बीपी राजमार्गमा दुर्घटना बढ्यो, सचेतना गराउँदै प्रहरी
सिन्धुली : बीपी राजमार्गमा दैनिक दुर्घटना हुने क्रम बढेपछि ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम थालेको छ। राजमार्गअन्तर्गत सिन्धुलीको भिमानदेखि खुर्कोटसम्मको खण्डमा अत्यधिक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरीले यातायातका चालक, सहचालक तथा यात्रुलाई सचेतना दिन थालेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा बीपी राजमार्ग हुँदै राजधानी भित्रिने र तराई हुँदै पूर्वी नाकासम्म पुग्ने ठूलासाना सवारीसाधनका चालक, सहचालक र यात्रुलाई जनचेतना कार्यक्रम आयोजना गरिएको हो।
शुक्रबार बिहानबाट विभिन्न चरणमा गरी सयौं गाडीका चालक, सहचालक र यात्रुलाई ट्राफिक नियम र सडक दुर्घटना कम गर्नेबारे सचेतना फैलाइएको सिन्धुलीका निमित्त प्रमुख तथा डीएसपी विनोद शर्माले बताए।
‘बीपी राजमार्गमा सञ्चालन हुने भाडाका सवारीसाधनका कारण दैनिक दुर्घटना बढेका छन्। विशेषगरी हाइस र साना बोलेरोका चालकको लापरबाहीका कारण जिल्लामा दुर्घटना बढेका हुन्’, उनले भने, ‘यसलाई कम गर्न र ट्राफिक नियम पालना नगर्नेहरूमाथि कारबाहीका लागि पहिलो चरणमा सचेतना थालिएको हो।’
सिन्धुलीको भिमानदेखि खुर्कोटसम्मको झन्डै ७५ किलोमिटर सडक साँघुरो र घुमाउरो भएका कारण हाइस र साना गाडीको पेलाइले पैदाल यात्री, मोटरसाइकलमा सवार र साना गाडी दुर्घटनामा पर्ने गरेका छन्।
जिल्लाभित्र दैनिक ३० वटासम्म ठूलासाना दुर्घटना हुन थालेपछि बाध्य भएर ट्राफिकले नियम पालनामा कडाइ गर्न थालेको हो। नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्ने, पाँच हजार एक सय जरिवाना तिराउने एवं लाइसेन्स-बिलबुक यातायात व्यवस्था विभागमा पठाउने गरी कारबाही थालिने डीएसपी शर्माले जानकारी दिए।
चालकको सानो लापरबाहीका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै नियम पालना नगर्ने र यात्रुमाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्न शर्माले मातहतका ट्राफिक प्रहरीलाई निर्देशनसमेत दिए।
यसैगरी चालकले नियम उल्लंघन गर्दै गए बीपी राजमार्गमा हाइस सञ्चालनमै रोक लगाउनसमेत बाध्य हुने प्रहरीको भनाइ छ।
बीपी राजमार्गमा १६ सिटभन्दा बढी र १० टन क्षमताभन्दा बढीका भारवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। तर पनि त्यस्ता सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहँदा दुर्घटना बढाएको सर्वसाधारणको गुनासो छ।
यातायात व्यवसायीको लापरबाहीका कारण अनाहकमा सर्वसाधारणको ज्यान जाने गरेको सिन्धुली उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार श्रेष्ठले बताए। त्यसैले चालकलाई सवारीसाधन चलाउँदा सचेत हुन उनको आग्रह छ।
पहिलो चरणमा सबै चालक र सहचालकलाई ट्राफिक नियमबारे सचेतना गराउने र शनिबारबाट नियमको पालना नगर्नेलाई हदैसम्मको कारबाही हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चन्द्र श्रेष्ठले बताए।
बीपी राजमार्गमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन्। राजधानी जान र आउन छोटो दूरीका रूपमा लिइएको यो राजमार्गमा सिन्धुलीलगायत रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, महोत्तरी, जनकपुरदेखि पूर्वमा विराटनगरसम्मका सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !