विदेश चहारे पनि कृषिकै भर

विदेश चहारे पनि कृषिकै भर

चौबिसे (धनकुटा) :  चौबिसे गाउँपालिका–६ राजारानीका ३४ वर्षीय दिनेशकुमार लिम्बूले चार वर्ष कतारमा बिताए। वैदेशिक रोजगारीमा जाँदाको ऋण जेनतेन तिरे पनि फर्किंदा ज्यानबाहेक केही ल्याउन सकेनन्। परिवार पाल्न विदेश गएका उनी आफूलाई नै पाल्न नसकी रित्तो हात घर फर्किएका थिए।

फर्किएपछि उनले ड्राइभिङ सिकेर साहुको सानो गाडी चलाउन थाले। तीन वर्ष गाडी चलाउँदा पनि परिवारको खर्च धान्न धौधौ प¥यो। उनी २०६७ सालमा फेरि कुवेत पुगे। कुवेत विमानस्थलमा ‘ट्रली ब्वाई’ भएर दुई वर्ष काम गर्दा पनि सोचेजस्तो कमाइ भएन। फर्किएर पोखरा गई गाडी चलाउन थाले। उनले त्यही बेला टनेलभित्र गोलभेंडा खेती गरेको देखे।

१ हजार २ सय रुपैयाँमा १० ग्राम हाइब्रिड गोलभेंडाको बीउ किनेर उनी गाउँ फर्किए। उनले टनेल बनाएर गोलभेंडा रोपे। देश, विदेशमा काम गर्दा हन्डर खाएका उनी अहिले टनेलभित्र तरकारी फलाएर वार्षिक लाखौं आम्दानी गर्छन्।

गोलभेंडा मात्र होइन, काउली, काँक्रा, खुर्सानी फलाएर गत वर्ष ९ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। ‘गोलभेंडा बेचेर ७ लाख अनि काउली र खुर्सानी बेच्दा थप २ लाख आम्दानी भयो’, उनले भने।

एउटै टनेलबाट मनग्य आम्दानी भएपछि उनले अहिले यसको संख्या ३३ वटा पु¥याएका छन्। टनेल बस्तीझैं देखिन्छन्। उनका अनुसार एउटा टनेल बनाउन कम्तीमा २५ हजार खर्च लाग्छ। भने, ‘मैले टनेलमा मात्र सवा ८ लाख रुपैयाँ खर्च गरेको छु।’

अहिले सबै टनेलभित्र गोलभेंडाको बिरुवा लगाएका छन्। अब डेढ महिनाभित्र गोलभेंडा उत्पादन सुरु हुने उनले सुनाए।

राजारानीमा टनेल विधिबाट खेती गर्न उपयुक्त मौसम रहेको उनको अनुभव छ। ‘यो ठाउँ लेक हो र यहाँ प्रायः पानी परिरहन्छ, चिसो पनि धेरै हुन्छ’, उनले भने, ‘यस्तो हावापानीमा व्यावसायिक तरकारी खेती गर्न टनेल उपयुक्त विधि हो।’

धनकुटाका दिनेशकुमार लिम्बूले तरकारी खेतीबाट गत वर्ष ९ लाख आम्दानी गरे। यसपटक १५ लाख रुपैयाँ हात पार्ने उनको लक्ष्य छ।

उनले जग्गासमेत भाडामा लिएर ५२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन्। तीन जनालाई रोजगारी दिएका छन्। कामदारलाई दैनिक ८ घण्टा कामबापत ५ सयका दरले ज्याला दिने गरेको उनले सुनाए।

उत्पादित तरकारी बेच्न समस्या छैन। ‘सुरुमा नजिकै राजारानी बजार भए पनि उत्पादनको हिसाबमा कम खपत थियो, अरू बजार खोज्न गाह्रो परेको थियो’, उनले भने, ‘सबै तरकारी धरानको कृषि बजार पु¥याउने सोच बनाएँ।’ यसो गर्दा बिचौलियाले खाने नाफासमेत आफूलाई आम्दानी भएको उनले सुनाए। भूगोलअनुसार सम्भाव्यता खोजेर तरकारी खेती गर्दा मनग्य आम्दानी हुने उनको अनुभव छ। यो वर्ष १५ लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ।

अग्र्यानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित उनले बंगुर फार्म पनि सञ्चालनमा ल्याएका छन्। १ लाख १५ हजार खर्चेर आधुनिक फार्म निर्माण गरी १५ वटा बंगुर पालेको उनले बताए। ‘गाउँठाउँमा उद्यम गर्दा छरछिमेक, आफन्त र परिवारबाट टाढा हुनु पर्दैन’, उनले भने, ‘सम्भाव्यता पहिचान गरेर खेती गर्न म अन्य युवालाई सुझाव दिन्छु।’

०००

टनेलभित्र रोपेको गोलभेंडा बिरुवा स्याहार्दै दिनेशकुमार लिम्बू।

हरिबहादुर लम्जेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.