सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाजा बरामद
सुनसरी : बराहक्षेत्र नगरपालिका–२ र बेलका नगरपालिका–८ को सिमाना क्षेत्रमा रहेको सप्तकोशी नदीबीचको टापुबाट सशस्त्र प्रहरीले ४७५ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले सोमबार सप्तकोशी नदीको बीचमा रहेको टापुबाट १६ वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद गरिएको जानकारी दिए।
बरामद गाँजा बोरासहित ४८० दशमलव ५२ केजी र बोरा बाहेक ४७५ केजी रहेको प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरीमा बुझाइएको छ ।
सप्तकोशी क्षेत्र पछिल्लो समय गाँजा तस्करीको नयाँ रुट बन्दै गएको सुरक्षा निकायको भनाइ छ । धनकुटा लगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा स्थलमार्ग हुँदै धरान र बराहक्षेत्र क्षेत्रमा कडाइ गरिएपछि तस्करहरूले सप्तकोशी नदीमार्फत बगाएर भारततर्फ निकासी गर्न थालेका छन्। एसपी कार्कीले नदीमार्ग प्रयोग गरेर गाँजा तस्करी गर्ने क्रम बढ्दै गएको बताए । उनले सीमावर्ती तथा नदी क्षेत्रहरूमा निगरानी थप कडा बनाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !