मान्यज्यूले किन सहकर्मी मान्यज्यूलाई बैठकमै झापड हान्नुभयो ?

मान्यज्यूले किन सहकर्मी मान्यज्यूलाई बैठकमै झापड हान्नुभयो ?

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ की सांसद मन्जु यादवले सहकर्मी सांसद किशोरी साहलाई संसदीय दलकै कार्यालयमा झापड हानेपछि अहिले पार्टी भित्र यो विवादले उग्र रुप लिएको छ। 

गत मंगलबार प्रदेशसभाको बैठक सुरु हुनु पूर्व संसदीय दलको कार्यालयमा सांसद यादवले साहलाई एक झापड हानेकी थिइन्। यादवले संसदीय दलका नेता सत्यनारायण मण्डल र पार्टीका अन्य सांसदको अगाडि नै साहलाई झापड हानेपछि विवादले उग्र रुप लिएको हो। झापड हान्ने सांसदमाथि कारबाहिको प्रक्रिया अगाडि बढाउने तयारी सुरु भएको छ। 

झापड प्रकरणमा बोल्दै संसदीय दलका नेता मण्डलले सांसद यादव निकै छाडा र अमर्यादित रुपमा प्रस्तुत भएर आफ्नै सहकर्मीमाथि हात छाडेको हुनाले उनलाई हदैसम्मको कारबाही गर्न पार्टी केन्द्रीय कमिटिलाई अनुरोध गरेको बताए। अन्नपूर्णकर्मीसँग कुरा गर्दै मण्डलले भने, ‘आफ्नो पदको गरिमा बिर्सेर उनले मर्यादाको सबै हद पार गरेकी छन्। उनको यस्तो व्यवहार प्रति हामी आश्चर्यचकित भएका छौं’, मण्डलले यादवमाथि आक्रोश व्यक्त गर्दै भने, ‘नेतृत्व क्षमता नै नभएकालाई समानुपातिकमा सांसद बनाइएपछि यस्तै अवस्था आइपुग्छ।’

किन हानियो झापड ?
मंगलबार संसदीय दलको कार्यालयमा प्रदेश सरकारको नीति तथा कार्यक्रमका लागि नेकपा पार्टीका सांसदले आवश्यक योजना छनोट गरेर संकलन गरी मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम थियो। दलका नेता मण्डलले योजनालाई टाइप गरी संकलन गर्न दुई सहयोगी बोलाएका थिए।

‘हामीलाई संसद सचिवालयबाट कुनै ल्यापटप वा कम्प्युटर दिइएको छैन्। योजना लेख्नका लागि दुईजना भाइलाई सहयोग गर्न बोलाएको थिएँ। सबै सांसदहरुले हातैले आ–आफ्नो योजनाहरु लेखेर ल्याप्टपमा टाइप गरेर टाइप गर्न दिइरहेका थिए’, दलका नेता मण्डलले घटनाबारे जानकारी गराउँदै भने, ‘तर, सोही क्रममा सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्छु भनेर ल्यापटप मागिन्।’  सहयोगीले ल्यापटप दिनुको साटो ‘योजना लेखेर ल्याउनुहोस्, हामी टाइप गरिदिन्छौं’, भने। तर, यादवले ल्यापटप पुनः माग गरिन्। 

सोही विषयलाई लिएर ल्यापटप लिएर आएका युवा र सांसद यादवबीच वादविवाद सुरु भयो। विवाद बढेपछि दलका नेता मण्डल आफ्नो कार्यकक्षबाट उठेर विवाद भएकै ठाउँमा पुगे।  ‘कामरेड तपाई हातले लेखेर दिनुहोस् भाइहरुले टाइप गरिदिन्छन्। गल्ती भए फेरि पढेर सच्याउन सक्नुहुन्छ’, मण्डलले सम्झाउने कोशिस गरे। तर, सांसद यादवले आफू टाइप गर्न सक्ने भएकाले ल्यापटप दिनुपर्यो भन्दै ढिपी गरिन्। 

सांसद यादवले ढिपी गरेपछि मण्डलले भने, ‘आफ्नो मर्यादा भित्र बस्नुस् अन्यथा हामी कारबाही गर्छौँ।’ तर, यादव उल्टै मण्डलमाथि जाइलागिन्, ‘त को होस् मलाई कार्वाही गर्ने ?’ कार्यालयमा रहेका अन्य नेताले समेत सबै वादविवाद हेरिरहेका थिए। झोकाझोक भइनै रहेको क्रममा नेकपाका अर्का सांसद किशोरी साह त्यहाँ पुगे। साहले महिला सांसद यादवलाई इंगित गर्दै भने, ‘कुरा नबुझे दुई झापड दिन्छु।’ 

साहको कुरा सुनेर निकै आक्रोशित भएकी सांसद यादवले उनलाई सोधिन कसलाई यस्तो भनेको ? झापड कस्तो हुन्छ हेर्ने हो ? प्रश्न गर्दागर्दै उनले साहलाई एक झापड गालामा  चड्काइन्। यस विषयमा अन्नपूर्णको जिज्ञासामा यादव आत्मरक्षाका लागि झापड हानेको बताइन्। ‘महिला भन्दैमा हेप्ने र मानमर्दन गर्दै झापड हान्ने कुरा गर्दा समेत दलका नेताले एक शब्द बोलेनन्। मैले आत्मरक्षाका लागि साहलाई एक झापड हानेकी हुँ।’ 

आफै टाइप गर्छु भन्दा ल्यापटप नदिएको र नराम्रो व्यवहार गरेको आरोप झापड हान्ने सांसदको छ। यादवले भनिन्, ‘मैले नीति तथा कार्यक्रममा महिलाको सुरक्षाका लागि प्रदेशस्तरीय छात्रावासको व्यवस्था र महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठी व्यवस्था हुनुपर्ने योजना राख्न खोजेकी थिए। तर, मलाई टाइप समेत गर्न दिइएन्’, उनले भनिन्। 

‘म एक अविवाहित महिला हुँ। निकै संघर्ष गरेर यहाँसम्म पुगेकी छु। आफ्नो कुरा निर्धक्क राख्दा पार्टी भित्रै नपच्ने प्रवृत्तिले गर्दा यस्तो विवाद आइपुगेको हो’, उनले भनिन्। झापड खाने सांसद साह भने सम्पर्क आउन सकेका छैनन्। उनी बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि उपस्थित भएनन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.