घरेलु मैदानमा रुसको दाबेदारी
मस्को : रुसले फिफा विश्वकप फुटबलमा पहिलो पटक घरेलु मैदानबाट आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजनाको तयारी गरिरहँदा उसको टोली पनि विश्वकप फुटबलको पहिलो उपाधि हात पार्ने योजना बुन्न व्यस्त छ। रुसले विभिन्न आरोप र विवादबीच विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो। रुसको टोली अहिले उपाधिको लक्ष्यसहित घरमै तयारीमा जुटेको छ।
रुस युरोपको यस्तो देश हो, जहाँ फुटबल लोकप्रिय खेल भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन भने कमजोर रहँदै आइरहेको छ। रुसले सोभियत युनियनकै हैसियतमा रहँदा पनि अन्तर्राष्ट्रिय फुटबलमा स्तरीय प्रदर्शन गर्न सकेको थिएन। एक पटक मात्रै सन् १९६६ मा सेमिफाइनल खेलेको रुसले विश्वकप फुटबलमा अहिलेसम्म त्योभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। सोही विश्वकपमा हात पारेको चौथो स्थान नै रुसले अहिलेसम्म खेलेको १० वटा विश्वकपबाट हात पारेको सबैभन्दा उत्कृष्ट नतिजा हो।
यस पटक रुसको परिस्थिति केही फरक छ। यसपटक रुस घरमै विश्वकप खेल्दै छ। आफ्नो परिचित मैदानमा खेलिरहँदा रुसलाई घरेलु समर्थनको पनि पर्याप्त साथ रहनेछ। अन्य सहभागी टोली रुसको हावापानीसँग अभ्यस्त हुने प्रयासमा व्यस्त रहँदा आयोजक रुसलाई भने त्यसको चिन्ता छैन। आगामी विश्वकपमा यो रुसका लागि सकारात्मक पक्ष हो।
आगामी विश्वकपमा रुसले सशक्त प्रदर्शन गर्दै उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्न पछिल्लो समय केही खस्किएको जस्तो देखिएको आफ्नो प्रदर्शनमा सुधार ल्याउनु आवश्यक छ। रुसले पछिल्लो केही खेलमा खराब प्रदर्शन गरेको छ। गत वर्ष आफैंले आयोजना गरेको कन्फिडेरेसन कपमा रुस समूहगत चरणबाटै बाहिरिएको थियो। आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको रुस त्यसपछिको दुई खेलमा भने क्रमश: पोर्चुगल र मेक्सिकोसँग पराजित भएपछि प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो।
रुसले त्यसपछि भएका मैत्रीपूर्ण खेलमा भने केही सुधारिएको प्रदर्शन गरेको छ। कन्फिडेरेसन कपपछि सन् २०१७ मै खेलिएको पाँचवटा मैत्रीपूर्ण खेलमध्ये रुसले दुईमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो। रुसले आफ्नै देशको डाइनामो मस्कोलाई ३-० र दक्षिण कोरियालाई ४-२ गोलले पराजित गरेको थियो भने इरानसँग १-१ र स्पेनसँग ३-३ को बराबरी खेलेको थियो।
मैत्रीपूर्ण खेलमा रुसी टोली अर्जेन्टिनासँग मात्रै १-० गोलले पराजित भएको थियो। सन् २०१८ लागेपछि भने रुसले फेरि लय गुमाएको छ। सन् २०१८ मा खेलिएको दुईमध्ये दुवै मैत्रीपूर्ण खेलमा रुसले पराजय बेहोरेको छ। रुसले ब्राजिलसँग ३-० र फ्रान्ससँग ३-१ ले पराजय बेहोरेको छ। आफ्नो टोली रक्षापंक्तिमा कमजोर देखिएकाले रुसी टोलीका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले आफ्नो रणनीतिमा केही परिवर्तन गर्न बताएका छन्। उनले आफ्ना नयाँ शैलीमा रक्षापंक्ति र स्ट्राइकिङ लाइनलाई बलियो बनाइने बताएका छन्।
रुसको प्रारम्भिक टोली
गोलरक्षक : इगोर एकिनफिभ (सीएसकेए मस्को), भ्यादिमिर गाबुलोभ (क्लब ब्रुग), सस्लन झानाएभ (रुविन कजान) र आन्द्रेइ लुनेभ (जेनिट सेन्ट पिटर्सबर्ग)।
डिफेन्डर : भ्लादिमिर ग्रानट (रुविन कजान), रुस्लान काम्बोलोभ (रुविन कजान), फेदर कुदर्यासोभ (रुविन कजान), इल्या कुतेपोभ (स्पार्टक मस्को), रोमन नुस्तादर (फेनरवाच), कोन्सटान्टिन राउच (डाइनामो मस्को), आन्द्रेइ सेमेनोभ (अख्मत ग्रोझ्नी), इगोर स्मोलनिकोभ (जेनिट सेन्ट पिटर्सबर्ग) र मारियो फर्नान्डेज (सीएसकेए मस्को)।
मिडफिल्डर : युरी गाजिन्सकी (क्रासनोदर), एलेक्जेन्डर गोलोभिन (सीएसकेए मस्को), एलन जागोएभ (सीएसकेए मस्को), एलेक्जेन्डर एरोखिन (जेनिट सेन्ट पिटर्सबर्ग), युरी झिर्कोभ (जेनिट सेन्ट पिटर्सबर्ग), दालेर कुजएभ (जेनिट सेन्ट पिटर्सबर्ग), रोमन जोबनिन (स्पार्टक मस्को), एलेक्जेन्डर सामेदोभ (स्पार्टक मस्को), एन्टन मिरान्चुक (लोकोमोतिभ मस्को), एलेक्जेन्डर तासाएभ (डाइनामो मस्को) र डेनिस चेरिसेभ (भिल्लारियल)।
स्ट्राइकर : आर्टिम ज्युबा (आर्सनल टुला), एलेस्की मिरान्चुक (लोकोमोतिभ मस्को), फेदर स्मोलोभ (क्रासनोदर) र फेदर चालोभ (सीएसकेए मस्को)।
प्रशिक्षक : स्टानिस्लाभ चर्चेसोभ
रुसको खेल
समूह ‘ए’
जुन १४ : साउदी अरेबियाविरुद्ध
जुन १९ : इजिप्टविरुद्ध
जुन २५ : उरुग्वेविरुद्घ
रुस
सहभागिता : ११औं पटक
उपाधि : छैन
फिफा वरीयता : ६६
प्रतिक्रिया दिनुहोस !