खेलाडीलाई रुसी केटी भेट्न प्रतिबन्ध
लन्डन : नाइजेरियाले रुस विश्वकपको अवधिमा आफ्ना खेलाडीलाई रुसी महिलासँग समय बिताउन र प्रेमिका बनाउन प्रतिबन्ध लगाएको छ। नाइजेरियाका प्रशिक्षक गर्नोट रोहरले आफ्ना खेलाडीलाई आफ्नो परिवारबाकेह अन्यसँग भेट्न प्रतिबन्ध लगाइएको जनाएका छन्। उनले खेलाडीलाई श्रीमती र परिवारका सदस्यसँग पनि टोलीको अभ्यास र खेल नरहेको समयमा मात्र भेट्न छुट दिएका छन्। उनले खेलाडीले दिनको समयमा मात्रै आफ्ना परिवारका सदस्यलाई भेट्न पाउने बताएका छन्।
‘हो, खेलाडीले श्रीमती र परिवारसँग भेट्न सक्छन् तर उनीहरूलाई टोलीको अभ्यास वा खेल नभएको दिन मात्रै भेट्न अनुमति दिएको छु’, प्रशिक्षक रोहरले भनेका छन्, ‘यद्यपि म उनीहरूलाई रुसी महिलाहरूसँग समय बिताउन र प्रेमिका बनाउन अनुमति दिन सक्दिनँ।’ नाइजेरियाका कप्तान मिकेलकी श्रीमती भने रुसी नागरिक नै हुन्। प्रशिक्षक रोहरले कप्तान मिकेललाई उनको रुसी श्रीमतीसँग भेट्न छुट दिइएको बताए।
विश्वकप फुटबलका क्रममा सहभागी टोलीहरूले आफ्ना खेलाडीका बारेमा यस्ता विभिन्न नियम बनाउने गरेका छन्। यसअघि अर्जेन्टिनाको फुटबल संघले रुस विश्वकपमा रुसी महिलासँग प्रेम गर्ने तरिकासहितको पुस्तिका छापेको थियो। आफ्ना खेलाडी, पदाधिकारी र मिडियालाई बाँडेको सो पुस्तिकामा अर्जेन्टिनी फुटबल संघले रुसी महिलालाई प्रेममा पार्न सधैं सकारात्मक रहनु, फोहोरी र बोरिङ नबन्नु लगायतका सुझाव दिएको थियो। सञ्चारमाध्यममा त्यसको विरोध भएपछि अर्जेन्टिनी फुटबल संघका पदाधिकारीले गल्तीले ती कुरा छापिन पुगेको जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !