रोहिंज्याले हिन्दुको नरसंहार गरेको दाबी
यांगुन : रोहिंज्याले म्यान्मामा अल्पसंख्यक हिन्दुमाथि अत्याचार गरेको एमनेस्टी इन्टरन्याशनलले जनाएको छ ।उनीहरूको अत्याचार बढेपछि म्यान्माको सेनाले उनीहरूविरुद्ध कारबाही शुरु गरेको हो । हाल उनीहरू म्यान्माको सेनाले आफूहरूमाथि अत्याचार गरेको भनेर बंगलादेश र भारतमा शरणार्थी बनेका छन् । कैयौं रोहिंज्या नेपालमा पनि प्रवेश गरेका छन् । रोहिंज्याका लागि भनेर लड्दै आएको सशस्त्र समूहसँग मिलेर उनीहरूले हिन्दुको नरसंहार गरेको एमनेस्टीले खुलासा गरेको छ । उनीहरूले म्यान्मास्थित अल्पसंख्यक हिन्दु बस्तीमा आगो लगाउने, हत्या गर्ने र महिलालाई बलात्कार गरेका थिए ।
एमनेस्टीको प्रतिवेदनअनुसार ज्यान जोगाएर भाग्न सफल कैयौं महिलाले २५ अगस्त सन् २०१७ मा राति ८ बजे रोहिंज्याको सैनिक दस्ता (अराकान रोहिंज्या साल्भेशन)ले अह नाक खा गाउँमा हिन्दुलाई घेरा हालेर आक्रमण गरेका थिए । रोहिंज्याहरू केही कालो पोशाकमा त कुनै सादा पोशाकमा आएको ती महिलाले बताएका छन् । उनीहरूले त्यति बेला गाउँमा रहेका ६९ जना पुरुष, महिला र बालबालिकालाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए । सशस्त्र रोहिंज्याले केही घण्टामै प्रायः सबै पुरुषको हत्या गरेका थिए । महिलाहरूलाई आफूसँग राखेर बलात्कार गरेका थिए ।
२२ वर्षीया बीना बाला भनिन्, ‘रोहिंज्याले नियन्त्रणमा राखेर बंगलादेश ल्याइएका ८ अभागी महिलामध्ये म पनि एक हुँ । बिहानको समय थियो, म पूजा गरिरहेकी थिएँ । उनीहरू मेरो घरमा छिरे । तीमध्ये केही कालो कपडामा थिए । मैले केहीलाई चिनेँ...... हाम्रै गाउँका पनि थिए ।’
उनीहरूले सबैका मोबाइल फोन कब्जामा लिएको र सबैलाई बाहिर उभ्याएको बीनाले बताइन् । त्यहाँ उभ्याइएका सबै हिन्दु धर्मावलम्बी भएको उनले एमनेस्टीलाई जानकारी दिइन् । रोहिंज्यासँग हतियार भएको र फलामका छड भएको पनि उनले बताइन् । सबैलाई हजारौंको संख्यामा आएका रोहिंज्याले हात पछाडि बाँधेको र आँखामा पट्टी बाँधेको उनको भनाइ छ । उनले भनिन्, ‘किन यसो गरिरहेका छौं भनेर सोधेँ, तिनीहरूले हामी अर्को धर्मका भएको र त्यहाँ बस्न नहुने भन्दै पिट्न शुरु गरे । हामीसँग भएका सबै गरगहना र पैसा लुटेर लगे ।’
त्यो दिन हिन्दु धर्मावलम्बी बसोवास भएको अर्को गाउँ ये बाक क्याबाट ४६ पुरुष, महिला र बालबालिका बेपत्ता पारिए । अहिलेसम्म उनीहरूको केही अत्तोपत्तो छैन । त्यस गाउँकी २४ वर्षीया रीका धर पनि घरै थिइन् । उनले एमनेस्टीलाई भनिन्, ‘हामीले भाग्ने मौकै पाएनौं । रोहिंज्या मुसलमानले हाम्रा गहना लुटे..... आँखामा पट्टी बाँधे र हात पनि पछाडि फर्काएर बाँधे ।’ रीकाले पनि आक्रमणकारी रोहिंज्या परिचित नै भएको बताइन् ।
रोहिंज्याले सबैलाई घरबाट बाहिर निकालेर नागरिकता जस्तै राष्ट्रिय पहिचान पत्र लुटेर जलाइदिए । उनीहरूले हिन्दु पुरुष र महिलालाई अलग गरे । बालबालिकालाई भने महिलासँगै राखे । त्यसपछि महिलालाई उनीहरूले जंगलमा लगेका थिए । यसै बेला ५३ जनाको हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । हत्या गरिनेमा २० पुरुष, १० महिला र २३ बालबालिका थिए । २४ जना बालबालिका आठ वर्षमुनिका रहेका जनाइएको छ ।
त्यो समूहमा जम्मा १६जना जीवित छन् । ८ महिला र ८ बालबालिकाले इस्लाम धर्म मान्न तयार भएको र सशस्त्र रोहिंज्यासँग विवाह गर्न तयार भएको बताएका थिए । २० वर्षीया फर्मीलाले एमनेस्टीलाई भनिन्, ‘उनीहरूले तरवार ल्याएका थिए । तिनमा रगत लत्पतिएको थियो । हाम्रा श्रीमान्लाई मारिसकेका बताए ।’
यसैगरी १८ वर्षीया राजकुमारीले भनिन्, ‘रोहिंज्याले सबै हिन्दु पुरुषको हत्या गरे । हामीलाई त्यता नहेर्न भनेका थिए । हामी झाडीमा लुकेका थियौं । मेरा बाबु, दाजु, काका सबैलाई मारे । पुरुषको हत्यापछि उनीहरूले भनेको नमान्ने कैयौं महिलाको पनि हत्या गरे ।’
फर्मीलाका अनुसार स्थिति निकै भयावह थियो । उनले भनिन्, ‘कुनै रोहिंज्याले महिलाको चुल्ठो तानिरहेका थिए र अर्कोले उनको घाँटीमा तरवार प्रहार गर्दै थियो ।’ रोहिंज्या आतंकवादीले म्यान्माको रखाइन प्रान्तका कसरी हिन्दुको नरसंहार गरेका थिए भन्ने खुलासा भएको एमनेस्टीले जानकारी दिएको छ । त्यो रातमात्रै ९९ जना हिन्दु पुरुषको बिभस्त हत्या गरिएको थियो ।
२८ अगस्तमा रोहिंज्याले बंगलादेश पुगेपछि ८ जना हिन्दु महिलाको जबरजस्ती फर्जी भिडियो बनाएका थिए । उनीहरूले त्यो भिडियोमा म्यान्माको सेनाले बलात्कार गरेको भन्न लगाएका थिए । बीना बालाले भनिन्, ‘यदि कसैले सोधेमा यो सबै म्यान्माको सेनाले गरेको भन्नु, साँचो भन्यौ भने तिमीहरूको ज्यान रहने छैन ।’ केही समयपछि यो भिडियो फेसबुकमा पोस्ट गरिएको ती पीडित महिलाले जानकारी दिए । त्यो पोस्ट देखेपछि रखाइनमा रहेका हिन्दु महिलाले बंगलादेशमा रहेका आफ्ना साथीहरूलार्ई जानकारी दिएपछि बंगलादेशमा उनीहरूको खोजी भएको थियो । त्यसपछि बंगलादेश पुर्याइएका हिन्दु शरणार्थीलाई रोहिंज्याबाट अलग राखिएको थियो । उनीहरूलाई अक्टोबरमा म्यान्मा फिर्ता गरिएको थियो । रोहिंज्याले तिनै हिन्दु महिलालाई देखाउँदै म्यान्माली सेनाले हिन्दुलाई अत्याचार गरेको भनेर भ्रम खडा गर्न सफल भएका थिए ।
यसअघि सेप्टेम्बरमा पनि रोहिंज्याले अल्पसंख्यक हिन्दुको हत्या गरेर गाडेका सामूहिक चिहान एमनेस्टीले फेला पारेको छ । शुरुमा रोहिंज्याको सामूहिक चिहान हुनसक्ने भन्दै उत्खनन गरिएको थियो । पछि ती चिहानघारी रोहिंज्याद्वारा हत्या गरिएका हिन्दुको भएको खुलासा भएको हो ।
प्रतिक्रिया दिनुहोस !