उपचार खर्च तिर्न नसकेर श्रीमान् बेपत्ता, श्रीमतीको मृत्यु

उपचार खर्च तिर्न नसकेर श्रीमान् बेपत्ता, श्रीमतीको मृत्यु

 किशोर बुढाथोकी/जितेन्द्रनारायण ठाकुर 

विराटनगर : श्रीमतीलाई उपचारका लागि विराटनगर आएका श्रीमान् अस्पतालबाटै बेपत्ता भएका छन्। श्रीमान् बेपत्ता भएको भोलिपल्टै उपचारका क्रममा श्रीमतीको पनि मृत्यु भएको छ।  गोल्डेन अस्पतालमा उपचाररत श्रीमती छाडेर सिरहाको लहान नगरपालिका १८ का रमानन्द विश्वकर्मा गत आइतबारदेखि फरार छन्। प्रहरीले उनको खोजी भइरहेको बताएको छ।

'आइतबार उनी फरार भए। सबै तिर खोजी गर्न थालियो,' अस्पतालका एक कर्मचारीले भने, '  फेला पार्न सकिएन। सोमबार श्रीमतीको पनि उपचारकै क्रममा मृत्यु भयो।' ती कर्मचारीका अनुसार श्रीमतीको उपचारमा लागेको खर्च तिर्न नसक्दा  रमानन्द फरार रहेको हुनसक्छ।

श्रीमतीको उपचार गराएबापत गोल्डेन अस्पताललाई उनले पाँच लाख ३९ हजार  तिर्नुपर्ने देखिन्छ। अस्पतालले उपचारबापतको रकम तिर्नका लागि बारम्बार ताकेता गरेको थियो। त्यही क्रममा उनी अस्पतालबाटै बेपत्ता भएको प्रहरीको आशंका छ। 

वैशाख ६ गते झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीय र आफन्तले  उद्धार गरी रमानन्दकी श्रीमती २५ वर्षीया रिता विश्वकर्मालाई उपचारका लागि अस्पताल ल्याएका थिए। सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो। धरानबाट विराटनगरको विराट नर्सिङ होममा ल्याएर उपचार सुरु गरिएको थियो। प्रहरीका अनुसार त्यहाँ पनि उपचार सम्भव नभएपछि रमानन्दले नै श्रीमती रितालाई गोल्डेन अस्पतालमा ल्याएर वैशाख ११ गते भर्ना गराएका थिए। 

गोल्डेनले बिरामीलाई भेन्टिलेटरमा राखेर थप उपचार सुरु गरेको थियो। अस्पतालका अनुसार  रमानन्दले एक लाख रुपैयाँ सुरुमै बुझाइसकेका छन्। सिरहाको इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक रामबहादुर ढकालका अनुसार झुन्डिएको अवस्थामा उद्धार गरी रितालाई स्थानीयले सुरुमा लाहानमै ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि अन्यत्र पठाइएको थियो।

'विराटनगर लगेर श्रीमतीको उपचार गराउने क्रममा श्रीमान् फरार भएको कुरा आएपछि सबैतिर खोजी भइरहेको छ,' निरीक्षक ढकालले भने, 'अहिलेसम्म फेला पार्न सकिएको छैन।' फरार बनेका रमानन्दसहित उनका आफन्तको खोजी भइरहेको छ।'

उनका अनुसार विश्वकर्मा परिवार त्यहाँको सुकुम्बासी हो। ढकालले विराटनगरबाट उपचाररत श्रीमतीलाई छाडेर फरार रहेका रमानन्दको घरमा पनि ताला लागेको जानकारी दिए। रमानन्द सुन पसलमा ज्याला मजदुरी गर्दै आएका थिए।

उनी मजदुरी गर्न बाहिर जाने गरेको र स्थानीय ठाउँमै मजदुरी गर्न श्रीमतीले आग्रह गर्दा दुईजनाबीच झगडा भएपछि रिताले झुन्डिएर आत्महत्याको प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

त्यस अघि पनि रिताले एकपटक झुन्डिएर आत्महत्या गर्न खोजेको र त्यतिबेला भने तत्काल परिवारका सदस्यले देखेपछि घटना हुन नपाएको ढकालको भनाइ छ। अस्पतालका मेनेजर सन्तोष मेहताले कुरुवा फरार भएकै अवस्थामा बिरामीको मृत्यु हुँदा समस्या भएको बताए। उनका अनुसार मृत्यु भएपछि दुई दिनसम्म अस्पतालमै राखिएको शवलाई बुधबार भने प्रक्रिया पूरा गरेर कोसी अञ्चल अस्पतालमा पुर्‍याइएको छ। 

' अन्तिम अवस्थामा ल्याइपुर्‍याएको बिरामीलाई बचाउनका लागि धेरै प्रयास गरियो,' मेहताले भने, 'तर सम्भव भएन।' बिरामीको मृत्यु भइसकेको र उपचारका लागि लिएर आउने श्रीमान् नै बेपत्ता भएपछि अस्पतालमा उपचारबापत लागेको खर्च उठाउन मुस्किल परेको उनले बताए। 

उनका अनुसार अस्पतालले विश्वकर्मासँग उपचारबापतको पाँच लाख ३९ हजार रुपैयाँ लिन बाँकी छ। उपचारका लागि लिएर आएका श्रीमान् बेपत्ता हुँदा शव बुझ्न आफन्त नआएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

कोही जिम्मा लिन नआउँदा शव समेत गन्हाउन थालेको अस्पतालले जनाएको छ। केसीले भने,' शव बुझ्न आफन्त आएमा पोष्टमार्टम गरेर पठाउन सकिन्छ।'उनले आफन्त कोही नभेटिएमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवको पोष्टमार्टम गर्ने बताए। भने, 'कसैले पनि हकदावी नगरेमा वा आफन्त नआएमा पोष्टमार्टम गरेर शव व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मा लगाइने छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.