धरानबाट छुट्ने बसलाई आलोपालो
धरान : सुनसरीको धरानका यातायात व्यवसायीले भानुचोकस्थित बसपार्कमा युवा समूह परिचालन गरी सिन्डिकेटलाई निरन्तरता दिएका छन्। धरानको बसपार्क भएर सञ्चालन हुँदै आएका यातयातका साधनलाई सरकारले व्यवस्थित गर्न नसकेका कारण आलोपालो प्रणाली कायम गरिएको यातायात व्यवसायी पर्शुराम भट्टराईले बताए।
तेह्रथुमका प्रकाश लिम्बूले भने काउन्टरमा टिकट नकाटी बस चढ्न नदिने गरेको र समय मिलाएर चलाइएका बसबाट गन्तव्यमा पुग्न समस्या रहेको सुनाए। धरानमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघले भानुचोक बसपार्कमा अवैध काउन्टर सञ्चालन गरिरहेका छन्। यी संघले गुन्डागर्दीमा संलग्न व्यक्तिलाई काउन्टरमा राखेर सवारी साधनबाट रकम असुल्ने गरेको जनाइएको छ।
सिन्डिकेट प्रणाली खारेज हुँदा पनि धरानमा बिहान ४ बजेदेखि आलोपालो गरी बस सञ्चालन भइरहेको छ। धरानबाट पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम तथा मोरङ, झापालगायत जिल्लामा सञ्चालन हुँदै आएका यात्रु बसमा आलोपालो प्रणाली लगाएर व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिएको स्थानीय विकास शिवाकोटीले बताए। भने, ‘सिन्डिकेटलाई निरन्तरता दिने व्यवसायीलाई कानुनी कारबाही हुनुपर्छ।’
कोसी बस व्यवसायी संघका अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले सरकारले सिन्डिकेट खारेज गरे पनि बसपार्क व्यवस्थापन गर्न नसकेका कारण बसलाई आलोपालो गरिएको बताए। उनले सिन्डिकेट भने नचलाइएको दाबी गरे।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अवैध ढंगले काउन्टर सञ्चालन गरी यातायातका साधनमा सिन्डिकेट लगाउने व्यवसायीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको बताए। भने, ‘विशेष टास्कफोर्स गठन भइसकेकाले सुनसरीमा यातायात सिन्डिकेट सदाका लागि हट्दै छ।’