हवाई यात्रु संख्या बढ्दो

हवाई यात्रु संख्या बढ्दो

काठमाडौं : आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्यामा वृद्धि आएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा सन् २०१८ को जनवरीदेखि मार्चसम्म हवाई यात्रा गर्ने संख्यामा उल्लेख वृद्धि आएको हो। कार्यालयका अनुसार पहिलो तीन महिनामै अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या १५ प्रतिशत र आन्तरिक हवाई यात्रुको संख्या १९ प्रतिशतले बढेको छ।

सन् २०१८ को जनवरीदेखि मार्चसम्म कुल ११ लाख चार हजार तीन सय ६९ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न स्थानमा हवाई यात्रा गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। तीन महिनामा विश्वका विभिन्न स्थानबाट हवाई मार्ग हुँदै आउने हवाई यात्रुको संख्या पाँच लाख ६० हजार जना छ।

यसैगरी सोही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न सहरमा जाने हवाई यात्रुको संख्या पाँच लाख ४४ हजारभन्दा बढी छ। तर, सन् २०१७ को पहिलो तीन महिनामा नौ लाख ३८ हजार आठ सय ४३ जना मात्रै अन्तर्राष्ट्रिय हवाई यात्रु थिए।

यसैगरी सन् २०१८ को तीन महिनामा आन्तरिकतर्फ देशका विभिन्न स्थानमा हवाई यात्रा गर्ने यात्रुको संख्या ६ लाख १० हजार चार सय ८७ पुगेको छ। तर, सन् २०१७ को जनवरीदेखि मार्चसम्म आन्तरिकतर्फ हवाई यात्रा गर्नेको संख्या चार लाख ९५ हजार आठ सय १० मात्रै थियो।

विमानस्थल कार्यालयका अनुसार सन् २०१८ को पहिलो तीन महिनामा मात्रै त्रिभुवन विमानस्थल हुँदै बाहिरिने हवाई यात्रुको संख्या तीन लाख २० हजारभन्दा बढी छ भने काठमाडौं आउनेको संख्या दुई लाख ९० जना रहेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। 

उडान संख्या पनि बढ्दो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिमा कुनै प्रगति नभए पनि उडान संख्यामा भने निरन्तर बढिरहेको छ। सन् २०१८ को पहिलो तीन महिनामै अन्तर्राष्ट्रिय उडान तर्फमात्रै आठ हजार ६ सय ६६ वटा जहाजको उडान तथा अवतरण भएको छ। उडान संख्यामा पनि अन्तर्राष्ट्रियतर्फ सन् २०१८ को पहिलो तीन महिनामा ६ प्रतिशत वृद्धि भएको छ। तर, सन् २०१७ को जनवरीदेखि मार्चसम्म अन्तर्राष्ट्रिय उडानतर्फ आठ हजार एक सय ४८ वटा मात्रै उडान भएका थिए। यसैगरी विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीका अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक उडानतर्फको उडानमा समेत ७ प्रतिशतले वृद्धि भएको छ। सन् २०१७ को जनवरीदेखि मार्चसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुल १९ हजार तीन सय ४४ वटा उडान तथा अवतरण भएको थियो। तर, यो संख्या सन् २०१८ को पहिलो तीन महिनामा बढेर २० हजार आठ सय पाँच पुगेको छ।

तीन महिनामै अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या १५ प्रतिशत र आन्तरिक हवाई यात्रुको संख्या १९ प्रतिशतले बढेको छ।

विमानस्थलको पूर्वाधारमा कुनै प्रगति नभए पनि कार्यालयले सक्दो उडान गरेको क्षेत्रीको भनाइ छ। ‘१८ घन्टा सञ्चालनमा रहेका विमानस्थलको सञ्चालको अवधि २१ घन्टा भएको छ’, क्षेत्रीले भने, ‘उडान तथा अवतरण संख्या अझै बढ्छ।’

तेस्रो स्थानमा नेवानि

सन् २०१६ अन्तर्राष्ट्रिय उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्रु बोक्न सफल भएको राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगम सन् २०१८ को पहिलो तीन महिनामा आइपुग्दा तेस्रो स्थानमा झरेको छ।

सन् २०१७ मा नेवानि दोस्रो स्थानमा थियो। तर, नेवानिको एयरबसमा आएको समस्याका कारण यात्रु संख्या गुमाउँदै गएको हो। सन् २०१८ मा केही तल परे पनि सन् २०१९ देखि भने पहिलो स्थानमा उक्लने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन्।

जुन २८ मा नेपालले खरिद गर्न लागको दुई वटा वाइडबडी जहाजमध्ये पहिलो जहाज आइपुग्ने र जुलाईदेखि नियमित उडान भएपछि यात्रुको संख्यामा उल्लेख सुधार आउने उनको दाबी छ। नेवानिले सन् २०१८ को पहिलो तीन महिनामा ८९ हजार दुई सय १४ जना यात्रुको ओसारपोसार गरेको छ।

यो संख्या सन् २०१८ को पहिलो तीनमा हवाई यात्रा गर्नेको कुल संख्याको आठ प्रतिशत हो। सन् २०१८ को पहिलो तीन महिनामा सबैभन्दा बढी यात्रु भारतीय एयरलाइन्स जेट एयरवेजले बोकेको छ। जेट एयरवेजले तीन महिनामै आठ सय ८६ वटा उडान गर्दै एक लाख २७ हजारभन्दा बढी यात्रुलाई सेवा दिइएको छ।

यसैगरी दोस्रो बढीमा कतार एयरवेजले सात सय १८ वटा उडान तथा अवतरण गर्दै एक लाख पाँच हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ। यसैगरी चाथौ स्थानमा रहेका फ्लाई दबुइले ७२ हजार आठ सय र नेपालको निजी हवाई सेवा प्रदाय हिमालय एयरलाइन्सले ६४ हजार यात्रुलाई सेवा दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ वटा एयरलाइन्स कम्पनीले उडान अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। यसमा नेपाली वायुयान कम्पनीमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर छन्।

आन्तरिक उडानमा प्रतिस्पर्धा

आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने प्रतिस्पर्धा देखिएको छ। धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भिœयाइरहेको देखिन्छ। आन्तरिक उडानका जहाजको संख्या ४० भन्दा बढी पुगिसकेको छ। अझै केही जहाज थपिने क्रममा छन्। यसले आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जव थापा बताउँछन्। आन्तरिक उडानमा सुरु भएको प्रतिस्पर्धासँगै नयाँ एयरलाइन्सको आगमनले सबै एयरलाइन्स कम्पनीको बजार हिस्सा घटेको उनको भनाइ छ। बजार हिस्सा घटे पनि हवाई यात्र गर्ने यात्रुको संख्यामा भने निरन्तर बढेको उनको भनाइ छ। आन्तरिक उडानमा देखिएको प्रतिस्पर्धाले यात्रुलाई त फाइदा भएको छ। तर, विमान कम्पनीको नाफामा भने कमी आउन थालेको थापा बताउँछन्। अहिलेको प्रतिस्पर्धालाई हेर्दा कतै आन्तरिक उडानमा ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको उनको भनाइ छ।

सन् २०१८ को पहिलो तीन महिनामै कुनै समय पचास प्रतिशतसम्म बजार हिस्सा आगेटन सफल भएको बुद्ध एयरलाइन्सको हिस्सा समेत घटेको छ। आन्तरिक उडानका पहिलो तीन महिनामा बुद्धले कुल दुई लाख ८० हजार पाँच सय १३ यात्रुलाई सेवा दिएको छ। यो कुल हवाई यात्रुको ४५.९४ प्रतिशत हुन आउँछ।

यसैगरी दोस्रो बढी यात्रु बोक्न सफल यती एयरलाइन्सलले तीन महिनामा एकलाख ४८ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ। यसैगरी एक वर्ष अगाडिबाट मात्रै आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सले ८३ हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै तेस्रो स्थानमा ओगट्न सफल भएको छ। यसैगरी पाँचौ स्थानमा रहेको सौर्य ३५ हजार र छैठौं स्थानका रहेको नेपाल एयरलाइन्सले १८ हजार तीन सय ८१ जना यात्रुलाई सेवा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.