सामुदायिक विद्यालय, जहाँ हजारौं विद्यार्थी पढ्छन्
बुटवल : एउटै विद्यालय, जहाँ हजारौं विद्यार्थी पढ्छन्। बिहानको प्रार्थनामा देखिने दृश्य अझै मनमोहक हुन्छ। झट्ट हेर्दा लाग्न सक्छ यहाँ कुनै विशाल आमसभा हुँदैछ। यो दृश्य हो बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको। सरकारी विद्यालयमा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको नेपालकै एकमात्र विद्यालय हो, कालिका। यहाँ हाल ७ हजार ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। सामुदायिक विद्यालयतर्फ देशकै नमुना मानिने रूपन्देहीमा यस्ता झन्डै आधा दर्जन विद्यालयहरू अग्रणी स्थानमा छन्।
संख्यामा मात्र होइन, नतिजामा पनि उत्कृष्ट कालिका विद्यार्थी संख्यामा मात्र होइन, वार्षिक नतिजामा पनि कालिका मानवज्ञान माध्यमिक विद्यालय देशकै उत्कृष्ट हो। बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा रहेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। यहाँ छात्रभन्दा छात्राको संख्या ५ सय ७६ ले धेरै छ। छात्रा ४ हजार १ सय ६३ र छात्र ३ हजार ५ सय ८७ जना अध्ययनरत छन्। ३ सय ४७ जना त शिक्षक र कर्मचारीहरू नै कार्यरत छन्।
विद्यालय २०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय हासिल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए। २०८० सालमा विभिन्न १६ वटा सूचकहरूमा राष्ट्रिय प्रथम र २०८१ मा देशभर कक्षा १२ तर्फ उत्कृष्ट घोषणा भएको थियो। निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै २०७५ सालमा शिक्षा मन्त्रालयले नमुना विद्यालयको रूपमा घोषणा गरी हालसम्म कार्यक्रम सञ्चालन भइरहेको प्रधानाध्यापक थापाले जानकारी गराए।
कालिकाले के गर्यो असल अभ्यास ?
कालिकामा दण्डहीन (बालमैत्री) शिक्षण सिकाइ क्रियाकलाप छ। शिक्षक, कर्मचारीकै सहभागितामा शिक्षक कर्मचारी आचारंहिता, विद्यार्थीकै सहभागिता र नेतृत्वमा आचारसंहिता, विषय प्रमुखबाट कक्षा अवलोकन र सुधारका उपायका बारेमा घनिबुत छलफल हुन्छ। अनाथ र गरिब विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था विद्यालयले मिलाएको छ। परीक्षाको पूर्वतयारीमा प्रश्नपत्र निर्माण कार्यशाला गर्ने गरिएको प्रअ थापाले जानकारी गराए।
विद्यालयले प्रत्येक विद्यार्थीको डिजिटल प्रोफाइल तयार पारी विद्यार्थी मूल्यांकनको समेत व्यवस्था मिलाएको छ। विद्यार्थीको सहज पहुँचमा हुने गरी उजुरी पेटिका राखिएको छ र इन्चार्जद्वारा त्यसको सुनुवाइ हुने गर्दछ। विद्यालयले अभिभावकलाई समयसमयमा प्रशिक्षण दिने गर्दछ। विद्यार्थीलाई नियमित पठनपाठनसँगै नैतिक र व्यावहारिक शिक्षामा समेत जोड दिने गरिएको थापाले जानकारी गराए। विद्यालयले एसईई परीक्षामा ३ दशमलव ६० भन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
भौतिक पूर्वाधार निर्माणले पनि विद्यालय अब्बल छ। कालिकानगर र रामनगरमा गरी कुल ५ बिघा ८ कट्ठा जग्गा छ। १६ वटा भवन ब्लकमा १ सय २९ वटा कक्षामा विद्यार्थी पढ्छन्। शिक्षक र विद्यार्थीका लागि गरी कुल २७ वटा शौचालयको व्यवस्था गरिएको छ। जसमा छात्र र छात्राका लागि छुट्टाछुट्टै व्यवस्था छ। ३७ जना अनाथ र गरिब बालबालिका विद्यालयमा अध्ययनरत छन्। कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने र विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने देशभरमै छात्रावासतर्फ पहिलो भएको विद्यालयले दाबी गरेको छ।
यहाँ कक्षा ११ र १२ मा ३१÷३१ वटा समूह छन्। विद्यालयले बालविकासदेखि नै प्रत्येक कक्षाका समूहमा विद्यार्थी संख्या समेत तोक्ने गरेको छ। बालविकासमा ३५ जना, कक्षा १, २ र ३ मा ४० जना, ४ र ५ कक्षामा ४५ जना र ६ माथिका कक्षाका प्रत्येक समूहमा ४८ जनाभन्दा धेरै विद्यार्थी राख्न नहुने विद्यालयको नीति छ। चालु शैक्षिक सत्रमा ३ हजार ५ सय जना विद्यार्थी सीमित संख्याका कारण भर्ना गर्न नसकिएको प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए। उनका अनुसार विद्यालयको वार्षिक साधारण खर्च करिब ३० करोड हो।
समितिले विद्यालय प्रशासनलाई हस्तक्षेप गर्दैन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयको दैनिक प्रशासनिक कामकाजमा समितिबाट कुनै पनि हस्तक्षेप नहुने जानकारी गराए। ‘व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकको समन्वयले नै विद्यालयलाई निरन्तर उत्कृष्ट बनाउन साथ मिलेको हो’, ज्ञवाली भन्छन्, ‘मोफसलबाट निरन्तर देशकै अग्रणी स्थानमा हुनुले सबैलाई गर्व गर्ने बनाएको छ।’
विद्यालयले पछिल्ला वर्षमा भौतिक र आर्थिक अवस्थामा आफूलाई अब्बल बनाउँदै लगेको उनले सुनाए। २०१८ सालमा खुल्ला चौरबाट पठनपाठन सुरु गरेर स्थापना गरिएको विद्यालय देशकै अग्रणी भागमा उभाउन पाउँदा धेरै खुसी बनाएको उनले अनुभव सुनाए। ‘कुनै बेला चक मार्कर, डस्टर, कालोपाटी र सेतोपाटीबाट पढाइ हुने विद्यालयमा अचेल स्मार्ट बोर्ड छन्’, ज्ञवाली भन्छन्, ‘समय र परिस्थिति बदलिएको छ। दिनानुदिन बढ्दै गइरहेको सूचना र प्रविधिलाई हामीले अनुसरण गरेका छौं।’ निरन्तरको लगाव र मेहनत गर्ने हो भने सामुदायिक विद्यालय पनि अब्बल छन् भन्न समय नलाग्ने उनको अनूभव छ। उत्कृष्ट विद्यालयको असल अभ्यास अनुसरणका लागि भन्दै देशभरका विद्यालयबाट सिकाइ आदानप्रदान गर्न आउने गरेको उनले सुनाए।
शान्तिमा पढाइमात्र छैन, जीवनोपयोगी सीप पनि छ
शान्ति नमुना माविमा किताबको पानाका अक्षर मात्र पढाइँदैन। यहाँ विद्यार्थीलाई जीवनोपयोगी सीप पनि सिकाउने गरिएको छ। विद्यार्थीले च्याउ खेती गर्छन्। अचार बनाउँछन्। गड्यौला खेती छ। मुला, रायोको साग खेती हुन्छ। विद्यार्थीले नै सिन्की बनाउँछन्।
मौसमअनुसार बनाइएको लप्सी, अमला, आँपको अचार त खोसाखोस हुन्छ। यतिमात्र कहाँ हो र ? विद्यार्थीले नौमती, पञ्चैबाजा, मादल बजाउँछन्। भजन टोली नै छ। कक्षा ६ देखि १० सम्मका १२ जनाको समूह भजनका लागि तयार छ। गाउँघर र मन्दिरहरूमा हुने पूजापाठ, विवाह, व्रतबन्धजस्ता कार्यक्रममा उनीहरूको माग हुन्छ। खाना पकाउने, प्लम्बिङ र वाइरिङ गर्ने काममा पनि विद्यार्थीलाई जोड्ने गरिएको छ।
विद्यालयका शिक्षक एवं सांस्कृतिक संयोजक रञ्जित भण्डारीका अनुसार विद्यार्थीले दुई घण्टा बाजा बजाउन गएपछि १३ हजार रुपैयाँ शुल्क लिने गर्छन्। त्यसमध्ये तीन हजार विद्यालयको कोषमा जम्मा गर्छन्। जुन कोषबाट बाजा मर्मत गर्न खर्च हुन्छ। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले उब्जाएको तरकारी विद्यालयमै खपत हुन्छ। शिक्षक र कर्मचारी गरी २ सय ३९ जना कार्यरत छन्। उनीहरूले नै उत्पादित तरकारी खरिद गर्छन्। विद्यार्थीलाई बजारको समस्या छैन।
प्रधानाध्यापक न्यौपानेका अनुसार विद्यार्थीलाई संस्कारयुक्त सिकाइ पनि सिकाउने गरिन्छ। कति बजे सुत्ने, उठ्ने, के खाने, के नखाने, कसलाई कसरी बोलाउने ? छोरीछोरी बराबरीजस्ता संस्कारसमेत सिकाउने गरिएको उनले सुनाए। ‘प्रत्येक पिरेडमा विद्यार्थीलाई सुरुमै सन्चो, बिसन्चो सोध्छांै, नमस्कार गर्छाैं’, न्यौपाने भन्छन्, ‘विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्छ। किताबी शिक्षाले मात्र उनीहरू पूर्ण हुँदैनन्।’ विद्यालय हाताभित्र १६ वटा बाल क्लब गठन गरिएको छ। उनीहरूमार्फत अतिरिक्त क्रियाकलाप निरन्तर हुने गर्छन्।
यो मेकानिकल (टीएसएलसी) विषयमा पढाइ हुने नेपालकै एकमात्र विद्यालय भएको प्रधानाध्यापक न्यौपानेले दाबी गरे। २०५८ सालमा एनेक्स कार्यक्रमअन्तर्गत प्राविधिकतर्फ उक्त विषयको पढाइ हुँदै आएको छ। लुम्बिनी प्रदेशमै तीनवर्षे होटल म्यानेजमेन्ट विषयमा यहाँमात्र पढाइ हुने गरेको छ। रेस्टुरेन्ट, ल्याब, गेस्ट रुम र जनशक्ति व्यवस्थापनसहितको पढाइ हुने भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ।
शान्तिमा समाहित शिक्षा पनि सञ्चालनमा छ। अपांगता भएका बालबालिकालाई विशेष व्यवस्था मिलाएर पढाउने गरिएको छ। २०४५ सालदेखि दृष्टिविहीन स्रोतकक्षा छ। जहाँ ४४ जना बालबालिकाले अहिले पनि अध्ययन गरिरहेका छन्। श्रवणशक्ति हराएका र दृष्टिविहीन भएका ११ जनाले २०७७ सालदेखि अध्ययन गरिरहेका छन्। यहाँ तीन वर्षदेखि अटिजम भएका बालबालिकाले पनि पढिरहेका छन्। २३ जना त्यस्ता विद्यार्थी हाल अध्ययनरत रहेको प्रधानाध्यापक न्यौपानेले बताए। एसएलसीमा २०६८ सालमा छात्रा र २०७३ सालमा नेपाल प्रथम भएको थियो।
आईएसओ सर्टिफाइड हो कान्ति
सरकारी विद्यालय भएर पनि आफूलाई अब्बल स्थापित गर्नेमा बुटवलकै अर्को विद्यालय हो कान्ति माध्यमिक विद्यालय। बुटवल बजारमै रहेको यस विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त (आईएसओ सर्टिफाइड) समेत हो। अरू विद्यालयका शिक्षक, निजामती कर्मचारी, प्रहरी प्रशासन, सामाजिक अगुवालगायत अभिभावकको आफ्ना सन्तान पढाउने पहिलो रोजाइ यही कान्ति बनेको छ।
हाल यस विद्यालयमा ५ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्याको आधारमा यो नेपालकै तेस्रो विद्यालय हो। ‘भर्ना हुने बेला अभिभावकलाई हामीले भन्दैनौं। उहाँहरू आफैँ हामीलाई खोज्दै आउने गर्नुहुन्छ’, प्रधानाध्यापक गोविन्द ज्ञवालीले भने, ‘हरेक वर्ष सीमित कोटाका कारण विद्यार्थीलाई फिर्ता गर्न बाध्य छौं।’ नर्सरीदेखि कक्षा १२ सम्म यहाँ पढाइ हुन्छ। विद्यालय परिसरभित्र पिउने पानीको गतिलो व्यवस्था छ। विज्ञान विषयमा लुम्बिनी प्रदेशकै यो नमुना विद्यालय हो। कक्षा ११ र १२ मा गरी ८ सय ५० जना विद्यार्थी विज्ञान विषयमा अध्ययनरत छन्। यसका लागि विद्यालयले छात्राबास भवनसमेत पाएको छ। कक्षा ३ देखि १२ सम्मका ३ सयजना विद्यार्थी छात्राबासमा पढिरहेका छन्।
प्रधानाध्यापक ज्ञवालीका अनुसार सबै विषयका विभागहरू गठन गरिएको छ। विद्यार्थीबाट प्रत्येक कक्षामा संयोजक तोकिएको छ। ‘अभिभावकको राम्रो साथ छ। विद्यार्थीको सुधारात्मक मूल्यांकनमा जोड दिन्छौं’, ज्ञवालीले भने, ‘अभिभावक भेला गर्छौं, उहाँहरूको सुझावलाई ध्यान दिएर कार्यान्वयन गर्छौं।’ शिक्षक र कर्मचारी गरी हाल २ सय १७ जना कार्यरत छन्। विद्यालयमा २४ जना शिक्षकहरूको मात्र सरकारी दरबन्दी छ। अन्य शिक्षकहरू विद्यालयको स्रोत र शिक्षकहरूको सहयोगले चलेको ज्ञवालीले सुनाए।
तर, विद्यालय एक वर्षदेखि विद्यालय व्यवस्थापन समिति नेतृत्वविहीन छ। नेतृत्वमा आउने आकांक्षीहरूको लर्को लागेपछि चयन गर्न समस्या भइरहेको ज्ञवालीले सुनाए। ‘मतदान प्रक्रियाबाट नेतृत्व चुन्ने हो भने नराम्रो सन्देश जान्छ भनेर उपमहानगरले भनेपछि उक्त प्रक्रिया भएको छैन’, ज्ञवाली भन्छन्, ‘राम्रो विद्यालय भएकाले पनि समाजका प्रतिष्ठित व्यक्तिहरू नेतृत्वमा आउन रुचाउनु भएको हामीले बुझेका छौं।’ व्यवस्थापन समितिमा सुरुमा ६ जना निर्वाचित गर्नुपर्छ। तीमध्ये कम्तीमा तीन जना महिला अनिवार्य हुनुपर्छ। चुनिएका ६ जनाबाट व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ।
व्यवस्थापन समिति नेतृत्वविहीन हुँदा शिक्षक छनोटदेखि उपमहानगरपालिका, प्रदेश र संघीय सरकारमा विद्यालयका भौतिक पूर्वाधार निर्माणका लगायतका योजनाहरू माग गर्न समस्या भइरहेको ज्ञवालीले गुनासो गरे। समितिको नेतृत्व चुन्ने विषयमा छिट्टै निर्णय हुने समेत उनको भनाइ छ।
२ हजार बढी विद्यार्थी भएका रूपन्देहीमै ९ विद्यालय
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार दुई हजार बढी विद्यार्थी संख्या भएका रूपन्देही जिल्लामा ९ वटा विद्यालय छन्। कालिका, कान्ति र शान्ति नमुनासहित ९ वटा विद्यालयहरू रहेको उनले जानकारी दिए। बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविमा ४ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेका अनुसार यहाँ कुल १ सय ७८ जना शिक्षक, कर्मचारीहरू कार्यरत छन्।
सैनामैनाको सैनामैना मावि, छपियाको पब्लिक मावि, भैरहवाको लीलाराम न्यौपाने मावि, रोहिणीको रामनरेश मावि र सैनामैनाको रामपुर माविमा दुई हजारभन्दा बढी विद्यार्थी पढ्ने विद्यार्थी संख्याको आधारमा ठूला विद्यालय पर्छन्। ‘विद्यार्थी संख्याको चाप हुनु भनेको त्यस विद्यालयमा केही न केही राम्रो पक्ष छ भन्नु नै हो’, बञ्जाडेले भने, ‘गुणस्तर र व्यवस्थापन राम्रो नहुने हो भने अभिभावकको चासो हँुदैन। रूपन्देही सामुदायिक विद्यालयमा उत्कृष्ट प्रदर्शन गर्ने देशभरकै नमुना जिल्ला हो।’
उत्कृष्ट विद्यालयका शिक्षकहरूलाई विज्ञहरूसहित अन्य विद्यालयमा स्थलगत रूपमा पुगेर अनुभव आदानप्रदान गर्ने कार्यक्रम गरिएको इकाइ प्रमुख बञ्जाडेले जानकारी दिए। ‘कमजोर विद्यालयलाई कसरी माथि उकास्न सकिन्छ भन्ने बारेमा राम्रा विद्यालयका शिक्षकहरूलाई लगेर जाने गरेका छौं’, उनले भने, ‘त्यहाँ पुगेर कक्षा अवलोकन गर्छौं। सुधारका पाटाहरू के हुन सक्छन् भनेर गहन छलफलसमेत हुन्छ।’ शिक्षक दरबन्दी कमी हुँदाहुँदा पनि उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरू अभिभावकको सहयोगबाट माथि उक्लिएको उनले सुनाए। शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा, एसईई परीक्षा व्यवस्थापन, शिक्षकहरूको क्षमता विकास, अनुगमनलगायतका क्षेत्रमा समन्वय इकाइले काम गरिरहेको उनले बताए।
उत्कृष्ट विद्यालयका शिक्षकहरूलाई विज्ञहरूसहित अन्य विद्यालयमा स्थलगत रूपमा पुगेर अनुभव आदानप्रदानका कार्यक्रम गर्छौं। कमजोर विद्यालयलाई कसरी माथि उकास्न सकिन्छ भन्ने बारेमा राम्रा विद्यालयका शिक्षकहरूसँग छलफल हुन्छ। सुधारका पाटाहरू के हुन सक्छन् भनेर गहन छलफल गर्छौं। माधव बञ्जाडे,इकाइ प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देही
समितिले विद्यालयको दैनिक प्रशासनिक कामकाजमा कुनै पनि हस्तक्षेप गर्दैन। मोफसलबाट निरन्तर देशकै अग्रणी स्थानमा हुनुले सबैलाई गर्व गर्ने बनाएको छ। भौतिक र आर्थिक अवस्थामा हामी सबल छौं। निरन्तरको लगाव र मेहनत गर्ने हो भने सामुदायिक विद्यालय पनि अब्बल हुन सक्छन् भन्ने हाम्रो अनुभव छ। देशभरबाट हाम्रो विद्यालय भ्रमण गर्न बर्सेनि आउने गर्नुहुन्छ। नित्यानन्द ज्ञवाली, अध्यक्ष, कालिका मानवज्ञान मावि, बुटवल
अभिभावकको आफ्ना सन्तान पढाउने पहिलो रोजाइ हाम्रो विद्यालय बनेको छ। अहिले ५ हजार ७ सय विद्यार्थी यहाँ अध्ययनरत छन्। भर्ना हुने बेला अभिभावकलाई हामीले भन्दैनौं। उहाँहरू आफैं हामीलाई खोज्दै आउने गर्नुहुन्छ। जसले हामीलाई थप उत्साहित बनाएको छ। विज्ञान विषयमा लुम्बिनी प्रदेशकै यो नमुना विद्यालय हो। गोविन्द ज्ञवाली, प्रधानाध्यापक, कान्ति माध्यमिक विद्यालय, बुटवल
चालु शैक्षिक सत्रमा १ हजार २ सय जना विद्यार्थी सीमित कोटाका कारण भर्ना लिन सकेनौं। सीमित विद्यार्थी संख्याभन्दा धेरै विद्यार्थी भर्ना गर्ने भौतिक क्षमता छैन। विद्यार्थीलाई जीवन उपयोगी सीप पनि सिकाउँछौं। विद्यार्थीले च्याउ खेती गर्छन्। अचार बनाउँछन्। गड्यौला खेती छ। मौसमअनुसार बनाइएको लप्सी, अमला, आँपको अचार त खोसाखोस हुन्छ। कुलप्रसाद लामिछाने, प्रधानाध्यापक, शान्ति नमुना माध्यमिक विद्यालय,
तिलोत्तमा रूपन्देही
एउटै विद्यालयमा ६ हजार ४ सय विद्यार्थी
विद्यार्थी संख्याको आधारमा हेर्ने हो भने रूपन्देहीकै अग्रणी विद्यालय हो तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय। यहाँ हाल ६ हजार ४ सय विद्यार्थी अध्ययनरत छन्। यो धेरै विद्यार्थी संख्या हुनेमा नेपालकै दोस्रो विद्यालय हो।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेका अनुसार चालु शैक्षिक सत्रमा १ हजार २ सय जना विद्यार्थी सीमित कोटाका कारण विद्यालयमा भर्ना हुन पाएनन्। हाल भर्ना भएको विद्यार्थी संख्याभन्दा धेरै विद्यार्थी भर्ना गर्ने भौतिक क्षमता पनि छैन। ‘भर्ना गर्ने बेला बर्सेनि थेगी नसक्नु विद्यार्थीको चाप हुन्छ’, लामिछानेले भने, ‘थप भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौं। त्यसपछि अझ विद्यार्थी थप्न सकिन्छ।’ कक्षा ६ र ९ मा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने गरिएको उनले जानकारी गराए। कक्षा ५ र ८ मा छिमेकी विद्यालयबाट आउने विद्यार्थीलाई सीमित कोटाका कारण भर्ना गराउन नसकिएको उनको प्रतिक्रिया छ।
प्रतिक्रिया दिनुहोस !