श्रृंखलावद्ध लुटपाट गर्ने गिरोह पक्राउ
सिमराः श्रृंखलाबद्ध रुपमा बाराको सिमरालगायत आसपासका क्षेत्रमा लुटपाट र चोरीडकैती गर्दै आएको एक समुहलाई सिमरास्थित ईलाका प्रहरी कार्यलयले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका भित्रका धनमाल लुटपाट गरी फरार रहदै आएको संगठित गिरोह मध्येका सात जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका ७ का २४ बर्षिय रामजी महतो, जीतपुरसिमरा उपमहानगरपालिका ७ का २६ बर्षिय ममताज खान, १७ बर्षिय ओमप्रकाश शर्मा, सिम्रौनगढ नगरपालिका ६ का ३० बर्षिय नेजामुद्धि अंसारी, चितवनको खैरेनी नगरपालिका ७ का १७ बर्षिय रोशन श्रेष्ठ, बाराको परवानीपुर गाउपालिका ३ का २७ बर्षिय दिलिप साह र २४ बर्षिय कन्हैया साह रहेका छन्।
पछिल्लो एक बर्षयता जीतपुरसिमरा उपमहानगरपालिका भित्रका आधा दर्जन भन्दा बढी स्थानियको घरमा भएका लुटपाटका घटनामा उनिहरुको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार गत बर्ष असोज २५ गते जीतपुरसिमरा उपमहानगरपालिका १ का राजन केसीको घरमा ताल्चा फुटाएर १७ तोला गहना र नगद गरी १२ लाख बराबरको धनमाल लुटपाट भएको थियो।
यसैगरी असार २१ गते जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित देवकी मैनाली उप्रेतीको घरबाट सात तोला गहना र नगदसहित चार लाख मुल्य बराबरको धनमाल चोरी भएको थियो।
प्रहरीलाई छक्याउदै श्रृंखलाबद्ध रुपमा डकैती आएको समुहले साउन २६ गते जीतपुरसिमरा उपमहानगरपालिका २ का धनलाल श्रेष्ठको घरबाट २७ तोला गहनासहित १४ लाख, त्यसको पाच दिनपछि जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित शंकर आचार्यको घरमा डेरा गरी बस्ने अवधेस साहको कोठाबाट सुन, चादी र नगद गरी करिब दुई लाखको धनमाल लुटपाट भएको विवरण प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ।
संगठित रुपमा चोरी डकैती गर्दै आएको समुहले असोज ८ गते जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सरिता सुब्बाको घरबाट सुन, चादी, नगद र ल्यापटपसहित दुई लाख भन्दा बढी मुल्यको धनमाल लुटपाट गरेको थियो।
१२ दिन अघि सुब्बाको घरमा भएको चोरीको घटनापछि प्रहरीले उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको हो। चोरी भएको ल्यापटप बिक्री गर्ने क्रममा सादा पोशाका खटिएका प्रहरीले उनिहरुलाई पक्राउ गरेको र त्यसपछि गिरोहका अन्य ब्यक्ति समातिएको भएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए।
श्रृंखलाबद्धरुपमा भईरहेको घटनाको अनुसन्धान गर्दै जाने क्रममा ल्यापटप बिक्री गर्न लागेको सूचना पाएपछि सादा पोशाकमा खटिएको प्रहरीले गिरोहमध्येकै केहीलाई पक्राउ गरेको र उनिहरुको बयानका आधारमा अन्य ब्यक्तिको पहिचान खुलेको प्रहरी निरिक्षक कार्कीले बताए।
लुटपाट र चोरीका घटनामा अन्य केही ब्यक्तिको संलग्नता देखिएको र उनिहरुको खोजी भईरहेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए। 'अनुसन्धानका क्रममा अन्य ब्यक्ति पनि संलग्न रहेको पाएका छौ, उनिहरुको खोजी भईरहेको छ। पक्राउ गरेर सार्वजनिक गर्छौ' कार्कीले भने।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये बरथवा नगरपालिकाका रामजी महतो घटनाका मुख्य योजनाकार हुन्। उनकै योजनामा लुटपाटका घटना हुने प्रहरीको भनाई छ। महतोलाई उनकी पत्नी गुलाबो महतो सघाउने गरेकी थिईन् । महतो र उनकी पत्नी डेरा खोज्ने बहानामा स्थानियको घरमा पुग्ने र त्यसपछि लुटपाटको योजना बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरिक्षक कार्कीले बताए।
घटनाका मुख्य योजनाकार महतो यसअघि लुटपाटको घटनामा पक्राउ परि सात बर्ष जेल सजाय काटिसकेका ब्यक्ति हुन्। सर्लाहीको हरिवनमा लुटपाट गर्ने क्रममा उनि पक्राउ परेका थिए। पछिल्लो समय बाराको जीतपुरलाई केन्द्र बनाएर महतोसहितका गिरोहले श्रृंखलाबद्ध रुपमा चोरीडकैती गर्दै आएका थिए।
प्रहरीका अनुसार लुटपाटको घटनामा पक्राउ परेका ब्यक्तिहरु जीतपुरमा डेरा लिएर बस्ने र योजना अनुसार लुटपाटमा सक्रिय हुने गरेका थिए।लामो समयको अनुसन्धानपछि गिरोह मध्येका केही ब्यक्ति पक्राउ पर्नु ठुलो सफलता भएको प्रहरीको भनाई छ।
बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले पक्राउ परेका ब्यक्तिलाई चोरी मुद्धामा कारवाही प्रक्रिया अघि बढाउने जानकारी दिए। प्रहरीले यसअघि जीतपुरस्थित शिवजि साह सोनारको घरमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि कारवाही थालिसकेको छ।
पक्राउ परेकामध्ये एक पूर्पक्षका लागि थुनामा छन्। सोनारको घरमा भएको घटनाको बारेमा पनि छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरी उपरिक्षक बैदवारले बताए।
प्रतिक्रिया दिनुहोस !