मुहान बगेपछि खानेपानीको हाहाकार
ओखलढुंगा : सुनकोसी गाउँपालिका–६ भुल्केटारमा खहरेले मुहान बगाएपछि खानेपानीको हाहाकार भएको छ। वैशाख १२ गते परेको पानीसँगै आएको खहरेले विद्यालय र गाउँमा वितरण गरिएको पानीको मुहान बगाएपछि खानेपानीको हाहाकार भएको हो।
खहरेले ल्याएको पहिरोले पानीको मुहानसमेत सुकेको छ। पहिरोले ५ सय मिटरभन्दा बढी पानीको पाइपसमेत बगाएको छ। मुहान रहेको ठाउँ पहिचान गर्न कठिन हुने गरी खहरे आउँदा खानेपानी अभाव भएको स्थानीय समाजसेवी शम्भु धमलाले बताए। खहरेले भुल्केका ५० परिवार र पाटनदेवी आधारभूत विद्यालयमा ल्याइएको खानेपानीको मुहान बगाएको उनले जानकारी दिए।
गाउँमा ल्याएको पानीको मुहान बगेपछि गाईवस्तुलाई खुवाउन समेत पानीको पाउन छाडिएको स्थानीयले बताए। विद्यालयमा घरबाटै पानी बोकेर जानुपर्ने अवस्था छ। कक्षा ८ सम्म सञ्चालनमा रहेको विद्यालयको खेल मैदान र पानी बगाएपछि समस्या थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका धमलाको भनाइ छ। उनका अनुसार वर्षासँगै गएको पहिरो खहरे बनेर आएपछि भुल्केटार र विद्यालयमा ल्याइएको खानेपानीको मुहान, पाइप समेत बगाएको थियो।
खहरेले पानीको मुहान बगाएपछि काकाकुल बनेको भुल्के गाउँ
पानी अभाव भएको एक साता बिते पनि स्थानीय सरकारले चासो नदिएको उपभोक्ताको गुनासो छ। गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले वडाध्यक्षलाई समस्या पहिचान गरेर काम गर्न निर्देशन दिएको बताए। उनले भने, ‘पहिरो गएर पानीको समस्या भएको सुनेको छु। वडाध्यक्षमार्फत बुझेर समाधानको पहल हुन्छ।’ भुल्केमा भूकम्पले चर्केको पहाडमा पानी पर्दा ठूलो पहिरो गएको छ। त्यही पहिरोका कारण खानेपानीको मुहान सुकेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !