घर फर्किए कुलबहादुर
जेठ २३, २०७५ बुधबार ११:२७:०
विराटनगर : उपचार खर्च नतिरेको भन्दै मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा दुई महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका एक बिरामी मंगलबार घर फर्किएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कुलबहादुर लिम्बूलाई अस्पतालले मंगलबार बिहान घर जान दिएको हो। अस्पतालले उपचारबापतको २ लाख नतिरेको भन्दै लिम्बूलाई घर जान नदिई बन्धक बनाएर राखेको समाचार मंगलबारको अन्नपूर्णमा प्रकाशन भएको थियो। उपचारका लागि सरकारबाट पाएको सहुलितबापतको १ लाख र परिवारले १ लाख १० हजार गरी २ लाख १० हजार रुपैयाँ खर्च भएको थियो। यसबारे समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले बिहानै लिम्बूलाई बिनासर्त घर पठाएको छ। कुलबहादुरका छोरा सुरेनले भने, ‘अस्पतालले बिहान ८ बजे गेटपास दिएपछि हामी त्यहाँबाट निस्कियौं। बाँकी पैसाबारे केही पनि कुरा गरिएको छैन।’ कुनै सर्त नराखिएका कारण अस्पतालले उक्त रकम छुट दिएको हुन सक्ने उनको अनुमान छ।
अस्पतालका प्रशासन प्रमुख गोविन्द लुइँटेलले आफन्तले पछि ल्याएर उपचारबापतको पैसा तिर्ने सहमतिमा बिरामीलाई घर जान दिइएको बताए।