सम्पदा दोहन नियन्त्रण गर्न प्रहरीको विशेष टोली

सम्पदा दोहन नियन्त्रण गर्न  प्रहरीको विशेष टोली

विराटनगर : पछिल्लो समय प्राकृतिक सम्पदामाथि बढिरहेको दोहन तत्काल नियन्त्रण गर्न गृह मन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि मोरङ प्रहरीले सक्रियता बढाएको छ। 

 
प्रदेश १ को सुरक्षा गोष्ठीमा गृह मन्त्री थापाले गत शुक्रबार खोला नालामा भइरहेको अवैध उत्खनन् र नदीजन्य पदार्थको गैर कानुनी ओसारपसार नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई कडा निर्देशन दिएका थिए। 

उनले उत्खनन् र ओसारपसारमा प्रयोग गरिएका साधन तथा त्यसमा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारवाहीको दायरामा ल्याउन कुनै पनि सम्झौता नगर्न निर्देशन दिएसँगै प्राकृतिक स्रोतसाधनमाथिको दोहन नियन्त्रणमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ। 

दोहनसँगै ढुँगा र बालुवाको तस्करी बढ्दै गएको पाइएपछि मोरङका खोलानालामा प्रहरीले कडाई गर्न थालेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पछिल्लो समय विभिन्न खोलानालाबाट ढुँगा र बालुवा अवैध रुपमा उत्खनन् हुने क्रम बढेको जानकारी दिए।

'कतिपय खोलामा अनुमति लिइएको भए पनि मापदण्ड मिचेर उत्खनन् गर्ने गरिएको पाइयो,'उनले भने, 'कतिपय खोलामा नदीजन्य पदार्थ उत्खननको अनुमति नै लिइएको छैन।' केसीका अनुसार अनुमति लिइएका खोलामा पनि जेसीवी र डोजरको प्रयोग गरेर उत्खनन् गर्न पाइँदैन। 

अनुमति प्रदान गरिएका खोलामा एक घन मिटरसम्म मात्रै उत्खनन् गर्न पाउने नियम भए पनि उत्खनन् गर्नेले तीन घन मिटरभन्दा बढी बनाएर उत्खनन् गरेर गहिरा खाल्डा बनाउने गरेको जानकारी उनले दिए। 
 
'तस्करीमा संलग्नले वन क्षेत्रका खोलामा जेसीवी र डोजर नै प्रयोग गरेर तथा ट्रयाक्टर र ट्रिपरनै हालेर ढुंगा, बालुवा उत्खनन् र ओसारपसार गर्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो,' एसपी केसीले भने, 'निजी र चुरे क्षेत्रबाट बालुवा र ढुंगा तस्करी रोक्न तथा प्राकृति सम्पदामाथिको दोहन नियन्त्रण गर्न प्रहरीको अलगअलग टोली खटाइएको छ।'

प्रहरीले बढी मात्रामा तस्करको आँखा पर्दै आएको गछिया, खदम, बक्राहा, चिसाङ, बुढी, डाँस, मावा, नुनसरी, लोहन्द्रालगायतका दर्जनौ खोलामा निगरानी बढाएर त्यहाँ हुने दोहन नियन्त्रण गर्ने योजना बनाएको छ।

दोहनमा प्रयोग गरिएका साधन तथा त्यसमा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाउँदै अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको तस्करी नियन्त्रण गर्न थालिएको केसीले बताए। 'मुख्य चार, पाँचवटा खोलामा तस्करीमा संलग्नले आँखा गाड्ने गरेको पाइयो,' उनले भने, 'ती खोलालाई प्रहरीले आफ्नो घेरामा राखेर अवैध ओसारपसार हुनबाट रोक्न थालेको छ।'

कसैले प्रहरीको आँखा छल्ने प्रयास गरेमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाउन सबै प्रहरी युनिटलाई निर्देशन समेत दिइसकेको केसीको भनाइ छ।कतिपय ठाउँमा प्रहरीकै मिलेमतोको कुरा पनि उठिरहेको बताउँदै उनले भने, 'प्राकृति स्रोत दोहन नियन्त्रणमा प्रहरीले भिन्दै र विशेष अप्रेशन चलाउन थालेको छ। 

अवैध धन्दामा मिलेमतो गर्ने प्रहरीको पनि खैरत छैन।' मोरङका खोलाका बालुवा र ढुँगा भारततर्फ तस्करी हुने गरेको भन्दै प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले पनि तस्करी नियन्त्रणमा कमिकमजोरी देखिए प्रहरीलाई नै कारवाही गर्ने चेतावनी दिएका छन्। 

ढु्ंगा र बालुवा निकाल्नका लागि मोरङका खोलानाला गत असोजमै ठेक्का लागिसकेका  छन्। आवधिक क्षेत्रका खोला ठेक्का लागे पनि चुरे र वन क्षेत्रका खोला ठेक्का लाग्दैन। राष्ट्रिय महत्व र गौरवका आयोजनामा अति आवश्यक पर्ने भएमा वातावरणीय प्रभावलाई प्रतिकूल नहुने गरी प्राविधिकको निगरानीमा उपयोग गर्ने बाहेक चुरे क्षेत्रको ढुँगा र बालुवा ओसारपसार र उत्खनन् गर्न नपाइने विज्ञहरुको भनाइ छ। 

प्रहरीका अनुसार ठेक्का नलाग्ने चुरे र वन क्षेत्रबाट समेत तस्करीमा संलग्नले सक्रियता बढाएर प्राकृतिक सोत साधनमाथिको दोहन बढाएका छन्। खोला ठेक्का लिएर अवैध रुपमा दोहन गर्नेलाई पनि नियन्त्रणमा लिएर कारवाही अघि बढाउने तयारी प्रहरीले गरेको छ। 

ठेक्का लागिसकेका खोलामा पहिल्यै ढुँगा र बालुवा निकालिसकिएका कारण पछिल्लो समय तस्करको नजर चुरे एवं वन क्षेत्रका खोलानालातर्फ सोझिएको निस्कर्ष प्रहरीले निकालेको छ। निजी क्षेत्रबाट समेत बालुवा र ढुँगा निकाल्न स्थानीय निकाय वा जिल्ला समन्वय समितिको अनुमति लिनु पर्छ। 

'प्रक्रिया पूरा गरेर उत्खनन् गर्न सहज नहुने भएपछि तस्करहरुले सिधै चोर बाटो प्रयोग गर्दा रहेछन्,' एसपी केसीले भने, 'त्यही भएर पूर्वपश्चिम राजमार्ग उत्तरमा रहेका चुरे र वन क्षेत्रमा पर्ने खोलामा प्रहरीले विशेष निगरानी बढाएको हो।' 

प्रहरीले एक साताको अवधिमा अवैध उत्खनन्मा प्रयोग गरिएका आठवटा जेसीवी र ३१ वटा टिपर तथा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समिति मोरङमा बुझाएको छ। शुक्रबार मात्र केरावारी गाउँपालिका १० स्थित खदम खोला र केरावारी ३ स्थित हचुवा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा ढुवानी र उत्खनन्मा प्रयोग गरिएका साधन नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक दिपक यादव नेत्रृत्वको टोलीले को १ क २२४० नम्बरको जेसीवी र ना ६ त ४२७५ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि बुझाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.