जेलबाट छुटेलगत्तै अपराधमा, गोली हानेर साढे ९ लाख लुट्ने समातिए
धनगढीः जेठ १३ गते विहान साढे ९ बजेतिर धनगढीको मुख्य बजारमै गोली हानेर साढे ९ लाख लुटपाट गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का कल्लु भनिने कालु रानालाई कैलाली प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।
उनीसँगै धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका रामप्रवेश रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले कल्लु रानाले गोली हानेको स्वीकार गरिसकेको बताए ।
कहाँ भयो लुटपाट ?
प्रदेशको राजधानी धनगढीमा जेठ १३ गते विहान साढे ९ बजेतिर ट्राफिक चोक नजिकै रहेको आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली हानेर उनको साथबाट साढे ९ लाख रकम लुटपाट गरिएको थियो ।
सिद्धार्थ बैंकबाट रकम झिकेर साइकलमा झण्ढै ५ सय मिटर टाढा रहेको आईएमईतिर गइरहेका बेला उनलाई सिद्धार्थ बैंकदेखि झण्डै २ सय मिटरको दुरीमा रहेको सेन्चुरी बैंक नजिकै गोली हानिएको थियो ।
उनको दाँया हातबाट सेती अञ्चल अस्पतालका चिकित्सकको टोलीले शल्यक्रिया गरेर गोली निकालेका थिए । कार्कीको अवस्था सुधार भइरहेको छ ।
उग्रसेन जेलबाट छुटेपछि अपराधमै
यसअघि कैलाली प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ का उग्रसेन राना र त्यही ठाउँका राजकुमार चौधरीलाई गोलीकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । राजकुमार चौधरीलाई जेठ १५ गते र उनको बयानका आधारमा उग्रसेन रानालाई जेठ १६ गते पक्राउ गरिएको थियो ।
उग्रसेन रानाले दिएको बयानका आधारमा प्रहरीले काठमाडौंैबाट कल्लु राना र उनको साथमा रहेका राम प्रवेश रानालाई पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । ‘उग्रसेन रानाले दिएको बयानका आधारमा केन्द्रीय अपराध अनुसन्धान विभागको प्रहरीको सहयोगमा कल्लुलाई पक्राउ गर्न सफल भएका हौँ’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने ।
उग्रसेन राना डाँका चोरीकै मुद्दामा दुई महिनाअघि मात्रै कञ्चनपुर कारागारबाट सजाय भुक्तान गरेका ब्यक्ति भएको प्रहरीले जनाएको छ । उनले डाँका चोरीको मुद्दामा साढे चार वर्ष जेल सजाय काटेको प्रहरीले जनाएको छ । धनगढी बजार नजिकै रहेको कञ्चनपुरको डोके बजारको लुटपाटमा पनि उग्रसेनको संलग्नता रहेको थाहा भएपछि प्रहरी उनको खोजीमा थियो ।
प्रहरीले उग्रसेनले जेलबाट निस्केपछि आपराधिक क्रियाकलापमा संलग्न अर्का ब्यक्ति राजकुमार चौधरीको संगत गरेको जनाएको छ । प्रहरीका अनुसार राजकुमार पनि चोरीका मोटरसाइकल, गाडी, हातहतियार ओसारपसार गर्ने ब्यक्ति हुन्् । कल्लुले गोली हान्नका लागि प्रयोग भएको खैरो रंगको अपाची मोटरसाइकल पनि राजकुमारले नै उपलब्ध गराएको प्रहरीले जनाएको छ ।
भेटियो मोटरसाइकल
काठमाडौंमा कल्लु पक्राउ परेपछि, उनकै बयानका आधारमा सोमबार नै उक्त मोटरसाइकल बैलौरीबाट बरामद भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्न प्रयोग भएको उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ ।
सिसी टिभीले सजिलो
नेपाल प्रहरीले गोली हानिएको पुरानो भन्सार रोड जाने बाटो नजिकैको एकजना ब्यपारिको सिसी क्यामेराको फुटेजका आधारमा मोटरसाइलको पहिचान गरेको थियो । ‘गोली हानिएको बेलाको सिसी क्यामेराको फुटेज, एकजना ब्यवसायीबाट पाइएको थियो, अनुसन्धानको मुख्य आधार नै त्यही भयो’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने । उनले गोली हानिएको स्थानमा एउटा मात्रै मोटरसाइकल चलेको देखिएकाले अनुसन्धानमा सजिलो भएको बताए ।
कैलाली प्रहरीले उग्रसेन रानाको बयान पछि जेठ १७ गते प्रहरी निरीक्षक भरत गिरीको नेतृत्वमा प्रहरी टोली काठमाडौं पठाएको थियो । प्रहरीले कल्लुसँग मोटरसाइकलमा बसेको ब्यक्तिको पहिचान भने गर्न सकेको छैन ।कल्लुले खोल्ला रहस्य ?
कल्लुले गोली हानेको र सबै योजनाकार कल्ल रहेको बयान उग्रसेनले दिएपनि अरु धेरै कुरा नखोलेको प्रहरी उपरीक्षक घिमिरेले बताए । ‘सबै कुरा कल्लु रानालाई थाहा छ, मैले भन्यो भने कल्लुले मलाई मारिदिन्छ भन्दै उग्रसेनले धेरै कुरा खोलेको छैन, कल्लु बाटोमै छ, आएपछि सबै कुरा खुली हाल्छ’ प्रहरी उपरीरक्षक घिमिरेले भने ।
कल्लु र रामप्रवेशलाई सोमबार बेलुकी श्री एयरलाइन्सको उडानबाट धनगढी ल्याइएको छ । प्रहरीले केही रकम कल्लुको साथबाट बरामद भएको र बाँकी रकम तथा गोली हान्न प्रयोग गरिएको हतियारको खोजी भइरहेको जनाएको छ ।
‘काठामाडौंबाट धनगढी पुगेलगत्तै प्रहरीले दुवैजनालाई हतियार लुकाएको र रकम राखेको स्थानतिर लगेको छ, रातिसम्म रकम र हतियार फेला पर्न सक्ने आशा गरेका छौं,’ एकजना प्रहरी अधिकृतले भने । प्रहरीले घटनाको विस्तृत विवरण मंगलबार मात्रै सार्वजनिक गर्ने जनाएको छ ।