खानेपानीमा रकम हिनामिना

खानेपानीमा रकम हिनामिना

खाँदबारी :खानेपानीको रकम हिनामिना घटनाको छानबिन प्रतिवेदन संखुवासभाको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गुपचुप राखेको छ। कर्मचारीले महसुललगायत रकम हिनामिना गरेको आरोप लागेपछि छानबिन गरिएको थियो। त्यसको प्रतिवेदन वैशाख १५ गते संस्थाले प्राप्त गरेको थियो।

लामो समय लगाएर प्रतिवेदन तयार पारी बुझाइसकेको नगरपालिकाका लेखापाल रुद्रमणि श्रेष्ठले बताए। उनलाई माघ १५ मा छानबिनको जिम्मा दिइएको थियो। ‘खानेपानी महसुल र आयोजना सञ्चालनका क्रममा उपभोक्ताबाट उठाइएको ५ प्रतिशत रकम छानबिन गर्ने अधिकार मलाई दिइएको थियो’, उनले भने, ‘प्रतिवेदन तयार पारी खानेपानी समिति, जिसस र खाँदबारी नगरपालिकालाई बुझाएको छु।’ प्रतिवेदन सार्वजनिक गर्ने अधिकार आफूलाई नरहेको उनले सुनाए।

प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेपछि उपभोक्ताले अनेक आशंका गरेका छन्। उनीहरू तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। उपभोक्ता जीवनाथ खनालले संस्थाको सुरुआतबाटै छानबिन हुन आवश्यक रहेको बताए। ‘हिसाबकिताब चुस्तदुरुस्त बनाउन हालसम्मकै कारोबारको छानबिन हुनुपर्छ’, उनले भने। प्रतिवेदन सार्वजनिक नहुनुले छानबिनमै प्रश्न उठेको उनको भनाइ छ। संस्थाका अध्यक्ष नरेन्द्र राईले तत्कालै सार्वजनिक गर्न नमिल्ने बताए। ‘खाँदबारी नगरपालिकासँग सल्लाह गरेर मात्र प्रतिवेदन सार्वजनिक गर्छौं’, उनले भने।

संस्थाले जडान शुल्क भन्दै उपभोक्ताबाट ५ प्रतिशतका दरले २ करोड १५ लाख रुपैयाँ अग्रिम उठाएको थियो। धेरै अनियमितता देखिएकाले उच्चस्तरीय समिति गठन गरेर थप छानबिन गर्नुपर्ने मेयर मुरारी खतिवडाको भनाइ छ। त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने उनले बताए।

संस्थाले भने तीन कर्मचारीलाई निलम्वन गरेको छ। लेखापाल लक्ष्मण पराजुली र काउन्टर इन्चार्ज सुरेश ढकाल र प्रशासन सहायक जुनिता कार्कीलाई निलम्वन गरिएको अध्यक्ष राईले बताए।

काम बाँकी छँदै सम्पन्न भएको सिफारिस

खाँदबारीमा मागअनुसार उपलब्ध गराउन ४३ किलोमिटर टाढा मकालु–५, मांसिमाको सिमाली खोलाबाट पानी ल्याइएको छ। ३ हजार ४ सय धाराबाट पानी वितरण गर्ने गरी आयोजनाको काम सुरु गरिएको थियो। तर, सिनोटिक र आशिष निर्माण कम्पनीले २ हजार ७ सय ७५ धारा मात्र जडान गरेका छन्। आयोजना सञ्चालनका लागि २ हजार ९ सय ५९ घरबाट ५ प्रतिशत रकम जम्मा गर्न लगाइएको थियो। निर्माण कम्पनीले पूरा धारा जडान नगरेको र पानीसमेत नियमित सञ्चालन गर्न नसकिरहेको अवस्थामा संस्थाले आयोजना सम्पन्न भएको सिफारिस दिएको छ।

रकम जम्मा गरेका उपभोक्ताका घरमा धारा जडान गर्नु निर्माण कम्पनीको जिम्मेवारी हो। २ हजार ७ सय ७५ धारा जडान भए पनि २ हजार वटा मात्र सञ्चालनमा रहेको संस्थाका अध्यक्ष राईले बताए। ‘डिजाइन गलत हुँदा धाराबाट पानी आउन सकिरहेको छैन’, उनले भने, ‘२०७२ को भूकम्पले पनि मुहान सुकेका कारण २४ घण्टा पानी वितरण गर्न सकिएन।’

योजनाभन्दा १ हजार ४ सय कम धारा सञ्चालनमा आउँदा पनि पानी अभाव छ। आयोजना सम्पन्न भएको डेढ वर्ष बित्न लागे पनि महिनामा दुईपटक मुस्किलले पानी आउने गरेको उपभोक्ता कुमारबहादुर मगरले बताए।

आयोजना निर्माण २०७० असोजमा प्रारम्भ भएको थियो। पाँचपटक म्याद थप गरी २०७४ पुस १६ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको संस्थाको दाबी छ। कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिना लगाएको थियो। निर्माण सम्पन्न भएको एक महिनासम्म मर्मत, सम्भारसहित समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी ठेकेदारकै हो। यो समय पनि वैशाखमा सकिएको छ। संस्थाका अध्यक्ष राईले समझदारीमा निर्माण पूरा गर्न लगाउने गरी सम्पन्नको सिफारिस दिइएको दाबी गरे।

आयोजनाबाट खाँदबारीका १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजर क्षेत्र र कुवापनीका उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य थियो। यसका लागि नगर विकास कोषबाट २० करोड २ लाख ऋण लिइएको थियो। संस्थाले ऋण १५ वर्षभित्र तिर्नुपर्नेछ। भेरिएसन अर्डर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम ४६ करोड ५१ लाख रुपैयाँ पुगेको संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.