गुठीको १७ बिघा जग्गा ओगटियो
जनकपुरधाम : जग्गा लिजमा लिएको २४ वर्षसम्म मणिपाल मेडिकल कलेज समूहले धनुषाको जनकपुरधाममा शिक्षण अस्पताल सञ्चालन गर्न सकेको छैन। गुठी संस्थानको १७ बिघा जग्गामा भारतीय लगानीकर्ता रहेको समूहले अस्पताल बनाउन थालेको थियो। तर, अझै काम सम्पन्न हुन नसकेको हो।
जग्गा ओगटेर बसेको समूहले यथाशीघ्र काम पूरा गरी अस्पताल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष शुभनारायण मण्डलको भनाइ छ। नत्र हरेक प्रदेशमा शिक्षण अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनका लागि प्रदेश सरकारले यसका भौतिक पूर्वाधार प्रयोग गर्नुपर्ने सुझाव आफूले दिएको उनले सुनाए। ‘हामीले यो विषयमा प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौं’, वडाध्यक्ष मण्डलले भने, ‘चाँडै यसको निष्कर्ष निस्किने आशा छ।’
संस्थानले २०७१ वैशाख १९ गते करार तोड्ने भन्दै पत्रसमेत पठाएको थियो। अस्पताल सञ्चालन हुन नसकेको अवस्थामा करार तोड्नका लागि संस्थानले सूचना दिएको थियो। तर, समूहले लिजबापतको रकम नियमित बुझाएपछि करार यथावत राखिएको छ। समूहले गत वर्षसम्म बहाल रकम बुझाएकाले करार नतोडिएको संस्थान शाखा जनकपुरका कर्मचारीको भनाइ छ।
द्वितीय पक्षले सर्त पालना नगरे प्रथम पक्षले तीन महिनाको सूचना दिई करार तोड्न सक्ने करारनामामा जनाइएको छ। द्वितीय पक्षले सर्त बन्देज पालना नगरे सामान, रूख, बिरुवा आदि पनि प्रथम पक्षकै हुने र त्यसबापत कुनै मूल्य वा क्षतिपूर्ति दाबी गर्न नपाउने उल्लेख छ। करार ऐन २०५६ को दफा ७१ मा करार पूरा गर्नुपर्ने समय र तरिका सम्बन्धमा उल्लेख छ।
लिजमा लिएको जग्गामा २४ वर्षसम्म अस्पताल सञ्चालन हुन सकेको छैन। यसका पूर्वाधार अब प्रदेश सरकारले प्रयोग गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
समूहले २०५१ साउन ७ मा ४९ वर्षका लागि जग्गा लिजमा लिने सम्झौता गरेको थियो। मणिपाल एजुकेसन एन्ड मेडिकल समूह लिमिटेडबाट सञ्चालित पोखरा मेडिकल कलेजको फिजिकल सेक्सनअन्तर्गत जनकपुरमा ३ सय ५० शय्याको अस्पताल स्थापना गर्ने भनिएको थियो।
समूहले पहिलो वर्ष संस्थानलाई ७ लाख रुपैयाँ उपलब्ध गराउने र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुने रकम जेठभित्र संस्थानलाई बुझाउनुपर्ने सम्झौता भएको थियो। समूहले एकतले भवन निर्माण गरेपछि २०५८ सालमा काम रोकिएको थियो। भवन सुरक्षाका लागि तीन जना गार्ड खटिएका छन्। चारैतिर तारले बारिएको छ। अस्पताल सञ्चालन हुने वा नहुने भनेर कुनै जानकारी नरहेको सुरक्षागार्ड योगेन्द्र कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !