शिक्षित हुनुको पीडा

शिक्षित हुनुको पीडा

भक्तपुरको सल्लाघारीनजिकै पंक्तिकारको नियमित कार्यालय जाने बाटोमा केही वर्षअघि एउटा व्यवसायीले आफ्नो व्यापारको विज्ञापनस्वरूप टाँसेको सूचना ‘यहाँको ठाभा डामापा ईन्छ’ ले पंक्तिकारलाई सधैं आकर्षित गरिरहन्थ्यो। व्यवसायी र उनका ग्राहकलाई सायद ती शब्दले पिर्दैनथ्यो तर भाषाविद्का लागि त्यो विज्ञापन एक असह्य पीडादायी थियो। उनीहरूको पीडाको कारण थियो उनीहरूले प्राप्त गरेको शिक्षा र आर्जेको ज्ञान। किनकि त्यहाँ लेख्न खोजिएको ‘यहाँ कोठा भाडामा पाइन्छ’ थियो।

चार्ल्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन्छु भनेको बेलादेखि अहिलेसम्म एउटै व्यक्तिले ३८ क्विन्टल सुन ओसारेका रहेछन्। बाहिरिएको सुन हराएपछि खोज्ने क्रमले नाटकीय रूप लियो र सामान्य जनसमक्ष जानकारी पुग्यो। एक्सरे यन्त्र जाँच गर्ने तल्लो तहका कर्मचारी र केही सुरक्षाकर्मी समातिए। तीन दशकसम्म केही सामान्य कर्मचारीले तस्करको सुन धमाधम भन्सारबाट छिराएको समाचार पत्याएर जनताले दंग पर्नुपरेको छ। तीस वर्षअघि पनि शोभराजको भनाइको अर्थ निकाल्न सक्ने एउटा सानो वर्ग थियो। तीस वर्षसम्म छिरेका हात्तीको संख्याको अनुमान गर्दा शोभराजको भनाइ सहजै बुझ्न सक्ने वर्गलाई असह्य पीडा हुन्छ। शिक्षित हुनु नै त्यसको मूल कारण हो।

निषेधित क्षेत्रमा मोटर कुदाउँदा मन्त्रीलाई एक ठूलै हुलले लामबद्ध भएर जयजयकार गरेको आजको युगमा देखिन्छ। प्रधानन्यायाधीशको लाइनमा रहेको सम्माननीय व्यक्तिले कार्यपालिकाका प्रमुख र व्यवस्थापिकाका सदस्य घरमा हाजिरी लगाएकोलाई स्वाभाविक मान्नेको ठूलै ताँती देख्दा एउटा सानो वर्ग भने लज्जित हुन्छ। स्वतन्त्रतापूर्वक आफ्नो पेसामा लगनशील हुने स्वतन्त्रता विश्वविद्यालयका प्राध्यापकलाई समेत छैन। विभागीय प्रमुख, डिन आदिको नियुक्तिमा राजनीतिक दलका भित्ता–भित्तामा टाँसिएका प्राध्यापकलाई प्राथमिकता दिइन्छ। राजनीतिक हस्तक्षेपलाई स्वाभाविक मान्ने र त्यसलाई सगर्व स्वीकार गर्नेको संख्या धेरै भएकाले विश्वविद्यालयमा त्यो जारी छ। त्यो बेठीक हो भन्ने स्वाभिमानी वर्ग सानो छ।

अप्राज्ञिक प्रवृत्तिको मुनि आफ्नो प्राज्ञिक स्वतन्त्रता हनन भएको मूकदर्शक भएर हेर्नु उनीहरूका लागि एक अभिशाप हो। त्यो बेठीकलाई बेठीक भन्ने दृढ विश्वासको जननी शिक्षामार्फत उनीहरूले प्राप्त गरेको दक्षता हो। विद्यार्थीलाई राजनीतिमा प्रयोग गर्नु उपयुक्त मान्नेको बहुमत भएकाले विश्वविद्यालयमा राजनीति जारी छ। कलिला बालबालिकालाई आन्दोलन गर्न वा मन्त्रीको स्वागत गर्न सडकमा उतारिन्छ। तिनीहरूको पीडा देख्न सक्ने वर्ग समाजमै सानो छ। माननीयले आफ्नो व्यवसायका हितमा आफैंले कानुन निर्माण गर्नु बेठीक हो भन्ने सानो वर्ग सडकमा संघर्षरत छ। दुर्भाग्य के हो भने त्यो वर्ग सबभन्दा शिक्षित वर्ग हो। सबभन्दा शिक्षित वर्ग नै सबभन्दा अभिशप्त भएको देशले प्रगति गरेको संसारमै उदाहरण छैन।

गणतन्त्र आएपश्चात्का कतिपय राजनीतिक घटनाहरू आलोचना गर्न योग्य छन्। दुई ठाउँबाट पराजित भएका व्यक्तिलाई प्रधानमन्त्री बनाइयो। पञ्चायतकालमै पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले मनोनीत माननीयको औचित्यमाथि संसद्मा प्रश्न उठाएका थिए। अहिले पनि सामानुपातिक प्रणालीको अनैतिक प्रयोग भएको छ। राष्ट्रपति कार्यालयसमेत राजनीतिक विवादमा देखिएको छ। संसद्मा कुर्ची तोडफोड गणतन्त्रपश्चात् देख्न पाइयो। तस्करीका घटना सेलाएका छैनन्। २०४६ सालदेखि अहिलेसम्म राजनीतिमा छाएका केही नेताहरूको आर्थिक हैसियत अकासिएको छ। सर्वहारा शब्दको परिभाषा नै दुविधायुक्त देखिएको छ। आर्थिक समृद्धिको नारामा निर्वाचन जितेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई समेत करदाताको ठूलै रकम आफ्नो स्वास्थ्योपचारमा खर्च गरेको आरोप छ। यसको खण्डन वा सोधभर्ना भएको छैन।

न्याय माग्दामाग्दै नन्दप्रसाद अधिकारीले ज्यान गुमाए। अहिले पनि न्यायकै खोजीमा रहेकी उनकी पत्नी गंगामायाले न्याय नपाउने तर एक हत्यारालाई छुटाउन भने महाशक्ति लागेको छ। गणतन्त्र, संघीयता, लोकतन्त्र, सत्ता र धन प्राप्त भएपछि पनि परिणाम देखिएन भने जनताले प्रश्न गर्छन्। यसबीच एक समालोचकले सान्दर्भिक ट्विट जनसमक्ष ल्याए। उनले लेखे, ‘राष्ट्रपति आईए फेल, प्रधानमन्त्री एसएलसी फेल, उपराष्ट्रपति टेस्ट फेल र परराष्ट्रमन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश विरलै छन्। उनीहरूको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाउँ उद्‍घाटन समारोहभन्दा अर्को छैन।’

उपयोग गर्न नजान्नेका लागि मात्र शक्ति हानिकारक हुन्छ। विद्वान्को आलोचना गरेर, प्रतिभाको अपमान गरेर, धनीको धन लुटेर, असहमतलाई शत्रु मानेर र गरिबी बाँडेर राजनीति हुन्छ तर समृद्ध भइँदैन।

ओलीले बौद्धिक वर्गलाई कोट काट्ने मुसाको संज्ञा दिए। ट्विटमा लेखिएका वाक्यहरू असत्य भए तिनको स्पष्टीकरण आवश्यक हुन्छ, नत्र राष्ट्रप्रमुखले आफ्नो आलोचकको आलोचना गर्नु ट्विटमा लेखिएको वाक्यहरूको पुष्टि हो। ओलीका यी अभिव्यक्ति माओवादी दलसँग एकीकरण भएको पूर्वसन्ध्यामा आएको एक अर्थपूर्ण छ। माओले चीनमा बौद्धिक वर्गलाई एक खतरनाक वर्ग भनेर हजारौंको हत्या गरेका थिए। आफ्ना पुर्खाले ४६० बुद्धिजीवीलाई गाडेको तर आफूले ४६ हजार बुद्धिजीवी गाडेको उनले गर्वका साथ उल्लेख गरेको इतिहासमा कैद छ।

माओकै अनुयायी पोलपोटले क्याम्बोडियामा आफूसँग असहमत शिक्षित वर्ग वा बुद्धिजीवीको सफाया गरेको तथ्य छ। बौद्धिक वर्गलाई शत्रु मान्ने माओको वनलिप फरवार्ड कार्यक्रमबाट चीनले विशाल क्षति भोग्नुपरेको थियो। माओको पतनपछि चीनले र पोलपोटको पतनपछि क्याम्बोडियाले प्रगति गरेको छ। आशा गरौं, ओलीका अभिव्यक्ति माओवादीसँगको एकीकरणको कारण आएका होइनन्। साक्षरता प्रतिशत बढी भएको क्षेत्रमा विवेकशील साझाले बढी भोट प्राप्त गरेको छ। त्यसैले बौद्धिक वर्गबाट हुन सक्ने खतरा ओलीको भय हो भने ‘७० वर्षसम्म गरिबी हटाऊ’ को अभियानमा राजनीति गरेको भारतको इतिहास स्मरणयोग्य छ।

भारतमा अदालतले दोषी मानेका अभिनेता सलमान खानलाई जेल हाल्नै नहुने भनेर राजनीतिज्ञहरूसमेतले हालै अनेक कुतर्क राखे। तीन दिनमा उनी जमानतमा छुटे। भारतकै केरला राज्यमा एक आदिवासीलाई दुई सय रुपैयाँबराबरको खाद्यान्न चोरी गरेको अभियोगमा सडकमै पिटेर मारिएको भर्खरै हो। मोटरले कुल्चेर घटनास्थलबाट भागेको अर्को मुद्दामा खानलाई अदालतले चालक खान भएको प्रमाणित गर्न नसकिएको भनेर रिहा गरिदिएको थियो। विधिको शासनको व्यापक उपहास गरिएको त्यो घटनामा धेरैले दीपावली मनाए, थोरैलाई त्यो पीडादायी भयो। त्यो बेठीक थियो भन्ने बौद्धिक वर्ग अझ पनि भारतमा सानो छ। अपराधका कतिपय घटनामा छापाको दबाब भएपछि मात्र सरकारले हस्तक्षेप गर्ने गरेको छ। जेसिकालाल हत्याकाण्ड र निर्भया बलात्कार काण्डहरू यसका उदाहरण हुन्।

भारत स्वतन्त्र भएको ७० वर्षमा आज करिब १ करोड ८० लाख भारतीय नागरिक आधुनिक दासको रूपमा जीवनयापन गर्दैछन्, करिब दुई करोड नागरिक सडकमा सुत्छन् र करिब ६ करोड नागरिकको बास फोहोर बस्तीमा छ। सबभन्दा आदरार्थी हुनुपर्ने वर्ग सबभन्दा पीडित भएपछि सक्षमले देश छोडे। गरिबी, धर्म, अन्याय र विभेद नेताहरूका लागि राजनीति गर्ने सजिलो मुद्दाका रूपमा देखिए। ७० वर्षमा भारतले जेएनयूका कन्हैया कुमार, कास्मिरका पृथकतावादी नेताहरू वा आरएसएसका हिन्दु अतिवादीजस्ता हजारौं बोलक्कड नेताहरूको भीड जम्मा गरेको छ। भारतमा इमानदारलाई भन्दा फटाहालाई राजनीति गर्न सजिलो छ। भारतमा दक्ष तालिम प्राप्त युवा, सफल पेसाकर्मी र घनाढ्य व्यापारीले भारत छोडेको उल्लेखनीय तथ्यांक छ। यसको मुख्य कारण हो, क्षमतावान् वर्गको अपमान र तिनले सहनुपर्ने पीडा। तर बिदेसिएका भारतीयको ज्ञान, सीप र उनीहरूको पुँजीको आवश्यकता भएको भारतले महसुस गरिसकेको छ।

नेपालको राजनीतिक संरचना भारतसँग व्यापक रूपले मेल खान्छ। भारतको अनुभवबाट सिकेर हामीले समयमै अवसरको उपयोग गर्नु देशको हितमा हुन्छ। करिब १४ प्रतिशत जनता संसारमा असाक्षर छन्। तिनको ९८ प्रतिशत विकासशील देशमा मात्र छन्। साक्षरतासँग जनताको आय जोडिएको हुन्छ। मानिसले गर्ने आयसँग बालमजदुरी, कुपोषण, खुसी, हिंसा आदि जोडिएका हुन्छन्। समृद्धि बलपूर्वक प्राप्त हुँदैन। समृद्धिका लागि नागरिकसँग रोजगारका विभिन्न विकल्प हुन आवश्यक हुन्छ। न्यून प्रतिव्यक्ति आय भएको देशमा राजनीतिक अस्थिरता भएको विश्व घटनाले देखाएको छ।

८० को दशकमा चीनले र ९० को दशकमा भारतले आफ्नो बजार विस्तार गरेर उन्नति गरेको तथ्यांक छ। भूमण्डलीकरणको सर्वाधिक लाभ चीनले लिएको छ। उच्च शिक्षा र रोजगारका लागि बिदेसिएका नेपालीबाट हुन सक्ने लाभ नदेखेका ओलीको मन्त्रिमण्डलका सर्वाधिक चर्चित मन्त्रीले बिदेसिएका नेपालीको अपमान गर्ने गरेका छन्। एप्पल, माइक्रोसफ्ट र गुगलजस्ता बृहत् कम्पनीमा रोजगारप्राप्त नेपाली नागरिकलाई घृणाको दृष्टिले हेर्नु नीच सोच हो। भूमण्डलीकरणको युगमा संकुचित सोच प्रगतिको वाधक हो। आफ्नो क्षमताले मागेअनुरूपको काम नपाएकाले नेपाली सफल चिकित्सक, इन्जिनियर, वैज्ञानिक वा अन्य पेसाकर्मीहरू बिदेसिएका छन्। आफूले आर्जेको दक्षताका कारण नागरिकले देश छोड्नुपर्ने भएपछि त्यो ज्ञान उसका लागि वरदान भयो कि अभिशाप ?       

त्रुटि ढाकछोप गर्नेे सैद्धान्तिक लाइनका बुद्धिजीवीभन्दा एउटा स्वतन्त्र बुद्धिजीवी असल हुन्छ। आलोचकलाई शत्रु मान्ने स्कुलिङबाट दीक्षित भएका नेताहरूले आफैंलाई परिवर्तन नगरेसम्म उनीहरूबाट परिवर्तन सम्भव हुँदैन। २०१५ सालका बीपी कोइरालापछिका शक्तिशाली नेताका रूपमा जनताले ओलीलाई लिएका छन्। लोकप्रिय प्रधानमन्त्रीले आलोचनालाई एक ऐनाका रूपमा लिनु उत्तम हुन्छ। पाँच वर्ष सरकार मात्र चलाए पनि ओलीले एक इतिहास रच्नेछन्। बौद्धिक वर्ग देशको उन्नतिका लागि चाहिने इन्धन हो। इन्धनले शक्ति दिन्छ। नेतृत्वसँग त्यो शक्तिको बृहत् उपयोग गर्ने क्षमता हुनुपर्छ। उपयोग गर्न नजान्नेका लागि मात्र शक्ति हानिकारक हुन्छ। विद्वान्को आलोचना गरेर, प्रतिभाको अपमान गरेर, धनीको धन लुटेर, असहमतलाई शत्रु मानेर र गरिबी बाँडेर राजनीति हुन्छ तर समृद्ध भइँदैन।

—भट्ट अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालमा एसोसिएट प्रोफेसर छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.