महिलामैत्री सहर बनाउँदै तिलोत्तमा
बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा महिलामैत्री सहर निर्माणको योजना अघि बढेको छ। व्यवस्थित बसोबाससहित सहरीकरणमा दिनप्रतिदिन फड्को मार्दै गइरहेको यस नगरपालिकामा महिलामैत्री सहरीकरणको अवधारणा अघि सारिएको हो। नगरपालिका क्षेत्रमा बन्ने संरचना र विकास निर्माणका योजनाहरूलाई महिलामैत्री बनाउने गरी तयारी भइरहेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए।
‘नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा खुल्ला जग्गा छ। त्यसलाई व्यवस्थित गरी महिलामैत्री संरचना निर्माण गरिनेछ’, खाँणले भने, ‘विकास निर्माणका सवालमा महिलाहरूको सहभागितालाई जोड दिएका छौं।’ उनले खुल्ला भूउपयोगी जमिनमा महिलामैत्री सहर निर्माण गर्नका लागि ‘यूएनओपीएस’ परियोजनासमेत लागू गरिएको जानकारी दिए।
दुई आर्थिक वर्षसम्म सञ्चालन हुने उक्त परियोजनाले विभिन्न चारवटा क्षेत्रहरू नीति निर्माण, जनसहभागिता, पूर्वाधार विकास र ज्ञान व्यवस्थापनको क्षेत्रमा विशेष केन्द्रित रहेर काम गर्ने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। ‘यस परियोजना सञ्चालन गर्नका लागि नगरपालिका, सहरी विकास मन्त्रालय र यूएनओपीएसका प्रतिनिधिहरूबीच छलफल अन्तरक्रिया गरिएको छ’, उनले भने, ‘महिलामैत्री पूर्वाधार निर्माणका लागि मात्र साढे दुई करोड परियोजनामार्फत सहयोग हुन्छ। यसमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता हुन्छ।’
पूर्वाधार निर्माणबाहेक अन्य तीन क्षेत्रमा नगरपालिकाले ल्याउने योजनाअनुसार परियोजनाले सहयोग गर्नेछ। फिड्ल्यान्ड सरकारको सहयोगमा सञ्चालित उक्त परियोजना हालसम्म देशभरका ८ स्थानीय तहमा लागू भएको छ। धनगढी उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका (सुर्खेत), चन्द्रगिरि नगरपालिका (काठमाडौं), लम्कीचुहा नगरपालिका (कैलाली), सुनवल नगरपालिका (रूपन्देही) र तानसेन नगरपालिका (पाल्पा) मा यो परियोजना लागू भइसकेको छ।
यस परियोजना सञ्चालन भइसकेपछि नगरपालिकाको उपयोगी र खाली जमिनहरू व्यवस्थापन गर्न महŒवपूर्ण सहयोग हुने आशा गरिएको अर्यालले प्रतिक्रिया दिए।
नगरपालिकाले सेवा प्रवाह गर्ने मुख्यमुख्य कार्यालयमा महिलामैत्री संरचना निर्माण गरिएको देखिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा रूपन्देहीकी अध्यक्ष ज्ञानू पौड्यालले जानकारी दिइन्। ‘महिलामैत्री सहरीकरणको अवधारणा राम्रो’, उनले भनिन्, ‘राज्य संयत्रबाट बन्ने हरेक भौतिक संरचनाहरू लैगिंकमैत्री हुनु पर्दछ।’
उनले पछिल्लो समय स्थानीय सरकारमार्फत पर्यटन क्षेत्रको विकासका लागि पार्क निर्माण गर्ने प्रचलन बढ्दै गए पनि त्यहाँका भौतिक संरचना लैंगिकमैत्री नदेखिएको पाइएको समेत अनुभव सुनाइन्।
‘पार्कमा मानिसहरू रातिसम्म पनि घुम्न खोच्छन्। महिलाहरूलाई सुरक्षाको अनुभूति हुने गरी वातावरण हुनुपर्छ। शौचालय निर्माण गर्दा पुरुष, महिला र तेस्रो महिलालाई लक्षित गरी बनाउनुपर्छ।’ महिलाहरूको नेतृत्व विकास, सशक्तीकरण र उद्यमशीलाताको क्षेत्रमा नगरपालिकासँग सहकार्य गरेर काम गरिररहेको उनले सुनाइन्।
प्रतिक्रिया दिनुहोस !