अन्नपूर्णको ‘सुपर एप’ साउन १ मा लन्च हुँदै
काठमाडौं : के तपाईं हिजोआज तीनकुने–सिनामंगल सडक खण्डमा हिँड्नुभएको छ ? गैरीगाउँ पेट्रोल पम्प छेउमा रहेको अन्नपूर्ण पोस्ट्को बिल्डिङको शीर्षभागमा लेखिएको ‘अन्नपूर्ण’ मध्ये अगाडिको ‘अन्न’ शब्द गायब छ। एकाएक कहाँ गयो त अन्न ? किन छोपियो ? सर्वसाधारणमा यसबारे कौतुहल पैदा भएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कले यसै कौतुहलबीच एउटा रोचक क्याम्पेन सुरु गरेको छ। अन्न गायब भएकै अवस्थाको तस्बिर वा भिडियो खिचेर अन्नपूर्ण पोस्ट्को आधिकारिक सामाजिक सञ्जाल ह्यान्डललाई मेन्सन गरी सेयर गर्नेहरूमध्ये उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।
अन्नपूर्ण मिडिया नेटवर्कले आफ्ना पाठक तथा प्रयोगकर्ताका लागि विशेष डिजिटल कोसेली ल्याउन लागेको हो। अन्नपूर्ण पोस्ट् र ‘अकिन’ को सहकार्यमा नेपालकै मिडिया क्षेत्रमा पहिलोपटक ‘सुपर एप’ लन्च गर्न लागिएको हो।
नयाँ प्रविधिलाई आत्मसात् गर्दै अन्नपूर्ण मिडिया नेटवर्कले सबै प्रकारका जानकारी एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यले यो एप ल्याउन लागेको हो। साउन १ गते आयोजना हुने एक विशेष समारोहका बीच यो एप सार्वजनिक गरिनेछ, जसको होस्ट आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्नेछ।
अन्नपूर्ण भेन्चर्सकी सञ्चालन एवं प्रशासन निर्देशक सीमा शर्माका अनुसार प्रविधिसँगसँगै अन्नपूर्णलाई पनि अगाडि बढाउन यो सुपर एपको सुरुवात गरिएको हो। ‘यो सुपर एप एआई प्रविधिमा आधारित छ,’ निर्देशक शर्माले भनिन्, ‘एप प्रयोग गर्दा प्रयोगकर्ताले समाचार पढिरहनुपर्ने झन्झट हुँदैन। एआई होस्ट आफैंले समाचार पढेर सुनाउनेछ।’
प्रतिक्रिया दिनुहोस !