बीपी राजमार्गको पहिरो जापानीले बनाइदिने
![बीपी राजमार्गको पहिरो जापानीले बनाइदिने](https://annapurnapost.prixacdn.net/media/albums/bp-sadak-58bcedda63bae7.35266673_SMUVIsMF93.jpg)
सिन्धुलीः सुख्खा पहिरोले पिच भत्काएर सुनकोसी नदीमा खसेको बीपी राजमार्गको निर्माण छिट्टै सुरु हुने भएको छ । सडक भत्किएर सवारीसाधन आवतजावतमा समस्या भएपछि जापानी कम्पनीले नै उक्त सडक निर्माण गर्ने भएको हो ।
सडकको क्षतिबारे स्थलगत अध्ययन गर्न आइपुगेका जापानी प्राविधिकले एकदुई दिनबाटै सडक मर्मत सुरु हुने बताएका हुन् । सडक भत्केकै स्थानबाट सडक निर्माण थाल्ने गरी अध्ययन गरिएको बीपी राजमार्ग आयोजनाका इन्जिनियर रमेश आचार्यले जनाए । ‘आयोजना र जाइकाका प्रतिनिधिहरूले आइतबार अध्ययन गरेका छन् । सोमबार काठमाडौंंमा बैठक बसेर सडक निर्माणका लागि इस्टिमेट तयार पारिने छ', उनले भने ।
पहिलो चरणमा भत्केको सडकको भित्तापट्टिको भाग खारेर ट्र्याक निर्माण गरी पिच गर्ने र भत्केको भागको तल सुनकोसी नदीबाटै जग राखेर वाल उठाउने विषयमा छलफल भएको इन्जिनियर आचार्यले बताए । सडक निर्माणकार्य एकदुई दिनभित्रै सुरु हुने आचार्यको भनाइ छ । एक महिनाभित्र एकतर्फी भए पनि सडक सञ्चालन गर्ने गरी काम गर्न थालिने उनले बताए ।
साँघुरो ट्र्याकबाट यातायातका साधन सञ्चालन गर्दा दुर्घट्ना बढ्ने खतरा रहेकाले आयोजनाले क्षतिग्रत सडक पुनर्निर्माण तत्काल थाल्न लागेको हो । शनिबार मात्र उक्त ट्र्याकमा जिप दुर्घटना भएको थियो । निर्माणका क्रममा सम्पूर्ण सहयोग जाइकाको नै रहने बताइएको छ । सुख्खा पहिरो गएर अवरुद्ध भएपछि डाइभर्सन निर्माण गरी बीपी राजमार्ग सञ्चालनमा ल्याइए पनि घन्टौं जाम हुन थालेको छ । सडको करिब ३० मिटर पिच सुख्खा पहिरोसँगै सुनकोसी नदीमा खसेपछि बनाइएको डाइभर्सन सानो र कच्ची भएपछि सवारीसाधन ओहोरदोहोर गराउन घन्टौं समय लाग्ने गरेको हो ।
एकतर्फी मात्र सवारी सञ्चालन गरिएपछि दुवैतर्फका सवारीसाधन ओहोरदोहोर गराउन घन्टौ पालो कुर्नुपर्ने समस्या आएको यात्रु तथा यातायात व्यावसायीको गुनासो छ । एकपटकमा एकापट्टिको मात्र सवारीसाधन पास गर्नु पर्दा अर्कोपट्टिका सवारीसाधन र यात्रुले कुर्नुपर्छ । ‘दैनिक सवारीसाधनको चाप बढ्दै जाँदा पालैपालो यात्रा गर्नुपर्छ', इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विश्वराम नगरकोटीले भने, ‘दोहोरो सवारी पास गराउन कम्तीमा एक घन्टा लाइन बस्नुपर्ने हुन्छ ।'
उनका अनुसार दुवैतर्फ हजारौं सवारीसाधन लाइनमा हुन्छन् । उनीहरूलाई डाइभर्सन पार गर्न घन्टौं लाग्छ । हतारमा यात्रा गर्नेहरूलाई सास्ती भएको उनको भनाइ छ । प्रहरीले दुवैतर्फबाट पालैपालो एकएकवटा सवारीसाधनलाई मात्र पास गराउने गरेको छ । ठूला सवारीसाधनले पनि उक्त ट्र्याक नै प्रयोग गरेर भत्केको सडक पार गर्न खोजेपछि ट्राफिक व्यवस्थापनमा थप चुनौंती थपिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)