तरकारी पारीको कि आफ्नै बारीको ?
कौसीखेतीमा आफूलाई रुची लाग्ने र यसले खुसी र आनन्द थप्ने काम पनि गर्ने भएकाले घर बनाउने समयमै कौसीखेती गर्न मिल्ने गरी घरको कौसीमा ढलान गरेर क्यारी निर्माण गरिएको थियो । अहिले मात्र नभएर केही वर्षयता नै भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोग हुने गरेको समाचार आइरहँदा अहिले त्यो विषादीको प्रयोग ९० प्रतिशतले हुने गरेको तथ्य सार्वजनिक भइरहँदा आफ्नो कौसीमा फल्ने २/४ छाक तरकारीको महत्व अरू बढेको छ ।
जगजाहेर छ हाम्रो खेतबारी बाँझो रहेर पनि तरकारी, फलफूल र खाद्यान्नका लागि हामी छिमेकी मुलुकसँगै परनिर्भर छौं । आफ्नो बारीमा मेहनत गरेर उब्जाउन नसक्ने हामीहरूलाई आर्थिक रूपमा सस्तो पर्ने कारणले गर्दा भारतीय तरकारी तथा फलफूल खरिद गर्न बाध्य हुनुपरेको यथार्थ उपभोक्ताबाट सुनिँदै आइएको छ । जनताको स्वास्थ्यलाई ख्यालमा राखी असारको पहिलो साताबाट नेपाल सरकारले भारतबाट आयातित तरकारी तथा फलफूलहरू विषादी परीक्षणपश्चात मात्र नेपालमा बिक्री अनुमति दिने निर्णय गरेको थियो तर तीन साता नबित्दै पारीको दबाब आयो र सरकार आफ्नो निर्णयबाट पछि हट्यो ।
यसको कारण राजनीतिक आस्था र सम्बन्ध हो या अरू कारण त्यसलाई जनतासामु प्रष्ट राखिदिने कर्तव्य सरकार र सरोकारवालाकै हो । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषादी परीक्षण गरेर मात्र उपभोग गर्न पाउने अधिकारलाई रोकेर नेपाल सरकारले भारतको गलत हस्तक्षेपलाई प्रोत्साहन गर्नु लज्जास्पद बाहेक के हुन सक्छ ? एकातिर सरकारको लज्जास्पद निर्णय, जनताको स्वास्थ्यमाथिको खेलबाड र अर्कोतिर हामीसँग भएका हाम्रा खेतबारी बाँझो राखेर पूर्णत भारतसँग निर्भर रहनुपर्ने स्थिति आफैंमा हिनताबोध पनि होइन र ? हामीले गर्न सक्ने विविध उपाय र सम्भावनालाई प्रयोगमा ल्याएर तरकारी र फलफूल कम आयात गर्न सके यस्ता नकारात्मक प्रोत्साहनलाई हतोत्साहित पार्न सकिन्थ्यो कि ? सरकारले गर्ने विविध निर्णयको भर नपरी, पारीको विषादीयुक्त उत्पादनलाई निरुत्साहित गर्न आफ्नै बारीमा उत्पादन गर्न अग्रसर हुने हो कि ?
मानव स्वास्थ्य नै मानवको लागि ठूलो धन हो । दैनिक भान्छामा प्रयोग हुने तरकारी, फलफूल नै विषादीयुक्त प्रयोग गर्नुपर्ने वाध्यता जस्तो दुःखद स्थिति अरू केही हुनै सक्दैन । यता नेपाल सरकारले विषादीयुक्त फलफूल तथा तरकारी परीक्षण गर्न प्राप्त तयारी नपुगेको भन्दै वक्तव्य दिनु र उताबाट अन्तर्राष्ट्रिय मापदण्डकै आधारमा नेपालले भारतबाट आउने तरकारी तथा फलफूलको विषादीको मात्रा परीक्षण गर्न पाउने आधार छैन भन्ने पत्र सार्वजनिक हुनुले नेपाल कसको नियन्त्रणमा छ सजिलै अनुमान गर्न सकिन्छ । भारतले विगतका सन्धि–सम्झौता देखाएर आयातित वस्तुमा विषादी परीक्षण रोक्न दबाब दिँदा नेपालले चाहिँ अन्तर्राष्ट्रिय प्रचलन र मान्यताअनुसार विषादीयुक्त वस्तुको व्यापार गर्न नपाउने ‘डब्लूटीआ े’र ‘एफएओ’ का दस्ताबेज देखाउन नसक्ने अवस्थामा पुगेको हो र ? अथवा नेपालका लागि यो आधार बनेको छैन ? नेपाल सरकारले आफैं नै प्रतिबन्धित गरेका विषादी आफैं परीक्षण गर्ने सामर्थ्य छैन भन्ने कुरालाई प्रष्टयाउनु, प्रविधिको विकास हातहातमा पुगिसक्दा पनि सामान्य प्रतिबन्धित विषादीहरू एउटा राज्यले परीक्षण गर्न धेरै गाह्रो होला भनेर सर्वसाधारणले पत्याउने आधार के त ? वर्षौंदेखि हामीकहाँ नेपालका भन्सार नाकाहरूमा खाद्य, पशुपक्षी तथा अन्य पदार्थ क्वारेन्टाइन गर्ने शाखा स्थापित छन् र काम गर्दै आएका छन् । फलफूल तथा तरकारीमा विषादीका अवशेष जाँच गर्ने काम एउटा थप कामको लागि विज्ञ खटाउनु त्यति असहज परिस्थिति नहुनुपर्ने हो । विज्ञ र प्राविधिक क्षमताको कुरा गर्ने हो भने विषादी परीक्षण व्यक्तिगतरूपमा केही महँगो र जटिल भए पनि राज्यको तर्फबाट जनस्वास्थ्यका लागि आवश्यक मान्नुपर्छ । हामीकहाँ खाद्य प्राविधिकहरूको संख्या पनि कम छैन भन्ने सबैको बुझाइ छ ।
नेपालको खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अरू प्राविधिक र उपकरण उपलब्ध गराएर सशक्त बनाउने आधार पनि त छन् नि ।जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने विषादी परीक्षणमा राज्यको दायित्व, विषादीमुक्त फलफूल तथा तरकारी खान पाउने जनताको अधिकार हुँदाहुँदै पनि अनेक शक्तिको आडमा भइरहेको खेलवाडलाई परास्त गरेर आत्मनिर्भर हुन पारीको विषादी होइन आफ्नै बारीको तरकारी, फलफूल खाने साहस जगाउनु जरुरी छ । त्यसका लागि जग्गा, बारी हुनेले अब बाँझो नराखी खेती गर्ने र जग्गा नहुनेले कौसी खेती, गमला खेती, बोरा खेती जस्ता उपाय अपनाएर आफ्नो सानो परिवारको लागि हप्तामा ३÷४ छाक पुग्ने तरकारी सजिलै उत्पादन गर्न सकिन्छ । अब त जग्गाको चिन्ता पनि छैन माटो बिनाको उत्पादन गरेर मनग्ये आम्दानी समेत लिन सक्ने प्रविधिहरूको विकास भएको छ । कौसी खेतीबाट तरकारी उत्पादन गरेर छाक टार्ने, गुणस्तरहीन तरकारीबाट मुक्ति पाउने मात्र नभई यसले शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा पनि मानिसलाई स्फूर्त र तनावरहित बनाउन त्यत्तिकै महŒवपूर्ण भूमिका रहन्छ । कामकाजी व्यक्ति होउन् या फुर्सदिला, बिहान बेलुका करेसाबारीमा रमाउने, माटोमा खेल्ने, गोडमेल, पानी राख्ने, झार उखेल्ने र हरियाली, प्राकृतिक स्वभाव अनि सिर्जनात्मक काममा रमाउने बानीले अनावश्यक तनावबाट मुक्ति मिल्छ । आफ्नो मेहनत र पौरखको स्वस्थ, अर्गानिक फल खान पाउँदा आत्मसन्तुष्टि मिल्छ । हामी जस्तो खान्छौं हाम्रो स्वास्थ्य र सोचविचार पनि त्यस्तै नै हुन्छ ।
हाम्रो आचरण र जीवनशैली पनि हाम्रै खानपान र व्यवहारमा आधारित हुन्छ । कौसी खेतीले आफ्नो घरको मात्र नभई वरपरको वातावरणलाई स्वच्छ राख्न, हावाको गुणस्तरीयता कायम राख्न समेत मद्दत गर्छ । आफूले कौसी खेती गर्ने भएपछि भान्छामा खेर जाने कुहिने वस्तु मलको रूपमा प्रयोग गर्न सकिन्छ जसले गर्दा फोहोर व्यवस्थापनमा अनुशासन कायम रहन्छ । कौसी खेतीका लागि मलको साथसाथै पानी पनि आवश्यक पर्छ त्यसका लागि वर्षातको पानी संकलन गरेर राख्ने प्रविधि अपनाइन्छ । यसले पनि वातावारण स्वच्छता र हावाको आद्रतालाई बचाई राख्न सहयोग पुग्छ । हरियाली कौसी खेती देख्दा जति आकर्षक लाग्छ त्यतिनै भावनात्मक र मानसिक रूपमा खुसी प्राप्तिको माध्यम बन्न सक्छ । यसले शान्ति, प्रसन्नता, प्रफुल्लतालाई बढाउने मात्र होइन आत्मविश्वास जागृत गराउन समेत मद्दत पु¥याउँछ । सरकारको मुख ताकेर, पारीको विषादी प्रयोग गरेर स्वास्थ्यलाई हानी गर्नुभन्दा थोरै सिर्जनात्मक उपाय लगाएर कम भन्दा कम विषादीको प्रयोग, अरूमा निर्भर हुनुभन्दा आफ्ना आत्मनिर्भरतालाई जागृत गर्नुजत्तिको खुसी र गुणात्मकता अरू केही हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस !