स्कुलका विद्यार्थीलाई विश्वकप लाग्यो

स्कुलका विद्यार्थीलाई विश्वकप लाग्यो

इटहरी : रुसमा हुन लागेको विश्वकपको माहोल निकै तातेको छ। सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा विश्वकप मय भइसकेका छन्। फुटबलप्रेमीहरू आफ्नो टोलीले जित्ने दाबी गरिरहेका छन्।

युवाहरू मात्र नभएर प्रौढ र बालबालिकासमेत फुटबलको रौनकमा रमाउन थालेका छन्। शुक्रबार दिउँसो इटहरीस्थित पशुपति इङ्लिस बोर्डिङ स्कुलमा यस्तै माहोल देखियो।

विद्यालयमा विभिन्न देशको झन्डा टांगिएको थियो। छेवैमा विश्वकपका हालसम्मका विजेता राष्ट्रका बारेमा जानकारी समेटिएको बोर्ड राखिएको थियो। यसैगरी विद्यार्थी पनि जर्सीमा सजिएका थिए। विद्यालयका खेलप्रेमी विद्यार्थी र शिक्षकले विभिन्न टिमको जर्सी लगाएका थिए। उनीहरू आफूलाई मनपर्ने फुटबल टिमलाई सपोर्ट गरिरहेका थिए।

धेरैजसो विद्यार्थीले अर्जेन्टिनाको जर्सी लगाएका थिए। ‘विद्यालयमा फुटबल भन्नेबित्तिकै मेसी बुझ्ने विद्यार्थी धेरै छन्,’ अर्जेन्टिनाको जर्सी लगाएका विद्यालयका प्रिन्सिपल तथा प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले भने, ‘उनीहरू मेसीलाई चिन्छन्, त्यसैले धेरैले अर्जेन्टिनाको जर्सी लगाएका छन्।’ अर्जेन्टिनापछि ब्राजिलका समर्थक धेरै थिए। अघिल्लो पटकको विश्वकप विजेता जर्मनीका समर्थक पनि उलेख्य नै थियो। यीबाहेक अन्य देशको जर्सी भने केहीले मात्र लगाएका थिए।

झन्डै दुई सय विद्यार्थी विश्वकप अवधिभरि हरेक शुक्रबार जर्सीमा देखिने विद्यालयका प्रिन्सिपल थापाले बताए। रुसमा विश्वकप चलिरहेका बेला विद्यालयमा पनि विश्वकपसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए। ‘विद्यार्थीलाई खेलमा रुचि जागोस् भनेर विद्यालयलाई विश्वकप अवधिभर फुटबलमय बनाउन लागिएको हो,’ थापाले भने, ‘प्रत्येक दिन एसेम्ब्ली हुनुअघि विश्कपका बारेमा जानकारी दिइनेछ।’

यसका साथै विद्यार्थीले साप्ताहिक रूपमा तयार पार्ने भित्तेपत्रिकामा पनि विश्वकपका विषयमा सामग्री तयार पार्ने प्रतिस्पर्धा राखिएको प्रिन्सिपल थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.