जब ‘डेथ जोन’मा माइकलले मृत्युलाई जिते
सगरमाथाको चुचुरोमा मौनताका साथ संसारलाई जितेका माइकलको यो साहसिक सफलताको गुञ्जन आज सिंगो विश्वले निकै चासोका साथ सुनिरहेको छ।
ओखलढुंगा : सगरमाथाको ८ हजार चार सय मिटरभन्दा माथिको उचाइ। पर्वतारोहणको भाषामा यसलाई ‘डेथ जोन’ अर्थात् मृत्यु मार्ग भनिन्छ।
यस्तो ठाउँ, जहाँ हावामा अक्सिजनको मात्रा यति न्यून हुन्छ कि मानव शरीर बिस्तारै मर्न थाल्छ। गत मे २१ का दिन सगरमाथाको यही घातक क्षेत्रमा इतिहासकै सबैभन्दा बढी (२७४ जना) को भीड थियो। यही भीडको ‘ट्राफिक जाम’ मा परेर बेलायतका पर्वतारोही माइकल जोसेफ वुड्स एक्लै अलपत्र परे।
माइकल जन्मजात कान सुन्दैनन्। हिमालको भयानक गर्जन र हावाको सुसाइबीच पनि उनको संसार पूर्णरूपमा मौन थियो। अक्सिजन मास्कभित्र उनको श्वासप्रश्वास छिटो–छिटो चलिरहेको थियो, हाडै गलाउने चिसोले शरीर जम्दै थियो भने सिलिन्डरको अक्सिजन रित्तिँदै थियो। आपत्कालीन सञ्चारका लागि उनीसँग न त आफ्नै आवाज थियो, न त उनको इसारा (साइन ल्याग्वेज) बुझिदिने कोही नजिकै थियो। हिमालको प्रख्यात ‘हिलारी स्टेप’ नजिकै जीवन र मृत्युको त्यो कहालीलाग्दो दोसाँधमा उनले दुई देखि तीन घण्टा एक्लै बिताए।
‘त्यो मेरो जीवनकै सबैभन्दा कठिन मानसिक र शारीरिक लडाइँ थियो,’ माइकलले काठमाडौं फर्किएपछि भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अक्सिजन र ऊर्जा सकिँदै गर्दा मेरो मस्तिष्कले काम गर्न छोड्दै थियो। तर, मैले घरमा पर्खिरहेका आफ्ना छोराछोरीलाई सम्झिएँ र बाँच्नका लागि आफ्नो अन्तिम आत्मबल बटुलेँ।’
- जन्मजात बहिरा बेलायती आरोही माइकल जोसेफ वुड्सले सगरमाथा सफलतापूर्वक आरोहण गरे।
- मे २१ मा ८४०० मिटरमाथि २७४ आरोहीको भीड हुँदा उनी ‘हिलारी स्टेप’ नजिक अलपत्र परे।
- अक्सिजन सकिँदै जाँदा उनले २–३ घण्टा जीवनमरणको संघर्ष गरे। बहिरा भएकाले आपत्कालीन सञ्चार गर्न झन् कठिन अवस्था बन्यो।
पर्वतारोहण क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘एक्स्प्लोर्स वेब’ले यस घटनालाई ‘विजय र त्रासदीबीचको सूक्ष्म रेखा’ को रूपमा चित्रण गरेको छ। ८ हजार ४ सय मिटरको त्यो कालरात्रिमा माइकलका लागि देवदूत बनेर देखापरे, ‘८ के एक्सपेडिसन’ का नेपाली शेर्पा गाइडहरू।
माइकल अलपत्र परेको खबर पाउनासाथ आफ्नै ज्यान जोखिममा राखेर ती साहसी शेर्पाहरू अन्धकार र चिसोलाई चिर्दै पुनः माथिल्लो उचाइतर्फ उक्लिए । परम्परागत अर्थमा त्यो कुनै हेलिकप्टर रेस्क्यु थिएन, त्यो त नेपाली शेर्पा गाइडहरूको अदम्य पेसागत मर्यादा र मानवीयताको पराकाष्ठा थियो। ती गाइडहरूले मृत्युको मुखमा पुगिसकेका माइकललाई फेला पारे, उनको अक्सिजन व्यवस्थापन गरे र उनलाई डोर्याउँदै, भरोसा दिँदै सुरक्षित रूपमा क्याम्प ४ सम्म ओराले। यो घटना शेर्पा गाइडहरूको अद्वितीय वीरता र एउटा आरोहीको बाँच्ने कडा इच्छाशक्तिको उदाहरणका रूपमा लिन सकिन्छ ।
यसअघि, सगरमाथाको प्रस्थानविन्दु मानिने खुम्बु आइसफलमा हिउँको बाटो बन्द भएर बस्नुपर्दा माइकलले आधार शिविरबाट संसारभरिका बहिरा बालबालिकाहरूलाई एउटा विशेष भिडियो सन्देश पठाएका थिए। उनले लेखेका थिए, ‘यो आरोहण केवल मेरो मात्र होइन, यो हामी सबैको हो।’
सगरमाथाको चुचुरो चुमेर मृत्युलाई समेत जितेर फर्किएपछि माइकलले संसारलाई एउटै प्रेरणादायी सन्देश दिएका छन्, ‘यो मेरा लागि केवल एउटा हिमालको सफल आरोहण मात्र होइन। यो त वर्षौंको सपना, त्याग र आफूले हार नमान्ने हो भने संसारमा जे पनि सम्भव छ भनेर आफैंलाई प्रमाणित गरेको जीवित प्रमाण हो।’
सगरमाथाको चुचुरोमा मौनताका साथ संसारलाई जितेका माइकलको यो साहसिक सफलताको गुञ्जन आज सिंगो विश्वले निकै चासोका साथ सुनिरहेको छ।
प्रतिक्रिया दिनुहोस !