रुपन्देहीमा अपरेशन चार्ली : नक्कली नोटसहित ६ जना पक्राउ
भैरहवा : रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न गिरोहविरुद्ध सञ्चालन गरेको 'अपरेशन चार्ली' अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पुर्नेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका-१ का किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ का सञ्जय थारू, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल सिलुगढीका ४९ वर्षीय बासुमित्र आनन्द रहेको प्रहरीले जनाएको छ।
पोखराबाट पक्राउ परेका तिवारीको साथबाट एक हजार दरका ४७८ थान र बुटवलबाट पक्राउ परेको पुर्वछानेको घरबाट एक हजार दरका १०३ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एंव सूचना अधिकारी कृष्ण कुमार चन्दले बताए।
प्रहरीका अनुसार, बुटवलबाट पक्राउ परेकी पुर्वछानेले पीडितसँग क्यूआर मार्फत दुई हजार एक सय रुपैयाँ लिएर एक हजार दरका दुई वटा नक्कली नोट दिएको विषयमा पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए।
प्रहरीका अनुसार, पुर्वछानेलाई पक्राउ गरी सोधपुछ गर्दा पोखराबाट तिवारीको संग्लनता खुलेको र त्यसपश्चात भक्तपुरको खत्रीको संग्लनता खुलेको थियो। खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित बालकुमारी घर्ती मगरको कोठा भाडामा लिएर नक्कली नोट छाप्ने कार्य संचालन गर्दै आएको खुलेपछि प्रहरीले छापा मारेर नक्कली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नोट केमिकल, ब्ल्याक पेपर, नक्कली नोट बनाउन प्रयोग हुने कागज, मोबाइल लगायत सामग्री बरामद भएको छ।
पक्राउ परेकाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !