गोली हानेर साढे ९ लाख लुट्ने पक्राउ

गोली हानेर साढे ९ लाख लुट्ने पक्राउ

धनगढी : जेठ १३ गते बिहान साढे ९ बजेतिर धनगढीको मुख्य बजारमै गोली हानेर साढे ९ लाख लुटपाट गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का कल्लु भनिने कालु रानालाई कैलाली प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ। उनीसँगै धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका रामप्रवेश रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले कल्लु रानाले गोली हानेको स्वीकार गरिसकेको बताए।

प्रदेशको राजधानी धनगढीमा जेठ १३ गते बिहान साढे ९ बजेतिर ट्राफिक चोकनजिकै रहेको आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली हानेर उनको साथबाट साढे ९ लाख रकम लुटपाट गरिएको थियो। सिद्धार्थ बैंकबाट रकम झिकेर साइकलमा करिब ५ सय मिटर टाढा रहेको आईएमईतिर गइरहेका बेला उनलाई सिद्धार्थ बैंकदेखि झन्डै २ सय मिटर दूरीमा रहेको सेन्चुरी बैंक नजिकै गोली हानिएको थियो। उनको दायाँ हातबाट सेती अञ्चल अस्पतालका चिकित्सकको टोलीले सल्यक्रिया गरी गोली निकालेका थिए। कार्कीको अवस्था सुधार भइरहेको छ।

यसअघि कैलाली प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ का उग्रसेन राना र सोही ठाउँका राजकुमार चौधरीलाई गोलीकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो। राजकुमार चौधरीलाई जेठ १५ गते र उनको बयानका आधारमा उग्रसेन रानालाई जेठ १६ गते पक्राउ गरिएको थियो।

उग्रसेन रानाले दिएको बयानका आधारमा प्रहरीले काठमाडौंैबाट कल्लु राना र उनको साथमा रहेका राम प्रवेश रानालाई पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए। उग्रसेन रानाले दिएको बयानका आधारमा केन्द्रीय अपराध अनुसन्धान विभागको प्रहरीको सहयोगमा कल्लुलाई पक्राउ गर्न सफल भएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

उग्रसेन राना डाँका–चोरीकै मुद्दामा दुई महिनाअघि मात्रै कञ्चनपुर कारागारबाट सजाय भुक्तान गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ। उनले डाँका–चोरीको मुद्दामा साढे चार वर्ष जेल सजाय काटेको प्रहरीले जनाएको छ। धनगढी बजार नजिकै रहेको कञ्चनपुरको डोके बजारको लुटपाटमा पनि उग्रसेनको संलग्नता रहेको थाहा भएपछि प्रहरी उनको खोजीमा थियो।

प्रहरीले उग्रसेनले जेलबाट निस्केपछि आपराधिक क्रियाकलापमा संलग्न अर्का व्यक्ति राजकुमार चौधरीको संगत गरेको जनाएको छ। प्रहरीका अनुसार राजकुमार पनि चोरीका मोटरसाइकल, गाडी र हातहतियार ओसारपसार गर्ने व्यक्ति हुन्। कल्लुले गोली हान्न प्रयोग भएको खैरो रंगको अपाचे मोटरसाइकल पनि राजकुमारले नै उपलब्ध गराएको प्रहरीले जनाएको छ।

काठमाडौंमा कल्लु पक्राउ परेपछि, उनकै बयानका आधारमा सोमबार नै उक्त मोटरसाइकल बैलौरीबाट बरामद भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले गोली हान्न प्रयोग भएको उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ। नेपाल प्रहरीले गोली हानिएको पुरानो भन्सार रोड जाने बाटो नजिकैको एक जना व्यापारीको सीसी क्यामेराको फुटेजका आधारमा मोटरसाइकल पहिचान गरेको थियो।

‘गोली हानिएको बेलाको सीसी क्यामेराको फुटेज, एक जना व्यवसायीबाट पाइएको थियो, अनुसन्धानको मुख्य आधार नै त्यही भयो’, कैलालीका प्रहरी उपरीक्षक घिमिरेले भने। उनले गोली हानिएको स्थानमा एउटा मात्रै मोटरसाइकल चलेको देखिएकाले अनुसन्धानमा सजिलो भएको बताए।

कैलाली प्रहरीले उग्रसेन रानाको बयानपछि जेठ १७ गते प्रहरी निरीक्षक भरत गिरीको नेतृत्वमा प्रहरी टोली काठमाडौं पठाएको थियो। प्रहरीले कल्लुसँग मोटरसाइकलमा बसेको व्यक्तिको पहिचान भने गर्न सकेको छैन। कल्लुले गोली हानेको र सबै योजनाकार कल्ल रहेको बयान उग्रसेनले दिए पनि अरू धेरै कुरा नखोलेको प्रहरी उपरीक्षक घिमिरेले बताए। ‘सबै कुरा कल्लु रानालाई थाहा छ, मैले भन्यो भने कल्लुले मलाई मारिदिन्छ भन्दै उग्रसेनले धेरै कुरा खोलेको छैन, कल्लु बाटोमै छ, आएपछि सबै कुरा खुलिहाल्छ’, प्रहरी उपरीक्षक घिमिरेले भने।

कल्लु र रामप्रवेशलाई सोमबार बेलुकी श्री एयरलाइन्सको उडानबाट धनगढी ल्याइएको छ। प्रहरीले केही रकम कल्लुको साथबाट बरामद भएको र बाँकी रकम र गोली हान्न प्रयोग गरिएको हतियारको खोजी भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.