११५६ पृष्ठको ‘आमालाई चिठ्ठी’

११५६ पृष्ठको ‘आमालाई चिठ्ठी’

काठमाडौं : उपन्यास कति ठूलोसम्म होला ? अधिकतम ६–७ सय पृष्ठ। यो प्रचलनलाई चुनौती दिएका छन् हङकङ बस्ने रामकृष्ण बान्तवाले। उनले ११ सय ५६ पृष्ठको उपन्यास लेखेका छन्– ‘आमालाई चिठ्ठी।’

यो चिठ्ठी एउटा चोटको उपज हो। उनको अघिल्लो उपन्यास ‘सघन तुवाँलो’ लाई त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागले स्नातकोत्तर तह डायास्पोरिक खण्डको पाठ्यक्रममा छान्यो। बान्तवाले त्यसको पत्र पाए। बधाई खाए। अचानक फेरि यसले लफडा निम्त्याएको अर्को खबर आयो। निर्णय बदर भयो। त्रिविका तत्कालीन नेपाली केन्द्रीय विभाग प्रमुखविरुद्ध अख्तियारमा उजुरी प¥यो। ‘सघन तुवाँलो प्रकाशित गर्ने’ साथी प्रकाशन र वितरक जयकाली प्रकाशनविरुद्ध राजश्वमा मुद्धा हालियो। प्रवास बस्ने बान्तवाले छानिनु र फालिनु दुवै घटनाको पृष्ठभूमि भने बुझेनन्।

पत्रपत्रिकामा टिकाटिप्पणीयुक्त समाचार आए। उनी विक्षिप्त भए। ‘चिकित्सकले उपचार गर्ने दबाइ केही छैन भने’, बान्तवाले लेखन गर्भ कहे, ‘जेमा खुसी लाग्छ, त्यही गर्नु भन्ने सल्लाह दिए। अनि, उपचारकै लागि पुस्तक लेख्न बसें।’ केही वर्ष घरबाटै ननिस्किई उनी त्यसमै घोत्लिइरहे। त्यही गुप्तबासबाट जन्मियो, ‘आमालाई चिठ्ठी।’

यो बिम्बात्मक कृति हो। उनले आफ्नी स्वर्गबासी आमालाई लेखेको पत्र दुनियाँका सारा आमाका लागिसमेत यथोचित सम्बोधन हो। उनको आशय छ, ‘मेरो के गल्ती थियो आमा, जसको सजाय म भोगिरहेको छु ? न्याय दिने तिमीले हो, जसका लागि आफ्नै छोरो बिन्ती गरिरहेको छ।’ त्यही उपन्यासको अंग्रेजी अनुवाद ‘स्रिल मिस्ट’ भने अन्तर्राष्ट्रिय प्रकाशन एसिया २००० ले छापेको थियो।

पूर्व ब्रिटिस–गोर्खा बान्तवा विविध विधामा कलम चलाउँछन्। ‘कता हिँडेको कसलाई खोजेको... भन न भन ए बिरानो परदेशी’ बोलको उनले लेखेको गीत एक समय लोकप्रिय थियो। अझै यो कर्णप्रिय छ। ‘आमालाई चिठ्ठी’ भने संस्मरणात्मक यथार्थपरक उपन्यास हो। न यो संस्मरण हो, न उपन्यास। बान्तवाले भने यसलाई उपन्यास भनेका छन्। गोदावरी बुक हाउसद्वारा प्रकाशित यसको मूल्य १२ सय रुपैयाँ छ। बान्तवाका ६ उपन्यास, २ नाटक, १ गीत र १ कविताका पुस्तक प्रकाशित छन्। गीति एल्बम ३ वटा निस्केका छन्।

नेपाली वाङ्मय परिषद्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यसको लोकार्पण गरे। उनले विदेशमा बस्ने नेपालीबाट यति ठूलो सिर्जना आउनु आफैंमा उल्लेख्य विषय रहेको बताए। ‘नेपाली साहित्यलाई समृद्ध बनाउन डायास्पोराको ठूलो योगदान छ’, उनले भने।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बान्तवा फरक ढङ्गले चिन्तन गर्ने स्रष्टा भएको उल्लेख गरे। समीक्षक÷लेखक प्रा.डा. विष्णु राईले ‘आमालाई चिठ्ठी’ गहन कृति रहेको उल्लेख गरे। अन्नपूर्ण पोस्ट्का सम्पादक तथा लेखक अखण्ड भण्डारीले विषय, भाषा, प्रस्तुति एवं सान्दर्भिकताका हिसाबले पुस्तक उच्चकोटिको रहेको बताए। गीतकार तथा संस्कृतिविद् शुभ मुकारुङले डायास्पोराबाट साहित्य सेवा गरिरहेका बान्तवाजस्ता स्रष्टालाई मातृभूमिले प्रोत्साहन र कदर गर्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.