणेश, सूर्यनारायण, पाँचवटै शिर भएकी भएको भगवती र विष्णुको मूर्तिसमेत रानापोखरीको बीचमा छ।

रानीपोखरी निर्माणको बेला राजा प्रताप मल्लले बागमतीदेखि समुद्रसम्म पानी ल्याएर हालेका थिए।

रानीपोखरीका पश्चिमतर्फ रहेको माधवको पाषाण मूर्तिको फेदमा कुँदिएको शिलालेखमा गंगा, शोण, सावरमती, यमुना, गण्डकी, कावेरी, कोशीदेखि समुद्रको पानी ल्याएर हालिएको उल्लेख छ। प्रताप मल्लको नेपाली शिलापत्रमा शोण र कावेरीको पानीबारे भने केही उल्लेख छैन। उक्त शिलापत्रमा १० हजार ६ सय ४१ भारी पानी बागमतीबाट ल्याएर रानीपाखेरीमा हालिएको उल्लेख छ।

कुनैकुनै अभिलेखमा रानीपोखरीमा गोसाइँकुण्ड, मुक्तिनाथ, बदरीनाथ, केदारनाथ, बागमती, मानसरोवरलगायतका सातवटा कुण्डबाट पानी ल्याएर बनाइएको पाइएको गुठीको अभिलेखालयका प्रमुख दाहाल बताउँछन्। तान्त्रिक विद्याद्वारा पानी भरिएको किंवदन्ती छ। रानीपोखरीमा हिरा जवाहरातसमेत भएको दाबी गरिन्छ।

प्रताप मल्लको सालिक पछाडि एउटा ठूलो पाटी थियो। चाक्ला फल्चा भनिन्थ्यो त्यसलाई। ऐतिहासिक चाक्ला फल्चा नासिएको छ। त्यो पार्टीमा बाहिरबाट आउने मानिस बस्ने गर्दथे। रत्नपार्क, सरस्वती सदनलगायतका क्षेत्रसमेत रानीपोखरीको जग्गा थियो। जुद्धशमशेरले रानीपोखरीमा तारबार गर्दा धेरै संरचना मासिँदै गएको हो। अहिले रानीपोखरीको धेरै जग्गा अतिक्रमण भएको छ। धेरै मूर्ति हराएका पनि छन्।

संस्कृतिविद् र सम्पदाविद्हरूसमेत रानीपोखरीको सम्बन्धमा गहिरो अध्ययन हुन नसकेको बताउँछन्। उनीहरूले रानीपोखरीको ऐतिहासिक महत्वको खोजी गर्न अध्ययन टोली नै बताउनुपर्ने धारणा राख्छन्।

रानीपोखरीबीचको मन्दिर बालगोपाल नामले प्रसिद्ध छ। तर हालै फेला परेका अभिलेखहरूले त्यो नहुन पनि सक्ने बताउँछन्।

संस्कृतिविद् प्रा.डा. मुकुन्द अर्यालले रानीपोखरीको बीचमा बालगोपालेश्वरको मूर्ति आफूले स्पष्ट देखेको बताए। त्रिभुवन विश्वविद्यालय नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व विभागमा पूर्व विभागीय प्रमुखसमेत भइसकेका अर्याल मन्दिरको बीचमा रहेको ‘उमा महेश्वर’ को मूर्ति नै गौरीशंकर हुन सक्ने बताउँछन्। ‘गौरी शंकर भनेको पनि शिव–पार्वती हुन्, उमा–महेश्वर भनेको पनि शिव–पार्वती नै हुन्’ संस्कृतिविद् अर्याल भन्छन्। तथापि अध्ययनविना कुनै निष्कर्ष निकाल्न नसकिने भएकाले अध्ययन टोली नै बनाउनुपर्ने उनको धारणा छ।

अर्का संस्कृतिविद् साफल्य अमात्यले आफूले अध्ययन गरेका रानीपोखरीमा रहेका चारवटा शिलापत्रमा कतै गौरीशंकरबारे उल्लेख नभएको बताउँछन्।

‘गौरीशंकर भनेका महादेव–पार्वती हुन्, तर अहिले त्यहाँ महादेव–पार्वतीको मूर्ति छैन’ उनको अनुमान छ, ‘पहिलो महादेव पार्वतीको मूर्ति राखिएको पनि हुनसक्छ।’

हुन त संस्कृतिविद् अमात्यले अनुमान गरेजस्तो समयक्रममा मन्दिरको संरचनामा समेत फरक परेको हुनसक्छ। उनले रानीपोखरीको अहिले गहिरो अध्ययन नै हुन नसकेको बताए। ‘अहिलेसम्म रानीपोखरीको गहिरो अध्ययन नै भएको छैन’ अमात्य भन्छन्, ‘रानीपोखरीको गौरीशंकरको मूर्ति कहाँ गयो वा अरूलाई गौरीशंकर भनिएको हो, गहिरो अध्ययन नगरी भन्न सकिन्न।’

रानीपोखरी धेरैपटक भत्किएको कारणसमेत धेरै पुराना कुरा हराएको हुनसक्ने उनको अनुमान छ।

नेपालमा सन् १८६५ र १९९० गएको भूकम्पले धेरै संरचना भत्किएर हराएका थिए। भूकम्पका बेला धेरै मूर्तिहरूसमेत हराएको हुन नसक्ने सम्पदा तथा संस्कृतिविद्हरू बताउँछन्।

रानीपाखेरी निर्माणमा विवाद

२०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति भएको भएपछि रानीपोखरी पुनर्निर्माण गर्न लागिएको हो। भूकम्प गएको एक वर्षपछि २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास भएको थियो तर पुनर्निर्माणको विषयमा लामो समयदेखि विवाद रहेका कारण निर्माण कार्य नै थालनी हुन सकेको छैन। पुरातत्व विभाग र महानगरपालिकाबीच विवादका कारण अहिले निर्माण नै अलपत्र परेको छ।

कंक्रिट र सिमेन्ट प्रयोग गरेर पुनर्निर्माण थालिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच नै निर्माणको विषयमा भएको विवाद सतहमै आयो। रानीपोखरीको निर्माणमा महानगरपालिका करोडौं खर्चसमेत भइसकेको छ। पुरातत्व विभागले महानगरपालिकाले बनाएको मन्दिर पनि भत्काएको छ। पछिल्लो समयमा रानीपोखरीको बीचको मन्दिर पुरातत्व विभागले बनाउने र वरिपरिको स्वरूप महानगरपालिकाले बनाउने सहमति भएको भएको छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार रानीपोखरीबीचको मन्दिर पुरातत्वले बनाउने र वरिपरिको स्वरूप महानगरले बनाउने सहमति भएको छ।

हालै नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि रानीपोखरीको निर्माण तीन वर्षभित्र पूरा गर्ने उल्लेख छ। पोखरी पुनर्निर्माण गर्ने भनेर त्यहाँको पानी सुकाइएको छ। पोखरीमा रहेका माछालाई अन्यत्र सारिएको छ।

संस्कृतिविद् अर्याल रानीपाखेरीको प्राचीन स्वरूप नबिग्रने गरी रानीपाखेरी पुनर्निर्माण गर्नुपर्ने बताउँछन्। ‘आधुनिकताका नाममा रानीपोखरीको ऐतिहासिक र पुरातात्विक सौन्दर्य नास गर्नु हुँदैन’, अर्याल भन्छन्।

पुनर्निर्माणभन्दा पहिला नै रानीपोखरी अध्ययन टोली बनाएर सम्पूर्ण परम्परागत र पुरातात्विक प्रमाण पत्ता लगाएर मात्र निर्माण थाल्नु उपयुक्त हुने अर्यालको भनाइ छ।

रानीपोखरीको इतिहास

रानीपोखरी काठमाडौं नगरको मध्यमा अवस्थित एक मानवनिर्मित पोखरी हो। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरले बनाएको घन्टाघर, श्री ३ चन्द्र शमशेरले बनाएको त्रिचन्द्र कलेज छन् भने पश्चिममा नेपालकै सबैभन्दा पुरानो विद्यालय दरबार हाईस्कुल छ। त्यस्तै उत्तरमा विश्वज्योति सिनेमाघर छ भने दक्षिणमा रत्नपार्क छ।

प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु भएपछि शोकमा डुबेकी रानीलाई खुसी पार्न १७२५ सालमा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा शिखर शैलीको मन्दिरसमेत निर्माण गराएका थिए। २०७२ सालको भूकम्पले भत्काउनुअघि रानीपोखरी गुम्बज शैलीको थियो।

त्यसअघि पटकपटक पुनर्निर्माण गर्दा रानीपोखरीको स्वरूप नै परिवर्तन भएको छ। १९९० सालको भूकम्पमा रानीपोखरीको मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए। जुद्धशमशेरले रानीपोखरीमा तारबार गर्नुका साथै भत्किएको मन्दिरलाई शिखर शैलीमै बनाएका थिए।

संस्कृतिविद् अर्याल राणाकालमै रानीपोखरीको मौलिकता मासिएको बताउँछन्। ‘जुद्धशमशेरले तारबार गर्ने क्रममा मौलिकता मासे, त्यसअघि पनि पटकपटकको पुनर्निर्माणमा रानीपोखरीको रोहन भयो’ संस्कृतिविद् अर्याल भन्छन्। जंगबहादुरले रानीपोखरीलाई मुगल शैलीमा बनाउन लगाएका थिए। जंगबहादुरले अंग्रेजहरूको प्रभाव परेर नेपाली संस्कृतिमा मुगल संस्कृति भित्र्याएका थिए।

रानीपोखरी नेपाल भाषा (नेवारी) न्हु पुखु पोखरी भनेर चिनिन्छ। नेपाल भाषामा न्हु भनेको नयाँ हो अर्थात् नयाँ पोखरी। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। रानीपोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ। पोखरी १८० मिटर लामो र १४० मिटर चौडा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.