बारा-पर्सा अपडेट : दल र नेताहरुद्वारा आर्थिक सहायता र राहत घोषणा
काठमाडौं : बारा र पर्सामा हावाहुरीले प्रभावित भएकाहरुलाई आर्थिक सहयोगको लागि राजनीतिक दलहरुले घोषणा गरेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले घटनाका पीडितलाई सहयोग स्वरुप तत्काल ५ लाख प्रदान गर्ने घोषणा गरेको छ । सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले मृतक तथा पीडितका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
राजपाका नेताहरु उक्त निर्णयसँगै अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो राहत सामग्री सहित घटनास्थल तर्फ प्रस्थान गरेका छन् । यस्तै नेपाली कांग्रेस संसदीय दलको बैठकले संघीय सांसदहरुको दुई दिन बराबरको तलब घटनाका पीडितलाई दिने निर्णय गरेको छ । सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकले पनि संघीय सांसदहरुको एक दिनको तलब सबै पीडितका लागि खर्च गर्ने निर्णय गरेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले भने पीडितलाई राहत स्वरुप १५ लाख प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । यसबाहेक विभिन्न राजनीतिक दल तथा नेताहरुले मृतकका परिवार तथा पीडितका लागि राहत घोषणा गर्ने क्रम जारी छ ।
केही नेताहरुले राहत तत्काल वितरण गर्न र आर्थिक सहयोगका लागि सरकारसँग आग्रह गरेका छन् भने केही नेताले व्यक्तिगत रुपमै सहयोगको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !