एक जनाको ज्यान जानेगरी सुधार गृहमा यसरी भएको थियो कुटपिट (भिडियो)
रौतहट : बाराको कलैयास्थित नव जन्म पुनःस्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। केन्द्रमा रहेका कलैया-९ का ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको बिहीबार मध्यरातमा कुटपिटबाट मृत्यु भएको प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए। मण्डल १५ दिनअघि केन्द्रमा भर्ना भएका थिए।
कलैया उपमहानगरपालिका-१ बैंक रोडमा रहेको नवजन्म पुनःस्थापना केन्द्रमा मण्डल १५ दिनदेखि भर्ना रहेका थिए। मण्डल र त्यहाँ रहेका अन्य व्यक्तिहरूबीच भएको विवाद कुटपिटमा परिणत भएको प्रहरीले जनाएको छ।
घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धानको क्रममा ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीले कलैया-३ का १९ वर्षीय सर्फराज मन्सुरी, कलैया-४ का २२ वर्षीय निरज सरार्फ, कलैया-६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेखलाई नियन्त्रणमा लिएको हो। त्यस्तै २४ वर्षीय अरुण सरार्फ, २२ वर्षीय साहिल अली, २१ वर्षीय प्रमेश्वर साह, सुरज शेख, २९ वर्षीय तमन्ना अली र १९ वर्षीय सागर गुप्तालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !