एसईईमा ४ जीपीए ल्याएका युनिकलाई गाउँपालिकाको १ लाख इनाम
गोरखा : हालैको एसईईमा ४ जीपीए ल्याएका बारपाक सुलिकोट–८ का युनिक पनेरुलाई गाउँपालिकाले एक लाख रुपैयाँ इनाम दिएको छ । पूर्व घोषित कार्यक्रम अनुसार सो पालिकाले गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई पनि सम्मान गरिएको हो ।
‘एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख इनाम दिने गाउँपालिकाले गत बर्ष घोषणा गरेको थियो’, वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले भने, ‘त्यही कार्यक्रम अन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसईई दिएर ४ जीपीए ल्याएका युनिक पनेरुलाई शुक्रबार आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।’
३.४ देखि ३.५९ जीपीए ल्याउने ७ जनालाई १० हजार, ३.६० जीपीए ल्याउने १ जनालाई १५ हजार नगदसहित गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै कक्षा १२ का १० जना, कक्षा १० का ९, कक्षा ८ का ७ र कक्षा ५ का ६ जना विषयत उत्कृष्ट शिक्षकलाई पनि पाँच–पाँच हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !