‘बीपी राजमार्गमा ठूला सवारी नचलाऊ’
काठमाडौं : बीपी राजमार्गमा सरकारले ठूला सवारी सञ्चालन गर्न पाउने गरी रुट इजाजत दिने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ। सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेपछि सरकारको यस्तो निर्णय रोकिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जेठ १३ मा बीपी राजमार्गमा ३२ सिटका सवारीलाई रुट इजाजत दिने निर्णय गरेका थिए। मन्त्री महासेठले खुर्कोट–सिन्धुलीमाडी सडकखण्डको ३६ दशमलव ५ किलोमिटर खण्डमा १६ हजार दुई सय टन क्षमताका मालबाहक सवारी समेत चलाउन दिने निर्णय गरेका थिए।
मन्त्रीको यस्तो निर्णयका विरुद्ध अधिवक्ता कैलाशराज दाहालले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजालसले मन्त्री महासेठको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तिरिम आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘उक्त सडकखण्डको स्तरोन्नति र विस्तार नभएसम्म थप इजाजत जारी गर्न नहुने तथ्यलाई विपक्षीले उक्त परिपत्रमा स्वीकार गरेको देखिन्छ। यस अवस्थामा उक्त सडकखण्डको स्तरोन्नति र विस्तार नै नगरी अदालतमा विचाराधीन २०७३/५/८ मा गठित समितिको प्रतिवेदनको आधारमा २०७५/२/ १३ को मन्त्रिस्तरीय निर्णयले ठूला सवारी साधनलाईसमेत चल्ने इजाजत दिँदा सडक दुर्घटना तथा जनताको जीउधनको असुरक्षाको सम्भावना बढ्न गई उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ (क) ले प्रत्याभूत गरेको जीउज्यान, स्वास्थ तथा सम्पत्तिमा हानि पुर्याउने देखिन्छ।’ यसैगरी आदेशमा उल्लेख छ, ‘उपभोग्य वस्तु वा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकारको प्रतिकूल हुने तथा संविधानको धारा १६ ले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने हकमा जोखिम उत्पन्न भई नागरिकको जीउज्यानमासमेत अपूरणीय क्षति पुग्न जाने सम्भावना रहेको देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म ठूला सवारीसाधनलाई इजाजत मन्त्रिस्तरको निर्णय कार्यान्वयन नगर्नू नगराउनु भनी प्रत्यार्थीको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ २ वमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’
सरकारले रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन गुड्नबाट रोक्दै आएको छ। मन्त्री महासेठको निर्णयमा यात्रुवहाक सवारीलाई बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म र मालबहाक सवारी साँझ ९ बजेदेखि विहान ५ बजेसम्म चल्ने निर्णय गरेका थिए।बीपी राजमार्गखण्डको काठमाडौं–धुलिखेल नेपालथोक हुँदै खुर्कोटसम्म भने सामान्य रूपमा केही ठूला गाडी चल्न सक्छन्। खुर्कोटबाट मन्थली जाने र घुर्मी जाने सडकको जोड्ने विन्दु रहको छ। त्यहाँसम्मको सडकमा मोड कम र चौडाई फराकिलो भएकाले ठूला गाडी सञ्चालन भइरहेका छन्।
इन्फोसरकारले रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ।