अन्नपूर्ण कर्पोरेट ब्याडमिनन्टन आइतबारदेखि
धरान : अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन एक नम्बर प्रदेश स्तरीय छनोट प्रतियोगिता आइतबारदेखि धरानमा हँुदैछ। अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेल संघीय प्रहरी इकाई कार्यालय धरानको हलमा हुँदै छ।
ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गर्नेछन्। प्रतियोगिताका लागि प्रदेश १ का दश जिल्लाका ८० खेलाडीले सहभागिता जनाउने प्रतियोगिताको स्थानीय संयोजक रकम माङबुहाङ लिम्बुले बताएका छन्। ६ विधामा खेलाइने प्रतियोगितामा ६५ पुरुष र १५ महिला सहभागी हुने लिम्बुले बताए। प्रतियोगिता अण्डर १९ पुरुष÷महिला, खुल्ला सिंगल पुरुष÷महिला, पुरुष डबल्स र मिक्स डवल गरि ६ विधामा खेलाडीलाई प्रतिस्पर्धा गराइने प्रतियोगिताका मुख्य रेफ्री उदय अर्यालले बताएका छन्। १९ बर्ष मुनिको प्रतियोगितामा सिंगल पुरुष तर्फ २५ र महिला तर्फ ८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
महिला सिंगलतर्फ पनि ८ जनाले प्रतिस्पर्धा गर्ने संयोजक लिम्बुले बताए। मिक्स डबल तर्फ १० टिमले सहभागिता जनाउने भएका छन्। पुरुष डबल तर्फ २२ टिम तथा पुरुष सिंगलमा २० जना खेलाडीले प्रतियोगितामा नाम दर्ता गरेका छन्। सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर, तेह्रथुम, शंखुवासभा, खोटाङ र भोजपुरबाट खेलाडी प्रतियोगितामा सहभागी हुन धरान आइसकेको छन्। सातै प्रदेशमा पहिलो चरणको छनोट प्रतियोगिताका विजेता र उपविजेतालाई फाइनल प्रतियोगितामा सहभागी गराइने अन्नपूर्ण मिडिया नेटवर्कका प्रदेश १ एरिया इन्चार्ज नरेश दाहालले जानकारी दिए। प्रतियोगिताको फाइनल खेलमा विभिन्न १२ देशका खेलाडीले सहभागिता जनाउने छन्।