नानीबाबुसँग गीतकार कालीप्रसाद रिजालका मनका कुरा
हाम्रो परिवार म नजन्मिँदै धनकुटाको शिवुआबाट बसाइँ सरेर धरान आएको रहेछ। मेरो जन्म धरानको सिरान बजारमा भएको हो। शिवुआका सुख्खा डाँडाको उब्जनी र तमोर नदीका बगरको खेतीले मात्र धेरैलाई खान पुग्दैनथ्यो। त्यही कारणले हाम्रो परिवारलाई पनि मधेश झर्न बाध्य बनायो।
मधेशमा त्यतिबेला जताततै जंगल मात्र थियो। अर्को आकर्षण के थियो भने फाँड्न सके जति जग्गा आफ्नो नाममा दर्ता गर्न पाइन्थ्यो। सरकारको लक्ष्य नै जग्गा आवादी गराएर कर उठाउनु थियो। यसले जहानियाँ राणा सरकारको मालपोत अस्वभाविक बढिरहेको थियो। त्यतिबेला मधेशमा मलेरियाको प्रकोप नराम्रोसँग फैलिएको थियो। आठ आनाको अन्नले किरिया खर्च समेत पुग्छ भन्ने भनाइ सर्वत्र चर्चामा थियो।
त्यसपछि मधेशमा हाम्रो जग्गा एकाएक धेरै भयो। अन्न भण्डारण गर्न मात्र होइन बेच्न पनि पुग्न थाल्यो। मोरङको खेतीपाती हेर्न धरानबाट असजिलो भएपछि हामी विराटनगर सर्यौं। काका र दाईहरू पनि विराटनगरमा कृष्णप्रसाद कोइरालाले खोल्नु भएको आदर्श विद्यालयमा पढ्न थाल्नु भयो।
त्यतिबेला स्कुलमा पढाउने मात्र होइन ट्युसन पढाउने मास्टर पनि भारतबाटै ल्याउनु पथ्र्यो। धरानको घरमा ट्युसन पढाउने मास्टर राखिएकाले म पनि धरान फर्किएर हजुरबुवा हजुरआमा र काकाकाकीसँगै बस्न थालें। म त्यतिबेलासम्म पढ्नमा ज्यादै तेज थिएँ। विराटनगरमा कक्षा ३ मा पढ्दै गरेको मलाई धरान ल्याएर कक्षा ५ मा भर्ना गरियो।
त्यो मेरो क्षमता भन्दा परको कुरा भएछ। मैले कसैगर्दा पनि पढाइ राम्रो गर्न सकिन। म एकाएक पढ्न छाडेर बरालिन थालें। स्कुल नजाने, पौडी खेल्न जाने गर्न थालें। अरुले देख्दा पढे जसो मात्र गर्थें। म एकाएक बिग्रिएँ। नियन्त्रण बाहिर भएँ। घरमा मान्छे आउँद उनीहरूका घोडा साइकल लिएर दिनभर हराइदिन्थें। मेरो व्यवहारमा परिवर्तन आएसँगै सबैले गाली गर्ने, कुट्ने, हेप्ने गर्न थाले। त्यतिबेला डर देखाएर सजाय दिने परम्परा थियो। स्कुलमा भनसुन गरेर मलाई कक्षा चढाइन्थ्यो।
मलाई बुवाआमाको ज्यादै न्यास्रो लाग्थ्यो र सँगै बस्न पाए हुन्थ्यो भन्ने पनि लाग्थ्यो। संयुक्त परिवारमा एकातिर मायाबाट बञ्चित भइन्थ्यो भने अर्कोतिर केटाकेटीको रेखदेख पनि हुँदैनथ्यो। एक पटक मैले लाटा काका विराटनगर जाने बुझेर बाआमालाई चिठी लेखें। पछि उहाँको कार्यक्रम रद्ध भएछ। उहाँले उक्त चिठी काकालाई दिनुभएछ। चिठी पढेपछि बाआमालाई पोल लगाएको भनेर काकाले मलाई धेरै पिट्नुभयो। त्यसपछि त म झनै बिग्रीएँ। म छुट्टीमा मात्रै विराटनगर जान पाउँथें।
तेह्रथुमको दुर्गम गाउँमा जन्मिएकी मेरी आमाले औपचारिक शिक्षा लिन पाउने कुरै भएन। पहाडमा स्कुल नै कहाँ खुलेका थिए र ? तर पनि उहाँ साक्षर हुनुहुन्थ्यो। संस्कृतका श्लोक समेत भाका हालेर गाउनुहुन्थ्यो। उहाँ काका र दाजुहरूका हिन्दी र नेपाली किताब लुकेर पढ्नुहुँदो रहेछ। मैले आमाबाटै रामायण, महाभारतका श्लोक, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठआदीका कविता सुन्ने मौका पाएँ।
यसले मेरो जीवनमा ठूलो प्रभाव पार्यो। मैले धरानका ढाक्रेका गीत सुनेको थिएँ। त्यसकै प्रभावले होला म तत्कालै गीत रचेर गाउन थालें। यो सुनेर सबै हाँस्थे। पछि म धरान र विराटनगरका कार्यक्रममा भाग लिन थालें। धेरै पुरस्कार र तक्मा पनि पाएँ। म बालकवि जस्तै भएँ। म पढ्नमा कमजोर, लफंगो भएपनि मजाले गीत गाउन सक्थें। साथै म आज जे छु सबै आमाकै प्रेरणाले गर्दा नै भएको हुँ।
यसकारण मलाई नारी शिक्षाको महत्वबारे बताउन कुनै विशेषणले पुग्छ जस्तो लाग्दैन। पछि मैले रविन्द्र नाथ टैगोरको होम कमिङ भन्ने कथा पढ्ने अवसर पाएँ। मेरै अवस्थाको बच्चाको हृदयविदारक कथाले मेरो मन मात्र छोएन, जीवन बदल्ने शक्ति दियो। बनारसबाट पढेर फर्किएका काका दाजुहरूको बोलीचाली र उनीहरूले चिटिक्क कपडा लगाएको देखेर पनि म प्रभावित भएँ।
त्यसपछि म आफैं पढाइमा मेहनत गर्न थालें। गजेन्द्रनारायण सरसँग एक महिना ट्युसन पढें। धरानबाट प्राइभेट एसएलसी दिएँ। पछि नतिजा आउँदा सेकेण्ड डिभीजनमा पास भएँछु। सबै चकित भए। मान्छे बिग्रिए पनि सम्हालिने सम्भावना हुन्छ भनेर कुरा गर्न थाले। मान्छेले अठोट गर्यो भने जस्तोसुकै सफलता हात पार्न सक्छ भन्ने उदाहरण पनि हो यो।
काशीबास जाने हाम्रो पुख्र्यौली परम्परा अनुसार हजुरबुवाआमासँगै मलाई पनि काशी पठाउने तयारी हुँदा पनि म मानिन। मलाई जसरी पनि काठमाडौं गएर आमाले कविता सुनाएका कविहरूसँग प्रत्यक्ष साक्षात्कार गर्नु थियो। मेरो रुचि साहित्यमा भएपनि परिवारको दबाबमा म व्यवस्थापन विषय लिएर त्रिचन्द्र कलेजमा भर्ना भएँ। त्यतिबेला अभिभावकले नै आफ्ना नानीहरूको बारेमा निर्णय लिन्थे, सोधीखोजी गर्दैनथे।
भाइबहिनीहरू, सबैको पढाइ राम्रो नहुन सक्छ। यसो हुँदैमा आत्तिनु पर्दैन। स्कुलको पढाइले मात्र पनि पुग्दैन। विद्यार्थीले हरबखत घरमा मेहनत गर्नैपर्छ। अझ कमजोर विद्यार्थीले त झन् अरुले गर्न सकेको काम म किन गर्न सक्दिन भनेर संकल्प लिनै पर्छ। यसले सफलता हात पार्न अवश्य सहज हुन्छ।
रटेर भन्दा बुझेर पढ्ने बानी बसाल्नुपर्छ। लेखेर पढेको कुरा सधैं सम्झिन सजिलो हुन्छ। विद्यार्थीले सधैं आत्मविश्वासी बन्नुपर्छ। पढाई कमजोर भयो भने कुनै पनि काममा राम्रो गर्न सकिँदैन।
हामी सबैसँग कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। त्यसलाई चिन्न र बाहिर ल्याउन प्रयत्न गर्नुपर्छ। अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै समय दिनु जरुरी छ। अभिभावकको चाहनाअनुसार पढे पनि मैले मेरो रुचि र चाहनालाई मर्न दिइन। साहित्य पढिरहें र लेखिरहें। यसैले होला मेरा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। मैले लेखेका दुई सय बढी गीत रेकर्ड भएका छन्। पछि बनारसबाट अर्थशास्त्रमा एमए गर्ने बित्तिकै धनकुटा क्याम्पसको प्रिन्सिपल भएर काम गरें। सञ्चार मन्त्रालयमा कामु सचिव भएर अवकाश भएँ।
शिक्षकले पढाएका बेला धेरैनै ध्यान दिनुपर्छ। प्रश्न गर्ने बानी गर्नुपर्छ। नबुझेका विषयमा सोधीखोजी गर्नुपर्छ। जसले प्रश्न गर्दैन, शिक्षकसँग भागेर हिँड्छ उसले प्रगती गर्दैन। त्यसकारण आफैं चनाखो हुनुपर्छ। म जतिसुकै बिग्रिए पनि सधैं चेतनशील रहें। खराब बानी व्यहोरामा लागिन। साथीहरूले जे भन्यो त्यो पनि गरिन।
भाइबहिनीहरू, अहिलेको समय सञ्चार र प्रविधीको हो। दिनानुदिन नयाँ नयाँ उपकरण भित्रिँदैछन्। यसबाट धेरैको पढाइ बिग्रीएको छ। कतिपय बरालिएका छन्। तर उपकरणले मान्छेलाई प्रयोग गर्ने होइन मान्छेले उपकरण प्रयोग गर्नुपर्छ। यसको सही प्रयोग गर्न जानेमा पढाइलाई फाइदा पुग्छ। सञ्चारका सामग्री र सामाजिक सञ्जाल जान्दा सहायक हुन् नजान्दा मात्रै खतरा हुन्। यसको लतमा परियो भने कज्याउन पनि सक्छन्। ख्याल गर्नु पर्छ है।
(गीतकार रीजालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)