प्रहरीकै सुराकी लुटपाटका नाइके, दुई दिनको रेकीपछि गोलीकाण्ड
धनगढीः जेठ १३ गते धनगढीको मुख्य बजारमै भएको गोलीकाण्डका अभियुक्तहरुले दुई दिनको रेकीपछि मात्रै लुटपाट गरेको बयान दिएका छन ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा गोली हान्ने उग्रसेन राना, उनैले चलाएको मोटरसाइकलको पछाडि बसे रकमको झोला खोस्ने कल्लु भनिने कालु राना, लुटपाटका मुख्य योजनाकार राजकुमार चौधरी, सहयोगीहरु रामप्रवेश राना र वीरु चौधरीसहित पाँचजनालाई सार्वजनिक गरेपछि यस्तो तथ्य आएको हो ।
जेठ १३ गते विहान साढे ९ बजे धनगढीको ट्राफिक चोक नजिकैको केन्ट ट्रेडर्स एण्ड सप्लायर्स (आईएमई) का कर्मचारी निर्मल कार्कीलाई मुख्य बजारस्थित सेन्चुरी बैंक नजिकै गोली हानेर साढे नौ लाख लुटपाट गरिएको थियो ।
पक्राउ परेकाको बयानका आधारमा धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षका राजकुमार चौधरी घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनले आईएमईमा जेठ ११ र १२ गते रेकी गरी लुटपाटको योजना बनाएका थिए ।
‘राजकुमारले दुई दिनसम्म रेकी गरेर आईएमईको मान्छे बैंक कति बेला जान्छ ? के मा जान्छ ? कति जति रकम ल्याउँछ ? भनेर सबै योजना बनाएको बयानमा खुलेको छ’ गोलीकाण्डको अनुसन्धान टोलीका प्रमुख तथा कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने ।
पक्राउ परेकाको बयानका आधारमा राजकुमारले उग्रसेनलाई धनगढी बजार देखि ५÷६ किलोमिटर टाढा रहेको कञ्चनपुरको लालझाडी जंगलमा घटना भएकै दिनको विहान पेस्तोल चलाउन सिकाएका थिए ।
‘लालझाडीको जंगलमा दुई राउण्ड फायर गरेर उग्रसेनलाई पेस्तोल चलाउन सिकाइएको बयान राजकुमारले दिएको छ’, प्रहरी उपरीक्षक घिमिरेले भने, ‘त्यसपछि मात्रै आईएमईका कर्मचारीमाथि गोली प्रहार भएको छ ।’
प्रहरीकै सुराकी नाइके
राजकुमार चौधरी सीमा आसपासको क्षेत्रमा चोरीका गाडी वारपार गर्ने गर्थे । उनी हतियारको कारोबार गर्ने संगठीत आपराधिक कृयाकलाप गर्ने गिरोहको नाइके भएको प्रहरीले दाबी गरेको छ । यसअघि उनले प्रहरीकै लागि सुराकीको काम गरेका थिए ।
टीकापुर घटनामा हराएको प्रहरीको ‘ग्यास गन’ (अश्रुगयास हान्ने बन्दुक)को सुराक पनि राजकुमारले दिएका थिए । प्रहरीले झण्डै १० महिनाअघि प्रहरीको ग्यास गनसहित एकजनालाई पक्राउ गरेको थियो । राजकुमार हातहतियार खरखजाना मद्दामा ७५ दिन जेल सजाय भुक्तान गरिसकेका ब्यक्ति हुन ।
प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिचाहका ३० वर्षका उग्रसेन रानाको घरबाट गोली हान्न प्रयोग गरिएको पेस्तोल र त्यसको ६ राउण्ड गोली पनि सोमबार राती नै बरामद गरेर मंगलबार सार्वजनिक गरेको छ ।उनको घरबाट प्रहरीले लुटपाट गरिएको एक लाख ७० हजार रकम पनि बरामद गरेको छ । उग्रसेन रानाले गोली हान्ने बेला राजकुमार चौधरीले नै उपलब्ध गराएको चोरीको अपाची मोटरसाइकल आफैँले चलाएका थिए ।
‘मोटरसाइकल रोकेर कार्कीलाई गोली हानेको उग्रसेनले बयानमा स्वीकार गरेको छ, सोमबारसम्म कल्लु रानाले गोली हानेको बताएपनि दुवै जनालाई सँगै राखेर बयान गर्दा उग्रसेनले गोली हानेको र कल्लुले रकम राखेको झोला खोसेको बयान दिएका छन’ प्रहरी उपरीक्षक घिमिरेले भने ।
लुटिएको रकम बरामद
प्रहरीले राजकुमारले राख्न दिएको ठाउँबाट लुटपाट गरिएको तीन लाख ४३ हजार रकम, उग्रसेनको घरबाट एक लाख ९० हजार र कल्लु रानाको साथबाट १५ हजार ६ सय गरी पाँचलाख ४८ हजार ६ सय रकम पनि बरामद गरिसकेको छ ।
‘बाँकी रकम पनि राख्न दिएको मान्छे नभेटिएकाले बरामद भएको छैन, छिट्टै त्यो पनि बरामद हुन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने । प्रहरीले राजकुमारले दिएको रकम राख्ने धनगढी उपमहानगरपालिका १८ का बिरु चौधरीलाई पनि सोमबार राति पक्राउ गरेको छ ।
कल्लु राना र उनका सहयोगी रामप्रवेश रानालाई सोमबार कैलालीबाट प्रहरी निरीक्षक भरत गिरी र प्रहरी सहायक निरीक्षक केशव जोशीको टोलीले अपराध अनुसन्धान विभागको प्रहरीको सहयोगमा काठमाडौंको गोंगबु बसपार्कबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुमाथि हातहतियार खरखजाना ऐन २०१९ को २(ग) र दफा २० (२) बमोजिम ६ महिनादेखि १ वर्ष कैद सजाय र जरिवाना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी गरी तीन वटा मुद्धा दर्ताको तयारी गरेको छ । तीनै मुद्दा प्रमाणित भएमा कम्तीमा पनि ६ वर्षको जेल सजाय हुनेछ ।