रुपनारायणलाई फालेर यातायात विभागमा सिंहलाई कामु डिजीको जिम्मेवारी
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) रुपनारायण भट्टाईलाई फालेर प्रेम सिंहलाई कामु महानिर्देशको जिम्मेवारी दिएका छन्।
सह–सचिव भट्टराईलाई मन्त्रालयमा जगेडा राख्दै मन्त्री महासेठले आफूलाई अनुकुल हुने गरी सिंहलाई कामु डिजीको जिम्मेवारी दिएका हुन्। यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण काम गरेका तत्कालीन डिजी भट्टराईलाई मन्त्री महासेठले मन्त्रालयमा तानेका थिए।
भट्टराईले मन्त्रालयमा हाजिर गर्न नजाने बताएपछि उनलाई फेरि सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयमा सरुवा गरेको थियो। भट्टराई श्रम मन्त्रालयमा हाजिर नहँुदै फेरि केही दिनअघि उनलाई यातायात मन्त्रालयमै तानिएको थियो। बिहीबार उनै सह–सचिव भट्टराईलाई मन्त्रालयमा जगेडामा राखेर मन्त्री महासेठले उप–सविच सिंहलाई कामु महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
सुरुमा मन्त्री महासेठले सार्वजनिक यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि कडा भएको भन्दै भट्टराईलाई मन्त्रालयमा तानेका थिए। भट्टराईलाई मन्त्रालय तानेपछि विभाग नेतृत्व विहिन भएका बेला मन्त्री सेठले सडकको क्षमताभन्दा बाहिर गएर प्राविधिकको रिपोर्ट लत्याउँदै बिपी राजमार्गमा ३२ सिटका ठूला गाडीलाई रुट इजाजत दिइसकेका छन्।
मन्त्रीको यो निर्णयको चौतर्फी आलोचना भइरहेका बेला उनले सिंहलाई कामु महानिर्देशकको जिम्मेवारी दिएका हुन्। मन्त्री सेठले बिपी राजमार्गमा ३२ सिटका सवारी साधनलाई रुट इजाजत दिँदा आर्थिक चलखेल आरोप छ।
मन्त्री महासेठको ‘मनपरी’: रिपोर्ट लत्याउँदै बिपी राजमार्गमा ठूला गाडीलाई अनुमति